गणेश लम्सााल
विराटनगरका पारुल क्षेत्री सक्रिय आशावादी व्यक्ति हुन् । राजनीतिसँगै उनी समाजिक र परोपकारी कार्यमा पनि उत्तिकै क्रियाशील छन् । उनी सधैँ भ्रष्टचार र अन्यायको विरोध गरिरहन्छन् । यतिमात्र हैन उनले धेरै पहिलेदेखि अरुले अलपत्र पारेका रुखविरुवा आप्mनै खर्चमा सुरक्षित क्षेत्रमा रोपेर हुर्काउँदै वातावरण संरक्षणमा जुटेका छन् ।
उनले अचेल आफ्नै खर्चमा विराटनगरमा ६ हजार विरुवा रोप्ने र एक हजाार विरुवा यसै वर्ष हुर्काउने प्रण गरेका छन् । विराटनगरलाई हरियालीमैत्री बनाउने उनको यस अभियानमालाई नागरिकको पनि साथ रहेको देखिन्छ । पारुल र उनका सहयोगी अभियान्ताहरु विराटनगरको वरगाछी र मुनालपथ क्षेत्रमा विरुवा रोप्ने र सुरक्षाका लागि घेराबारा गर्ने काममा व्यस्त देखिन्छन् । उनीहरुले आफैंले घेराबारा गरेर विरुवा सुरक्षित गरिरहेका छन् । विरुवा कतै जोहो भए जोहो गर्ने नत्र किनेरै भए पनि रोप्ने काम उनीहरुले गर्दै आएका छन् । अभियानलाई साथ दिन अभियानकर्मीहरुले आफू र आफन्तको जन्मदिनमा पनि विरुवा रोप्ने चलन चलाइरहेका छन् ।
विराटनगर सहरलाई शितल हरियालीयुक्त बनाउन क्रमश उत्तरको विराटनगर गेटदेखि दक्षिण जाोगवनीको सिमाना रानीसम्मको ८ किलोमिटर क्षेत्रमा ६ हजार विरुवा रोपेर हुर्काउने लक्ष्य हरियाली अभियानले लिएको छ ।
विराटनगरमा लाखौ खर्चेर हरेक वर्ष सरकारी निकायले वृक्षारोपण गर्ने गरेपनि विराटनगर झनै उजाडिंदो छ । गत वर्ष प्रदेश सरकार र महानगरपालिकाले लाखौं खर्चेर राजमार्गबीचको डिभाइडरमा रोपेको विरुवा हुर्केन । त्यहाँ गरिएको लगानी बालुवाकै पानी सरह भयो । आन्तरिक मामिला मन्त्रालय र महानगरले तामझामका साथ सुरु गरेको त्यस कार्यलाई सफल बनाउन दुवै निकाय प्रतिवद्ध देखिएन । जसले गर्दा रोपिएका बिरुवाहरु संरक्षण नपाइ सुकेर गए । विराटनगरमा विभिन्न संघसंस्थाहरुले मन्त्री र नेता अगाडि ल्याएर देखासिखीमा वृक्षारोपण गर्दै आएको छ । तर रोपेको बिरुवा हुर्काउन ध्यान नदिँदा लगानी खेर गइरहेको देखिन्छ ।
नयाँ बिरुवा हुर्काउने कुरै छोडौं हुर्केका परिपक्व बिरुवा काटेर सडक विस्तार गर्ने, त्यसको साटोमा बिरुवा नलगाउने प्रवृत्ति सामान्य बनेको छ । सडक तथा बस्तीलाई असर नगरेका रुखहरुसमेत काटेर कंक्रिट संरचना बनाउने आदि बेथिति बढ्दो छ । सहरको भित्री क्षेत्रमा भएका बरपिपल अरु ठूलासाना रुखहरु काटेर चोकको कृत्रिम सौन्दर्यकरण गर्ने उल्टो प्रवृत्ति मौलाइरहेको छ । भर्खरै मात्र यस्तै घटना भएको छ । विराटनगर २ स्थित शंकरपुर चोक (सोमबारे हाट स्थित जनता स्कुल) मा रहेका दुईवटा बरपिपलको रुख बिनाकारण काटियो । त्यस ठाउँमा कृत्रिम पार्क बनाउने नाममा फलामको नक्कली आइफेल टावर ठड्याइयो । त्यहाँ प्राकृतिक शितलता प्रदान गर्ने रुख बाँकी रहेनन् । वरपिपलको रुख मासेर नक्कली टावरले सहरको सुन्दरता बढ्छ भन्ने भ्रमपूर्ण सोच हाम्रा जनप्रतिनिधि र स्थानीयमा देखिन्छ । यसरी भएका रुखहरु मासेर कृृत्रिम पार्कहरु बनाउने काम अन्यत्र पनि भएका छन् । सडक किनारमा रोपेर हुर्काइएका रुखहरु पनि स्थानियले विकास लागि भन्दै काटेर नष्ट गरे । अझै गरिरहेका छन् । यसरी रुख काटेर नष्ट गर्ने, वातावरण विगार्ने काम गर्दा पनि महानगर र वन कार्यालयहरु टुलुटुलु हेरेर बस्ने गरेका छन् ।
यसरी रुख काटिदाँ राजमार्ग र बजार क्षेत्रमा मासिनहरुले कतै उभिएर सितल छहारी पाइरहेका छैनन् । उसै गर्मी ठाउँ । रुखको छहारीको महत्व गर्मीमा कति धेरै हुन्छ हामी सबैले अनुभूति गरेकै छौं । चर्को घाममा असिनपसिन भएर हिड्दै गरेका बालबालिका र जेष्ठ नागरिहरु तालु सेकाउँदै उजाड सडकमा ह्नि बाध्य पारिएका छन् । रिक्सा ठेला चलाएर जीवन गुजार्नेहरुलाई विराटनगर सहरमा सुस्ताउने ठाँउ कतै बाँकी छैन । रुखको छहारी नहुँदा स्थानीयहरुले सितल फलंैचामा बसेर हार्दिकता साटासाट गर्न पनि छाडेका छन् । जसले गर्दा विराटनगरमा सांस्कृतिक सद्भाव पनि हराउँदै गएको छ । यसले आपसी एकतालाई कमजोर बनाउँदै लगेको छ । अर्कोतिर हरियाली नहुँदा विराटनगर दिनप्रतिदिन उराठ सौन्दर्यहीन बनिरहेको छ ।
भारतको सिक्कम लगायतका राज्यमा राजमार्ग निर्माण गर्दा रुख हत्तपत्त नष्ट गरिदैन बरु कसरी संरक्षण गर्न सकिन्छ भनेर योजना नै परिवर्तन गरिन्छ । विदेशका अरु धेरै देशहरुमा पनि सडक भवन निर्माण गर्नुपर्दा रुखलाई सकुसल उखेलेर अर्को ठाउँमा रोपिन्छ । तर हामीकहाँ भने भौतिक विकास नै सबैभन्दा आवश्यक र महत्वपूर्ण हो भन्दै भएका रुख विरुवा नष्ट गर्ने प्रवृत्ति मौलाउँदै गइरहेको छ । भएका रुखविरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न कुनै योजना बनाइदैन । बरु लाखौ बजेट खर्चेर देखासिखी गर्ने, तामझाम गरेर बिरुवा रोप्ने तर संरक्षण नगर्ने प्रवृत्ति बढिरहेको छ ।
यसैले पनि विराटनगरबासीहरु स्वतस्फुर्त रुपमा पारुलको नेतृत्वमा चलेको अभियानमा सहभागी भइरहेका छन् । जसले रोपेको विरुवा हुर्काउने मात्र होइन आफ्नै खर्चमा विरुवा र आवश्यक वस्तु जुटाइरहेका छन् । यस अभियानलाई मेरो तर्फबाट सलाम । अनि पारुलको अभियानलाई सहयोग गर्ने सवै हरियालीप्रेमी अभियन्ताहरुलाई हौसलाका लागि धन्यवाद । यस अभियानमा सहभागी अभियान्ताहरुलाई पनि मेरो अनुरोध के छ भने अब विराटनगर ऐतिहासिक औधोगिक आर्थिक नगर मात्र रहेन । यो प्रदेशको राजधानी पनि भइसक्यो । उजाड विराटनगरले प्रदेश राजधानीको गरिमालाई बढाउन सक्दैन । त्यसैले विराटगर सहर हरियालीयुक्त हुन अनिवार्य छ । त्यसो भएमा मात्र विराटनगरको गरिमा र सौन्दर्य बढ्छ । यहाँ आउने पर्यटकहरुका अगाडि हाम्रो इज्जत बढ्न सक्छ । हरियाली भएमा सहरवासीको स्वास्थ्य पनि राम्रो बनाउन सकिन्छ, त्यसैले तपाईँहरुले यस अभियानलाई निरन्तरता दिनुपर्छ । बिचमा छोड्ने होइन अझ वृहत र विस्तृत बनाउँदै लैजानु पर्छ ।