विराटनगर । संघीय सरकारमा नयाँ गठबन्धन बनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोबीच छलफल भएको छ ।
नयाँ राजनीतिक परिस्थितिको बारेमा दुई नेताबीच छलफल भएको मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए । केन्द्रीय सत्ता गठबन्धन फेरिएपछिको पस्थितिको बारेमा छलफल गर्दै दुबै नेताले तत्काल सहकार्य जारी राख्ने सहमति गरेको उनको भनाइ छ ।
नयाँ गठबन्धन भएपनि संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकारमा नेपाली कांग्रेसलाई कसरी सहभागी गराउने भन्नेमा मुख्यमन्त्री कार्की अन्यौलमा छन् । उनी सोही धाराबाट मुख्यमन्त्री भएका केदार कार्कीलाई विस्थापित गर्दै गत वैशाख २७ गते एमाले र माओवादीका संसदहरुको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
सरकारमा माओवादीका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती, स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की र पर्यटन बन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर तथा बन्दना झाँगर सोही मन्त्रालयको राज्यमन्त्री छन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै प्रदेशमा कांगेसलाई सरकारमा सहभागी गराउनु पर्ने दबाबमा रहेका मुख्यमन्त्री कार्कीले नेता आङ्बोसँग तत्काल सहकार्य जारी राख्ने सहमति गरेका छन् ।
मुख्यमन्त्री कार्कीको नियुक्ति विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको र अहिले सहकार्यमा कुनै असहजता नभएकोले फरक निर्णय नलिन मुख्यमन्त्री कार्कीले आङ्बोलाई भनेका छन् । आङ्बोले सरकार गठन हुँदाबखतको समझारी सम्झाउँदै कार्कीले कुनै असहजता भए सरकारबाट बाहिरिन तयार रहेको जानकारी दिएको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री कार्कीले आफू माओवादीलाई बाहिर पठाउने भन्दा पनि सर्वदलीय सरकारको पक्षमा रहेको बताएका छन् । नयाँ सत्ता गठबन्धनका शीर्ष नेताहरूका बीचमा कोशी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने सहमति छ । त्यसैले पनि उनले माओवादीका मन्त्रीहरुलाई हटाइहाल्ने पक्षमा नरहेको बुझिएको छ ।
मुख्यमन्त्री कार्कीले यसअघि ‘संघमा पानी पर्दा प्रदेशमा छाता ओढ्ने काम गर्न नहुने’ अभिव्यक्ति दिँदै आएका थिए । संघमा गठबन्धन परिवर्तन भएपछि गत वर्ष कार्की नेतृत्वको सरकारबाट माओवादी बाहिरिएपछि अल्पमतमा परेका उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संघीयताको अभ्यासविपरित केन्द्रबाट निर्देशित हुन नहुने पक्षमा आफू रहेको बताएका थिए । यस्तै केदार कार्कीलाई विस्थापन गरेर आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने समयमा पनि मुख्यमन्त्री कार्कीले दुई दलबीचको सहकार्यलाई संघीय गठबन्धनले असर नपार्नेगरि काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसअघि केदार कार्की नेतृत्वको सरकारबाट माओवादीले समर्थन फिर्ता लिनुअघि बसेको बैठकमा माओवादी कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेलले संघीयताको कार्यान्वन गर्न प्रदेशले स्वायत्त ढंगले चल्न सक्नुपर्ने भन्दै त्यसमा कार्कीको राय मागेका थिए । ‘संघमा ओली र प्रचण्डले गठनबन्धन भत्काए पनि कोशीमा कायम राखेर संघीयताको प्रभाबकारी कार्यान्वयन गर्न तपाई तयार हुनुपर्छ’ गजुरेलले गरेको यस्तो प्रस्तावमा कार्कीले सहमति जनाएका थिए । उनले आफू पहिलेदेखि नै संघको गठबन्धनको असर प्रदेशमा पर्न नहुने पक्षमा रहेको बताएका थिए । त्यति मात्र नभएर उनले माथि जे भएपनि प्रदेशमा दुई बाम दल इमान्दारसाथ सहकार्य गरेर जाने प्रतिबद्धता जनाएका थिए । त्यहि भएर अहिले उनी नैतिक दबाबमा छन् ।
संघीय गठबन्धन परिवर्तन भएपछि सबैभन्दा पहिले मधेश प्रदेका मुख्यमन्त्रीले माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरुलाई पदमुक्त गरेका थिए । यस्तै माओवादीको मुख्यमन्त्री रहेका बाग्मती र लुम्बिनी तथा एकीकृत समाजवादीको मुख्यमन्त्री रहेका सुदुरपश्चिम प्रदेशबाट एमालेका मन्त्रीहरुले राजीनामा दिइसकेका छन् ।