कलमी गरे पनि भएन…

 डा.बालकृष्ण साह

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका हुन् । ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । अर्थात परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये नियमित तर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी मात्र उत्तीर्ण भएको छ ।

एउटा विद्यार्थीको सफल हुन सबै भन्दा पहिले विद्यार्थीको मेहनत नै जरुरी होला । तर उनको एकल प्रयासले मात्रै सफलता पाईन्छ भन्ने पक्कै छैन । सफलताका लागि दक्ष शिक्षक र उनको शिक्षण कला, विद्यालयको शैक्षिक वातावरण, पाठ्यसामग्री र उनको अभिभावक तथा घरको माहोलले पनि प्रभाव पारेको हुन्छ भन्नेमा दुईमत नहोला । र यिनै पक्षहरुले विद्यार्थीहरुलाई पढ्न, मेहनत गर्न प्रेरित पनि गर्ने हुन्छ ।

दक्ष शिक्षक र शिक्षण कला विद्यार्थीको सफलताको महत्वपुर्ण पक्ष हो । सायद त्यसैले गुरु बिना शिक्षा सफल हुदैन भनिएको हो । नेपालमा लोकसेवा पास गर्ने सक्षम शिक्षकहरु सामुदायिक विद्यालयमा पढाउछन् । जो लोकसेवा पास गर्न सक्दैनन्, उनीहरु निजी विद्यालय तिर संघर्ष गर्छन् । सरकारले वेला वेलामा सीप र दक्षता अभिवृद्धि गर्न तालिमको व्यवस्था पनि गर्छन् । यसता तालिमहरु पनि सामुदायिक विद्यालयका शिक्षकहरुले पाउने हुन्छन् । निजि विद्यालयका शिक्षकहरुले यस्ता तालिमहरु विरलै पाउछन् । यति मात्र होईन, प्रश्नपत्र तयार गर्ने, उत्तरपुस्तिका परिक्षण गर्ने यी सबैमा सामुदायिक विद्यालयका शिक्षकहरुकै वोलवाला हुन्छन् । निजी विद्यालयका कमै शिक्षकहरुले अवसर पाउछन् । त्यसैले सामुदायिक विद्यालयका विद्यार्थीहरु उच्च अकंका साथ सफल हुनुपर्ने हो ।

तर परिणाम यो बर्ष पनि उल्टो छ । एसईई दिने कूल ४ लाख ५९ हजार २ सय ७५ परीक्षार्थीमध्ये ३ लाख २५ हजार ३ सय ३० अर्थात् ७०.८४ प्रतिशत सरकारी एवं सामुदायिक विद्यालयका छन् । जसमा निजी एवं संस्थागत विद्यालयको तर्फबाट २९.१६ प्रतिशत अर्थात् १ लाख ३३ हजार ९ सय ४५ परीक्षार्थीले एसईई दिएका छन् । यी मध्ये कुल १७ हजार ५ सय ८० जनाले ए प्लस ग्रेड अंक ल्याए । उक्त परीक्षार्थी मध्ये सामुदायिक विद्यालयका २ हजार ७ सय ९२ जना परीक्षार्थीले मात्रै ए प्लस अंक ल्याए । जुन १५.८८ प्रतिशत मात्रै हो तर संस्थागत एवं निजी विद्यालयका ८४.१२ प्रतिशत परीक्षार्थीले ए प्लस अंक ल्याए ।

कुरा गरौ, विद्यालय तथा शिक्षकहरुको मनोवल र सहयोगको । सामुदायिक विद्यालय एंव सरकारी विद्यालय जसलाई स्थानीय निकाय, शिक्षा कार्यालय, शिक्षा मन्त्रालय सबैले सदभावका साथ प्रत्यक्षरुपमा सहयोग गर्छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले पनि शिक्षा क्षेत्रमा केही दान, अनुदान, क्षमता अभिवृद्धि वा अन्य सहयोग गर्नु परे सामुदायिक विद्यालयलाई नै रोज्ने हुन्छ । निजी विद्यालयलाई सहयोग गर्ने भन्दा पनि अंकुश लगाउने, मनोवल गिराउने र निरुत्साहित गर्ने हुन्छन् । त्यसलै सामुदायिक विद्यालयको पुर्वाधारमा वढि वजेट, तलबमा बढि वजेट, शैक्षिक सामग्रीमा अनुदान र बजेट । निजी विद्यालयमा सबै पक्षमा कन्जुस्याइँ र कम वजेट । त्यति मात्र होईन, निजिका शिक्षकशरुलाई सञ्चालकहरुको दवाव, अभिभावकहरुको दवाव र अहिले त कतै कतै स्थानिय निकायको दवाव खेप्नु पर्छ । कम सेवा सुविधा र बढि तनाव झेलेका शिक्षकहरुले आन्दोलन पनि गर्न पाउदैनन् । हामी विचार गर्न सक्छौ, कस्तो विद्यालयका शिक्षकहरुले उच्च मनोवलका साथ काम गर्ने बातावरण पाएका छन् । फेरि पनि ए प्लस नभए ए, बी ल्याउने त सामुदायिक विद्यालयको हुनु पथ्र्यो । तर ए ग्रेड ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी पनि निजी विद्यालयको तुलनामा न्यून रहेका छन् । कूल ५१ हजार १ सय ३७ ए ग्रेड ल्याउने परीक्षार्थीमध्ये सामुदायिक विद्यालयका २१.९४ प्रतिशत छन् भने निजी विद्यालयका ७८.०६ प्रतिशत छन् । बी प्लस ग्रेड ल्याउने परीक्षार्थीतर्फ पनि सामुदायिक विद्यालयलाई निजी विद्यालयले उछिनेको छ । कूल ६३ हजार सात सय ४१ परीक्षार्थी बी प्लस ग्रेडमा उत्तीर्ण भएका थिए । जसमा सामुदायिक विद्यालयका ४१.३६ प्रतिशत र निजी विद्यालयका ५८.६४ प्रतिशत परीक्षार्थीले बी प्लस ग्रेड अंक ल्याएका छन् ।

यस्तो यसबर्ष मात्र भएको चाहि होईन । त्यसैले कतैबाट अनुुदान नपाउने, विद्यार्थीहरुको शुल्कबाट सञ्चालन गरिने, सरकारी वा कुनै दातृसंस्थाको आर्थिक वा प्राविधिक सहयोग विना निजी खर्च, मेहनत र व्यवस्थापनबाट राम्रो शैक्षिक वातावरण कायम गर्न सफल निजि विद्यालयमा विद्यार्थीहरु पुग्न बाध्य हुन्छन् । यस्ता निजि विद्यालयको रिजल्ट राम्रो आउछन् । आफ्नो मेहनत र कुशल व्यवस्थापन का कारण राम्रो ज्ञान र उच्चतम अंक जोड्न सफल रहेका विद्यार्थीहरुले छात्रवृतिका परिक्षाहरुमा पनि सफल गर्नु स्वाभाविक हो । सामुदायिक विद्यालयका विद्यार्थीहरुले छात्रवृतिमा थप अध्ययन गर्न पाउने अवसरहरुबाट बञ्चित भए । त्यस पछि नयाँ नियम बन्यो । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई मात्रै छात्रवृति पाउने नियम लागु गरियो । अभिभावकहरुले आफ्नो छाक काटेर भए पनि राम्रो विद्यालयमा माध्यमिक शिक्षा दिन सफल त भए । तर त्यहि राम्रो अर्थात निजि विद्यालयमा अध्ययन गरेका कारणले भविष्यमा कुनै किसिमको छात्रवृति नपाउने भए ।

त्यसपछि नयाँ संस्कारको विकास भयो । पहिले निजी विद्यालय पढाउने र कक्षा ८ पुगे पछि सामुदायिक विद्यालय तिर भर्ना गर्ने । यसो गर्दा विद्यार्थीहरुको आधारभुत ज्ञान राम्रो हुने, पढ्ने वानीको विकास भईसक्ने, एसईईमा राम्रो अकं पनि आउने र पछि छात्रवृति पनि पाउने भए । कलमी बिरुवा ल्याए जस्तो । त्यसैले पछिल्लो समयमा मेहनती विद्यार्थीहरु जो डाक्टर÷ईन्जिनियर वन्न चाहन्थे, त्यस्ता विद्यार्थीहरु निजी विद्यालयबाट सामुदायिक तिर सर्ने संस्कार नै बसेको छ । तर यसो गरेर पनि निजी विद्यालयहरुको परिणाम (रिजल्ट) राम्रो छ । अनि सामुदायिक तर्फ त्यस्ता आयतित विद्यार्थी भएका केहि विद्यालयमा राम्रो परिणाम आएको देखिन्छ । निजीबाट सामुदायिकमा गएका धेरै विद्यार्थीहरुको अङ्क खस्किएको देखिन्छ ।

उत्कृष्ट शिक्षकहरु राम्रो पुर्वाधार भएको अनि अध्ययन अध्यापनलाई विभिन्न ईकाईहरुले अनुगमन गरेको सामुदायिक विद्यालयहरुको रिजल्ट किन कमजोर ? समस्या कहाँ छ ? निजि विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति रोकेर भएन । सामुदायिक विद्यालयलाई अझ व्यवस्थित गर्ने कि फेरि अर्को अंकुश निजीलाई लगाउने सरकार ?

शनिबार, १६ असार, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर