विराटनगर । आर्थिक वर्षको अन्तमा मात्रै कार्यक्रम हुने गरेको आलोचना भएपछि कोशी प्रदेश सरकारले साउनदेखि नै विकासे कार्यक्रमहरूलाई अगाडि बढाउने तयारी गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असारको अन्तिममा नै प्रदेशका प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेर साउनको सुरुवातदेखि नै बजेट कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।
प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ र नियमावली २०७७ बमोजिम मुख्यमन्त्री कार्कीले साउन १ गतेदेखि नै लागू हुनेगरी कार्य सम्झौता गरेका छन् । प्रदेश सरकारका सबै मन्त्रीहरूलाई राखेर मुख्यमन्त्री कार्यालयका प्रमुख केदारनाथ शर्मासँग कार्यसम्पादन सम्झौता गरेपछि शर्माले मुख्यमन्त्रीकै उपस्थितिमा मुख्यमन्त्री कार्यालयका सचिव बद्री कार्की र विष्णुप्रसाद पौडेलसँग सम्झौता गरेका छन् ।
मुख्यमन्त्री कार्कीले साउन १५ भित्र सबै मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्नका लागि निर्देशन दिएका छन् । त्यस्तै सबै सचिवहरूलाई साउन १५ भित्रै कार्य योजना बनाउन र एक करोडभन्दा माथिको योजना कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।
कोशी प्रदेशमा हाल ६० वटा कानुन निर्माण भइसकेको छ भने २४ वटा नियमावली तयार भएको छ । आगामी वर्ष खरिद क्षेत्रमा देखिएको समस्या निराकरण गर्न र अत्यावश्यक कानुनहरू साउनभित्रै प्रदेशसभामा लगेर काम थाल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सबै मन्त्रालयलाई चाहिने कानुनहरू ड्राफ्ट गर्नका लागि पनि तयारी गरिएको छ ।
कर्मचारीहरूको समस्या हल गर्नका लागि लोकसेवा आयोगमा अध्यक्ष नियुक्तिदेखि कर्मचारीहरूसँगको छलफलमा कामसमेत अगाडि बढाइएको छ । मुख्यमन्त्री कार्कीले यस वर्ष विगतको भन्दा द्रुत गतिमा काम गर्ने र बेलैमा काम सक्नेगरी कार्य योजना अगाडि बढाइएको बताएका छन् ।
जेठ १५ उता कुनैपनि गोष्ठी, छलफल, अन्तरक्रियाका कार्यक्रम नगर्ने गरी योजना बनाउन सचिवहरूलाई निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।