ओली सरकारमा कोशीका तीन मन्त्रीः विवादित खड्कादेखि प्रधानमन्त्रीका छिमेकी दाहालसम्म

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नवगठित मन्त्रिपरिषद्मा कोशी प्रदेशबाट तीन जनाले अवसर पाएका छन् । झापाबाट देवेन्द्र दाहाल, संखुवासभाका दिपक खड्का र सोलुखुम्बुका मानबीर राई क्याबिनेट मन्त्री बनेका हुन् ।

दाहाल र राई एमालेका सांसद हुन् भने खड्का काँग्रेसका । जनविद्युत आयोजनाका प्रबद्र्धतसमेत रहेका काँग्रेस नेता खड्का उर्जामन्त्री बन्दा राई रक्षामन्त्री र दाहाल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

इमान्दार छविका देवेन्द्र दाहाल
प्रधानमन्त्री ओलीको गृहनगर झापाको दमकमा उनकै छिमेकी रहेका दाहाल एमालेका पुराना र इमान्दार नेताको रुपमा चिनिन्छन् । लामो राजनीतिक सक्रियतापछि २०७६ सालमा पहिलो पटक लाभको पदमको रुपमा राष्ट्रियसभा सदस्य भएका दाहालले शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी राष्ट्रियसभामा एमाले संसदीय दलका नेतासमेत हुन् ।

उनी प्रधानमन्त्री ओलीका निकट सहयोगी र विश्वासपात्र मानिन्छन् । ओलीको सचिवालयमा पनि काम गरिसकेका उनी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा २०७२ मा जनसम्पर्क सल्लाहकार नियुक्त भएका थिए ।

हाल नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवम् पार्टीको स्थानीय विकास विभागको प्रमुख रहेका दाहाल २०३६ सालदेखि विद्यार्थी कालाबाटै राजनीतिमा जोडिएका थिए । २०४५ सालमा नेकपा मालेको झापा जिल्ला कमिटीमा आवद्ध भएका उनी २०५१ सालसम्म नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बने । २०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहेका उनले २०५३ जेठ २३ गतेदेखि २०६६ साल भदौ २७ गतेसम्म जिल्ला सचिव रहँदै एमाले झापाको नेतृत्व सम्हालेका थिए ।

दाहाल २०५६ सालमा ओलीले २ वटा निर्वाचन क्षेत्रमा विजयी भएपछि छाडेको झापा ६ मा उपनिर्वाचन लडेका थिए । तर, पराजित भए । यस्तै २०६४ सालको संविधानसभा निर्वाचनमा झापा ४ बाट उनी पराजित भए । जिल्लामा उनलाई त्यागी र इमान्दार नेताको रुपमा चिनिन्छ ।

स्नातक तहसम्मको अध्ययनपछि १३ वर्ष शिक्षकको जागिर खाएका उनले जागिरबाट राजीनामा गरेर राजनीतिमा पूर्णकालिन भएका थिए । उनले २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए । उनी २०४२ सालमा शिक्षक आन्दोलन र जनआन्दोलनको क्रममा हिरासत परेका थिए ।

सगरमाथाबाट पहिलो एमाले मन्त्री राई
२०७९ सालको निर्वाचनमा काँग्रेस, एमाले, नेकपा (एकीकृत समावादी)लगायतका दलको गठबन्धनबाट उम्मेद्वार बनेका काँग्रेसका नेता बलबहादुर केसीलाई सोलुखुम्बुबाट पराजित गर्दै प्रतिनिधिसभा सदस्य भएका मानविर राईले सगरमाथा अञ्चलबाट मन्त्री बन्ने पहिलो नेताको रेकर्डसमेत राखेका छन् । पहिलो अवसरमै उनले रक्षाजस्तो शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

२०२८ सालमा सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका २ मा जन्मिएका उनले निवासी एसएलसीसम्म अध्ययन गरेका छन् । उनले संसदीय निर्वाचनको इतिहासमा ३२ वर्षपछि एमालेको उम्मेद्वारको रुपमा सोलुखुम्बुमा काँग्रेसलाई पराजित गर्न सफल भएका थिए ।

हाल उनी एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज छन् । भूमिगत कालमा एमालेको विद्यार्थी संगठनमा सक्रिय भएका उनी २०४८ सालमा एमालेको सोलुखुम्बु उपसचिव बनेका थिए । २०७२ सालमा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष बनेका राई २०७९ सालमा प्रतिनिधिसभामा निर्वाचनमा निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका थिए ।

राई २०५४ सालको जनप्रतिनिधिको रुपमा स्थानीय निर्वाचनमा तत्कालिन जिल्ला विकास समितिको सदस्य भउका थिए ।

विवादित पात्र खड्कालाई उर्जाको जिम्मा
प्रधानमन्त्री ओलीको मन्त्रीमण्डलमा सहभागी संखुवासभाका दिपक खड्का भने विवादित पात्र हुन् । ।संखुवासभाको धर्मदेवी नगरपालिका ८ निवामा २०२८ असार १५ गते जन्मिएका खड्काले स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आफैं उर्जा उत्पादक रहेका उनलाई उर्जामन्त्रीको जिम्मेवारी दिइएको छ । लैनचौरस्थित नेपाल स्काउटको तीन रोपनी जग्गा भाडामा लिएर सत्ता र शक्तिको बलमा १२ रोपनीमा कब्जा जमाएको उनलाई आरोप छ । अदालतले जग्गा फिर्ता गर्न आदेश दिए पनि उनले अस्वीकार गर्दै आएका छन् ।

जग्गाको भाडा वापत ५ करोड रुपैयाँ खड्काले बुझाउन बाँकी रहेको स्काउटले बताउँदै आएको छ । पछिल्लो पटक त्यसबारेमा संसद र सञ्चार माध्यममा पनि बिषय उठिरहेको थियो ।

२०४२ सालमा नेविसंघबाट राजनीति सुरु गरेका खड्काले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । २०६७ सालमा गृहजिल्ला संखुवासभाबाट काँग्रेसको महासमिति सदस्य निर्वाचित भएका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा संखुवासभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी २०७३ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री बनेका थिए ।

२०७४ सालको निर्वाचनमा भने बाम गठबन्धनबाट उम्मेद्वार बनेका एमालेका राजेन्द्र गौतमले खड्कालाई पराजित गरेका थिए । खड्का पुनः प्रतिनिधिसभाको २०७९ सालको निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित बनेका हुन् । खड्काले गौतमलाई पराजित गरेका थिए ।

कांग्रेसको १४औँ अधिवेशनमा उनी संखुवासभाको जिल्ला सभापतिमा निर्वाचित भएका छन् । उनी काँग्रेसमा नेता डा.शशांक कोइराला निकट मानिन्छन् ।

सोमबार, ३२ असार, २०८१, दिउँसोको ०२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर