‘राहत होइन,निकास चाहियो’

विराटनगर । विराटनगर १२ बखरीका मुगालाल यादव ७१ वर्षका भए । गए राति देखि अविरल वर्षाले जलमग्न हुँदा उनको समेत घरमा पानी पस्यो । सामान्य खालको घर छ उनको । घर छेउमै मन्दिर भने पक्की छ । बुधवार बिहान उनी मन्दिरमा अविरल वर्षापछि डुवेको गाउ हेरेर बसेका थिए ।

उनले विगत लामो समयदेखि डुबानको समस्या भोग्दै आएका छन् । उनका बाबु बजेपनि यहि बस्थे । बाबु बजेकै पालदेखिको समस्या ज्युका त्यु रहेको उनले सुनाए । ‘मैले बुझने भएपछिदेखि नै यो समस्या भोग्दै आएको छु,’ उनले भने बुबा बाजेले पनि डुवानको समस्या भोगर नै बित्नु भयो । मेरो पनि त्यस्तै होला ।’

उनी यतिमै रोकिएनन् । चुनावको बेला हात जोड्दै नेता आउने गरेको भन्दै आक्रोस पनि पोखे । ‘यस पटक मैले जितेपछि तपाइहरू डुबान मुक्त हुनुहुन्छ,’ भन्छन् उनले भने ‘अनि चुनाव जितेपछि फर्केर आउदैन्न ।’ उनले डुबानपछि पनि राहत मिलाएर खाने गरेको भन्दै थप आक्रोस पोखे । ‘मेरो १६÷१७ कट्ठा जमिन छ । मलाई खान पुग्छ । मलाई राहत चाहिएन । तर संकटमा परेका साथीभाइहरूलाई त दिनु परो नि । म त मेरो निजी जग्गामा आफ्नै पैसाले सबैका लागि मन्दिर नै बनाइदिएको छु नि । मेरो भाइको त पक्की घर नै छ । ’

उनको जस्तो समस्या विराटनगरका धेरै सर्वसाधारणले खेपेका छन् । बर्खा लाग्नसाथ आकाश हेरेर सुत्नुपर्ने बाध्यता महानगरमै रहेको विराटनगर १२ कै धनेश्वर साहले बताए । ‘१ घण्टा लगातार अलिक ठुलो पानी प¥यो भने मेरो घरमा पस्छ,’ उनले भने सुत्नु अगाडी नै आकास हेरेर मात्रै सुत्छु । आकास खुल्ला छ भने मजाले निदाउछु धुमिएको छ भने निन्द्रा लाग्दैन । पानी पर्न थालेपछि छोरा छोरीहरुलाई सुरक्षित स्थानमा सार्नुपर्छ । ’ पैनीहरू बने पनि त्यसको निकास नभएका कारण चुवान हुने गरेको थानेश्वर बताउँछन् ।

गए राति देखि परेको वर्षाका कारण विराटनगर बुधवार बिहान जलमग्न बनेको थियो । वर्षा यो समाचार तयार पार्दा रोकिएको थियो । विराटनगरका १९ वटै वडामा डुवान भएको महानगरपालिकाले जनाएको छ । लगातारको वर्षाको कारण केसलिया खोलाको बाढी विराटनगर १२ को बखरी, दरैया, बराहाटोल, मलौना, सिमराहीका स्थानीयको घर डुबेको हो । १२ नम्बर वडामा मात्रै तिन दर्जन बढी घर डुबेको १२ नम्बरका वडा सदस्य कुशेश्वर राजवंशीले बताए । घर डुबानमा परि विस्थापित भएका परिवारका सदस्यहरू विराटनगर १२ मा रहेको सामुदायिक भवन र बखरी स्कुलमा राखिएको थियो । उनीहरूलाई पानी घटेपछि घरमा पठाइने जनाइएको छ । कसेलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो ।

लगातारको वर्षाका कारण खोलाहरूमा आएको बाढीले विराटनगरका ४, ५, ६, ८, १२, १५, १६, १७, १८ का केही घर चुवानमा परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । मोरङ कै रंगेलिमा खोला तेर्ने क्रममा एक जना बेपता बनेको बताए । ‘रंगेलि ४ को नागेन मण्डल खोला झागि खोला तर्नेक्रममा खोलाले बगाएछ’ उनले भने ‘खोजि कार्यजारी छ । अन्य मानविय क्षति भएको छैन।’विराटनगर स्थित शनिमन्दिर चोक, मुनाल पथ, आयल निगम पूर्व,पिचरालगायतका क्षेत्रको अधिकांश सडक पानीले भरिएका थिए । विराटनगरमा मात्रै ५ सय बढी घरमा चुवान भएको अनुमान गरिएको छ ।

चुनावी एजेन्डा मात्रै बन्ने गरेको भन्दै स्थानीय भने महानगरको जनप्रतिनिधसंग रुष्ट रहेका छन् । प्रदेशको राजधानी समेत रहेको विराटनगरमा एक दुई घण्टा पानी पर्न साथ जलमग्न हुने गरेको छ । तर जनप्रतिनिधि भने दोषारोपणमा व्यस्त बनेका छन् । संघ र प्रदेश सरकारले विराटनगरको डुवानको विषयमा ध्यान नदिँदा समस्या भएको महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीको आरोप छ । ‘हामीसँग समिति स्रोत साधन छ,’ उनले भनिन ‘पटक पटक डुबानको निकासका लागि बजेटको व्यवस्थापन गरिदिन पत्र पठाए पनि माथिल्ला सरकारले ध्यान दिएन्न ।’ विपद्को पुर्वतयारी स्वरूप महानगरले पैनी तथा नालाहरूमा जेसिवि लगाएर सफा गरीरहेको उनले बताइन । ‘आज मैले सामाजिक संजाल हेर्न सकिन । सबैतिर हामीलाई गाली छ । चित नबुझेको कुरा लेख्दा रिसाउनु पनि भएन ।
‘हामी निर्वाचित भएर आउँदा तिन दिन सम्म पानी सुक्दैन थियो । तर अहिले पानी रोकिएको दुई तिन घण्टामा मज्जाले पानी सुक्छ । हाम्रो स्रोतसाधनले गर्न भ्याउने यति नै रहेछ । दक्षिणी भेगमा आजै मात्रै ३ वटा र अन्य क्षेत्रमा २ वटा जेसिवि लगाएर पानी खोल्ने काम गरेका छौ’ उनले भनिन ।

बिहिबार, १४ असार, २०८१, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर