अनन्तराज न्यौपाने
नेपाली राजनीतिमा कुनै किन्तु–परन्तु भएन भने नयाँ आर्थिक वर्षको आरम्भसँगै नयाँ सरकारको निर्माण हुने कुरामा शंका छैन । र, अनपेक्षित अनि आकस्मिक रूपमा यो सरकार चाहिँ कांग्रेस र एमालेको हुने छ । दुबै दलमा मन्त्री बन्न नेताहरूको दौडधुप सुरु भइसकेको छ । सम्भवतः साउनको पहिलो हप्तामा मन्त्रीपरिषद्ले पूर्णता पाइसक्नेछ र नयाँ सरकारले काम सुरु गर्नेछ ।
दुई हप्ताअघि कांग्रेस–एमालेको गठबन्धन बन्दैछ भनेर सुन्नेबित्तिकै धेरैलाई आश्चर्य लाग्नु स्वाभाविक थियो । किनकि केही वर्षयता माओवादी बिनाको गठबन्धन कल्पनाभन्दा बाहिरको कुरा भइरहेको छ । विगत १० वर्षयता अर्थात् संविधान जारी भएपछि नै ‘पल्टुराम’को उपाधि पाइसकेका पुष्पकमल दाहाल प्रचण्डले कहिले एमाले र कहिले कांग्रेसको काँध फेर्दै निरन्तर सत्तारोहण गरिरहेका छन् ।
पछिल्लो समय भने प्रचण्डको ‘पल्टुराम’ नीतिले राजनीति गर्ने मात्र नभई सर्वसाधारण र राजनीतिमा चासो नराख्नेलाई समेत वाक्कब्याक्क पारिसकेको थियो । नेपालका जनतामा नेताप्रति ठुलो इरिटेसन छ । प्रचण्ड मात्र नभई देउवा, ओली, झलनाथ, माकुने लगायत सबै ठुला नेता इरिटेसनका पात्र भएका छन् । हुँदाहुँदा रास्वपा अध्यक्ष एवम् वर्तमान गृहमन्त्री रवि लामिछानेलाई पनि जनताले यही ड्याङमा राखिसकेका छन् । नयाँ दलका लामिछानेसित जनताको अपेक्षा अब धूलिसात् भएको छ ।
केही समय यताको प्रचण्डको पल्टुराम शैली र उनको दलका दुई अर्थमन्त्री जनार्दन एवम् वर्षमानले बजेट बनाउँदा गरेको नीतिगत भ्रष्टाचारले जनताको मनोविज्ञानमा प्रचण्डप्रति ठुलो आक्रोश, वितृष्णा र मोहभङ्गता उत्पन्न गरिसकेको छ । वितृष्णा कति माथिसम्म पुगिसकेको थियो भने केही महिनायता जनता अब जसरी होस् प्रचण्ड बिनाको सरकार बनोस् भन्ने चाहिरहेका थिए । खासमा यो चाहना जनताको प्रचण्डप्रतिको क्षणिक आक्रोश मात्र हो । किनकि सरकार सञ्चालन, सुशासन, भ्रष्टाचार र अनियमिततामा प्रचण्डभन्दा ओली बदनाम पात्र हुन् । प्रचण्डलाई यी सबै विकृति र कुकर्म देउवा र ओलीले नै सिकाएका हुन् भन्दा गल्ती हुनेछैन । देउवा र ओलीले रोपेका बिरुवालाई प्रचण्डले मलजल गरेका मात्रै हुन् ।
नेपाली जनताको स्वभाव नै यस्तो छ, छिटै बिर्सिहाल्छन् । यसअघि ओलीले गरेका करतुत पनि धेरैका मनमस्तिष्कबाट ओझेल भइसकेका छन् । गिरिबन्धु, सुनकाण्ड, बाइडबडी, यति र ओम्नी लगायतका ओलीका करतुत नेपाली इतिहासकारका लागि अविस्मरणीय र रोमाञ्चक विषय हुनेछन् अनि यी विषयका कारण ओली इतिहासका एक कलङ्कित नेता हुनेछन् । भनिन्छ, मानवरक्तको स्वाद पाइसकेको बाघ अरु जीवजन्तुको भक्षण गर्न खासै रुचाउँदैन । ओलीको आजको विलासी, पुँजीवादी र सम्भ्रान्त जीवनशैली हिजो गरेको अकुत भ्रष्टाचारको धन हो । ओली आज पनि त्यही दुई नम्बरी सम्पत्तिमा रमाइरहेका छन् । यसका कारण आज उनलाई सदाचार, सुशासन र नैतिक धर्मबाट आर्जित धन खल्लो, लाटो, अलिनो र बेस्वादको लाग्छ । त्यसैले भोलिको ओलीको सत्तायात्रा कति विकृत, पाखण्डपूर्ण र अनैतिक हुनेछ भन्ने कुराको आँकलन आजै र सजिलै गर्न सकिन्छ ।
तर पनि आजका दिनमा देउवा र ओलीको गठबन्धन बन्नु आवश्यक भइसकेको थियो । र, यी दुईमध्ये एक प्रधानमन्त्री बन्नु पनि जरुरी भएको थियो । किनकि नेपाली राजनीति, शासन र समाजमा प्रचण्डको शैली अति भइसकेको छ । उनी गन्हाइसकेका छन् र अब प्रचण्डको जिउ र उनको समूहको कुहिगन्धलाई खुर्केर फ्याँक्नुपर्ने भइसकेको छ । सबैभन्दा मुख्य कुरा त उनको पल्टुराम नीतिको एहसास उनलाई नै गराउनु छ । देशका लागि प्रचण्ड र देउवा हुन् वा ओली र माकुने, यिनीहरू सुध्रनु अनिवार्य छ । र, यो पनि निश्चित हो– सत्तामा बसेर कोही सुध्रन सक्तैन । यसका लागि प्रतिपक्षमै आउनुपर्छ । त्यसैले प्रचण्डका लागि प्रतिपक्षी दलका नेताको कार्यकक्ष वा संसद्को बेन्च सत्ताका लागि खेल गर्ने अखडा नभई सुधारगृह भइदियो भने त्यो नेपाली राजनीतिकै लागि सुखद हुनेछ ।