पूर्व तयारी खोइ ?

  पुण्य पि अधिकारी

विगतका वर्षहरूको तुलनामा यो वर्ष मनुसन केही अघिबाट सुरूआत भएको छ । गएका वर्षहरूमा प्राय जुन १३ बाट सक्रिय हुने मनसुन यो वर्ष जुन १० अर्थात् जेठ २८ गतेदेखि सुरू भएको छ । मनसुन सुरूआत भएसँग कोशी प्रदेशमा वर्षाका कारण मानवीय क्षतिसहित धनमालको क्षति भइसकेको छ । वितेको २४ घण्टामा सबैभन्दा बढी विराटनगर क्षेत्रमा वर्षा भएका कारण विराटनगर जलमग्न भइसकेको छ । पानीको उचित निकास नभएका कारण डुवान हुँदा जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बितेको २४ घण्टामा विराटनगर आसपासको क्षेत्रमा ३६१ मिमिमिटर वर्षा भएको छ । जसका कारण विराटनगर जलमग्न हुन पुग्यो । आम रूपमा महानगरवासीको जीवन प्रभावित भयो । अत्यधिक वर्षाका कारण सयौँ घरहरू डुवानमा परे । सर्वसाधारणले सास्ती र हैरानी पाएका छन् ।

प्राकृतिक विपद्का घटना वर्षेनी हुन्छ, तर, यसबाट तीन तहका सरकारले कहिल्यै उचित र प्रभावकारी पाठ नसिक्दा हरेक वर्ष आमसर्वसाधारणले मानवीयसहित भौतिक क्षति व्यर्होनु परेको छ । विपद् पूर्वको तयारीका काम तीनै तहका सरकारहरूको प्राथमिकतामा नपर्दा प्राकृतिक विपद्का समयमा वर्षेनी ठूलो धनमालकोे क्षति हुने गरेको छ ।

अत्यधिक मात्रामा वर्षा भएको कारण विराटनगर क्षेत्रमा कोशी राजमार्गसहित सहायक मार्गहरूमा आवतजावतमा समस्या भयो । यातायातका सवारी साधन सञ्चालन गर्न सहज नहुँदा विराटनगरमा धेरै विद्यालयले बिदा दिनुपर्यो । पानीको उचित निकासको व्यवस्था नहुँदा विराटनगर विमानस्थल बन्द भयो । जसका कारण सयौँ यात्रु अलपत्र बन्नुपर्यो ।

प्राकृतिक विपद्का घटनाबाट बच्न र सार्वजनिक धनमाल जोगाउन भनेर वर्षेनी सरकारी र निजी क्षेत्रबाट विपद् पूर्वको तयारीका नाममा करोडौँ रुपियाँ खर्च गरिने गरिएको छ । राज्यको ढुकुटी होस् वा दाताहरूको दानदातव्य नै किन नहोस्, विपद् पूर्वको अनुसन्धान, तयारीका नाममा करोडौँ रकम खर्च गरिन्छ । तर, छलफल वा विचार, परामर्शबाट आएका निचोडलाई कार्यान्वयनमा ध्यान नदिँदा प्राकृतिक विपद्का घटनाबाट वर्षेनी पिरोलिनु परेको छ । अन्त्यमा समयमा नै प्राकृतिक विपद् व्यवस्थापनको तयारीका लागि सर्वसाधारणले तीनै तहका सरकारलाई सदैव झक्झकाउन आवश्यक छ । तसर्थ, प्राकृतिक विपद्का बेला पछुताउनु भन्दा आम सर्वसाधारणले बेलैमा तीन तहका सरकारलाई प्राकृतिक विपद् पूर्वको तयारी खोइ ? भनि हरेक क्षण प्रश्न गर्न अबेर भइसकेको छ ।

बिहिबार, १४ असार, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर