विराटनगर । २१ औं धान दिवसका अवसरमा नेकपा एमाले विराटनगर महानगर कमिटीले आज सीमावर्ती क्षेत्रमा पुगेर धान रोपाईं गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल साहसहित महानगर कमिटी अध्यक्ष, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलगायतका नेताहरुको उपस्थितीमा रोपाईं गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नेकपा एमालेका केन्द्रीय सदस्य साहले नेपालको प्रमुख अन्नबालीका रुपमा रहेको धानखेतीलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले कृषकहरुलाई खेतीयोग्य जमिन बाँझो नराख्न आग्रह गर्दै कृषकका समस्या समाधानका लागि नेकपा एमाले लागिपर्ने बताए ।
यस्तै नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले महानगरभित्र कृषी उपजको लागि दक्षिणी क्षेत्र उर्वर रहेको भन्दै त्यसैले कृषकलाई हौसला प्रदान गर्न दिवसका लागि विराटनगर १८ लाई रोजिएको बताए । विराटनगरका सबै क्षेत्रमा राज्यको पहुँच पु¥याउन नेकपा एमाले तल्लिन रहने भन्दै कृषिको विकासका निम्ति पनि उसैगरि अगुवाई लिने उनको भनाइ छ ।
सयौंको संख्यामा भेला भएका एमालेका कार्यकर्ता तथा स्थानीयले हिलो छ्यापाछ्याप गर्दै धान दिवसमा रोपाईं गरेका हुन् । रोपाई पछि दहि चिउरा खाएर कार्यक्रम सम्पन्न भएको थियो ।