विराटनगर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले आज शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।
प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।
प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले २ उपप्रधामन्त्रीसहित २२ सदस्यीय मन्त्रीपरिषद बनाएका हुन् । उनीहरुले पनि आजै सपथ लिएका छन् ।
नेपाली काँग्रेसका प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्री भएका छन् भने नेकपा एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री भएका छन् । यस्तै एमालेका पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रबिधि, देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात, विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राई रक्षा र राजुकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् ।
यस्तै काँग्रेसका रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, तेजुलाल चौधरी युवा तथा खेलकुद, प्रदीप पौडेल स्वास्थ्य, अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला, बद्री प्रसाद पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, दीपक खड्का, जलस्रोत तथा ऊर्जा र ऐनबहादुर शाही ठकुरी वन तथा वातावरणमन्त्री भएका छन् । यस्तै लोसपाका शरतसिंह भण्डारी, श्रम तथा रोजगार मन्त्री तथा जसपाका नवलकिशोर साह सुडी, महिला तथा बालबालिका र प्रदीप यादव खानेपानी मन्त्री भएका छन् ।