सङ्खुवासभा । सङ्खुवासभामा कृषि सडक, पक्की पुल र झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत पुगेको छ । पक्की पुल समयभित्रै सकिएपछि पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका राष्ट्रिय राजमार्गमा जोडिएका छन् ।
जिल्लामा एक स्थानीय तहदेखि अर्को स्थानीय तह जोड्ने हेवा खोलामा पक्की पुल बनेपछि स्थानीयलाई राहत भएको छ । कोशी प्रदेश सरकारको लगानीमा चैनपुर नगरपालिका–५ र पाँचखपन नगरपालिका–६, जोड्ने पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको हो । पक्की पुल बनेपछि पाँचखपन र सभापोखरीका २० हजारभन्दा बढी बासिन्दा लाभान्वित छन् ।
बर्षायाममा खोलामा पसेर वारपार गर्नुपर्ने स्थानमा हाल पक्की पुल निर्माण भएपछि दुवै नगरपालिका भित्र बसोबास गर्न वासिन्दालाई खोला वारपार गर्न सहज भएको हो । यसअघि, इलाका प्रशासन कार्यालय चैनपुर पुग्न पाँचखपन र सभापोखरीका स्थानीयलाई तीन चार घण्टा घुमेर खाँदबारी हुँदै जानु पर्ने बाध्यता थियो । हेवा खोलामा पक्की पुल निर्माण भएपछि स्थानीयलाई यात्रा गर्न निक्कै सहज भएको छ । खोलामा पक्की पुल बनेपछि स्थानीय उत्पादन, मोटरसाइकल र अन्य सवारी साधन ओहोरदोहोरमा सहजता भएको छ ।
पक्की पुलले ग्रामीण क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको पूर्वाधार विकास कार्यालय सङ्खुवासभाका प्रमुख शैलेन्द्र सिंहले बताए । आधुनिक, भौतिक सुविधाहरुको दिगो रुपमा सडक तथा पुलको विकास गरी सहर तथा गाउँ नगरबासीको अन्तर सम्बन्धलाई सुदृढ पारेको प्रमुख सिंहले बताए । विभिन्न पालिका जोड्ने पक्की पुलले स्थानीयस्तरमा उत्पादन भएको कृषिका सामाग्री बजारसम्म पुराउनपनि सजिलो भएको पूर्वाधार कार्यालयका प्रमुख सिंहले बताए । सीमित श्रोत साधन भएपनि कर्मचारीको लगनशिलता, निर्माण व्यवसायी तथा उपभोक्ता समूहको प्रयासबाट विकास निर्माण भइरहेको उनको भनाइ छ । ग्रामीण क्षेत्रमा निर्माण भएका पक्की पुलले स्थानीय स्तरमा उत्पादन भएको कृषिका सामाग्री बजारसम्म ल्याउन पनि सजिलो स्थानीयको भनाइ छ । सडक सञ्जाल र पक्की पुल नभएका कारण स्थानीयले उत्पादन गरेको कृषिजन्य बस्तु डोकोमा बोकेरसहरसम्म लैजान पर्ने बाध्यता रहेको थियो । हेवा खोलामा पक्की पुल बनेपछि इलाका प्रशासन, मालपोत कार्यालय चैनपुर पुग्न पाँचखपन र सभापोखरीका स्थानीयलाई सहज हुदै आएको पाँचखपन नगरपालिका नगर प्रमुख विपिन राईले बताए । पक्की पुल निर्माण भएपछि स्थानीयले उत्पादन गरेको अर्गानिक कृषिजन्य उत्पादनले बजार पाउन थालेको नगर प्रमुख राईको भनाइ छ । पक्की पुल निर्माणपछि स्थानीयको उत्पादनले बजारसँगै मुल्य समेत पाउन थालेको छ । हेवा खोलामा पक्की पुल बनेपछि दुरी छोटो मात्र होइन, सिधै इलाका प्रशासन, मालपोत, नापी कार्यालय चैनपुर पुग्न सहज भएको स्थानीयले बताए । करिब ४ करोड ८ लाख ९८ हजार रुपैयाँको लागतमा निर्माण भएको पक्की पुलको लम्बाई ३० मिटर रहेको छ । निर्माण ठेकेदार कम्पनी अरुण बरुण निर्माण सेवाले तोकिएको समय भन्दा ६ महिना अगावै पुल निर्माण गरी पूर्वाधार विकास कार्यालय सङ्खुवासभालाई हस्तान्तरण गरेको थियो ।
तोकिएको समयभन्दा पहिले नै पुल निर्माण गरेवापत कुल लागतको १० प्रतिशत अतिरिक्त रकम निर्माण कम्पनीलाई उपलब्ध गराइएको थियो । प्रदेश सरकार स्थापना भएपछि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार कार्यालय स्थापना भयो । कार्यालयले गएको ६ वर्षमा तेह्रथुम र सङ्खुवासभाका विभिन्न स्थानमा पक्की पुल, कालोपत्रे, सडक ट्याक खोल्ने र स्तरोन्नतीको काम पनि गरिरहेको छ । संखुवासभा र तेह्रथुम जिल्लामा कार्यालयले पुक्की पुल, सडक निर्माण ट्रयाक ओपन तथा स्तरोन्नती, झोलुंगे पुल लगायत बहुवर्षिय आयोजनाहरु सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा सङ्खुवासभा र तेह्रथुममा कार्यालयका ८८ योजनाहरु सञ्चालन तथा कार्यान्वयनमा छन् । त्यसमध्ये ४ वटा बहुवर्षिय सडकहरु र ४ वटा मोटरेबल पुलका आयोजना हुन् ।
पूर्वाधार विकास कार्यालयले हालसम्म तेह्रथुमको सिधुवा शुक्रबारे ओख्रे म्याङलुङ सडक १६ किलोमिटर शेर्मा जलजले भण्डारी सडक १७ किलोमिटर र सङ्खुवासभाको गुफापोखरी चैनपुर ७ किलोमिटर गरी ४० किलोमिटर सडक कालोपत्र गरिसकेको जनाएको छ । त्यस्तै, खोरुङ्गा खोला मोटरेबल पुल, भोटीखोला मोटरेबल पुल, हेवाखोला मोटरेबल पुल गरी तीन स्थानमा पक्की पुल साथै विभिन्न स्थानमा ३० किलोमिटर सडक ग्राभेल गरिसकेको छ । ५० किलोमिटर सडक मर्मत सम्भार गरेको कार्यालयले जनाएको छ । त्यस्तैगरी वहुवर्षिय योजनाहरु यी दुवै जिल्लामा जनतामुखी योजनाको रुपमा रहेको पूर्वाधार विकास कार्यालयको दाबी छ ।
धनकुटाको सिधुवाबाट शुक्रबारे–ओखरे हुँदै म्याङलुङ जोड्ने सडक, शेर्मा–जलजले–भण्डारीडाँडा–इसिशु–संक्रान्ति–आठराई–फेदाप सडक, सङ्खुवासभाको गुफापोखरी–चैनपुर–बाह्रबिसे सडक, सङ्खुवासभाकै मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवाबेशी सडक, तेह्रथुमको संक्रान्ति बजारदेखि खाम्लालुङ हुँदै सम्दु–भण्डारीडाँडा सडक, सङ्खुवासभाको तुम्लिङटार एयरपोर्ट–हाइवे पाँचखपन जोड्ने सभाखोला सडक बहुवर्षीय आयोजनाहरु हुन् । यीमध्ये केही आयोजनाको भौतिक प्रगति र आर्थिक प्रगति प्रतिशतका आधारमा समयमा नै काम सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
प्रदेश सरकार मातहतका १२ मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको पूर्वाधार विकास कार्यालय सङ्खुवासभा पनि एक हो । पूर्वाधार विकास कार्यालय जिल्लाका विभिन्न स्थानमा जनताका माग र भौगोलिक आवश्यकता बमोजिम सडक, कृषि सडक, सडक पुल, झोलुङ्गे पुल लगायत अन्य सडक निर्माण, मर्मत सुधार तथा स्तरोन्नती सम्बन्धी कार्यहरु गरिरहेको कोशी प्रदेशका स्वास्थ्य मन्त्री तथा सङ्खुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र्र कार्कीले बताए । यससँगै आधुनिक, भौतिक सुविधाहरुको दिगो रुपमा सडक तथा पुलको विकास गरी शहर तथा गाउँ नगरबासीको अन्तर सम्बन्धलाई सुदृढ पार्नु पूर्वाधार विकास कार्यालयको मुख्य काम भएको मन्त्री कार्कीले बताए । मन्त्री कार्कीले सो क्षेत्रमा भौतिक पूर्वाधार निर्माणपछि स्थानीयको दैनिकीले गति लिनेमा विश्वस्त हुन आग्रह गर्दै आगामी दिनमा प्रदेश सरकारले थप योजनासहित काम गर्नेमा जोड दिए ।
झोलुङ्गे पुलले दुरी घट्यो
पूर्वाधार विकास कार्यालय सङ्खुवासभाले गएको चार वर्षमा २० वटा झोलुङ्गे पुल निर्माणको काम सकेको छ । कार्यालयले यो वर्ष मात्रै सभापोखरी गाउँपालिका भित्रका विभिन्न स्थानमा ३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ४ वटा, २०७८/०७९ मा ६ वटा, २०८९/०८० मा ३ वटा र चालु आर्थिक वर्षमा ७ वटा झोलुंगे पुल निर्माण सकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख शैलेन्द्र सिंहले बताए ।
सभापोखरीमा बर्खायाममा खोला तर्न सकिँदैन थियो । सभापोखरी ५ र ३ नम्बर वडा जोड्ने माङ्जुवा दोभान सिदेक्पा जाने करिब ६० परिवार वर्षायाममा सभाखोला तर्न नसकेपछि ३ घन्टा घुमेर बाह्रबिसे बजार आउनुपर्ने बाध्यता थियो । पूर्वाधार विकास कार्यालयले सभाखोलामा ८८ मिटर झोलुङ्गे पुल निर्माण गरिदिएपछि भने सिंगो गाउँलाई फाईदा पुगेको स्थानीय तिलक सुब्बा मादेनले बताए । माङ्जुवा दोभान सिदेक्पा हुँदै स्थानीयलाई सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे आउन पनि सजिलो भएको उनको भनाइ छ । पुल नहुँदा छोराछोरीलाई बाह्रबीसेमा राख्नुपर्ने बाध्यता अभिभावकलाई थियो । जसको कारण एकातिर छोराछोरीसँग अभिभाकहरु छुट्टिएर बस्नुपर्ने अवस्था थियो भने अर्कोतिर थप खर्च छुट्टै ब्यहोर्नु परिरहेको थियो । अहिले पुल निर्माण भएपछि ३ घन्टा घुम्नुपर्ने बाध्यता हटेको स्थानीय मादेनले बताए । त्यस्तैगरी आपुंगको माङ्जुवा खोलामाथि पनि प्रदेश सरकारकै लगानीमा १ सय १३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । त्यसले सभापोखरीको वडा नम्बर ५ र ६ लाई जोड्न सजिलो भएको छ ।
स्थानीयकाअनुसार हिउँदका केही महिना दुःखकष्टका साथ खोला वारपार गरेपनि वर्षा सुरु भएपछि सो खोला तर्नसक्ने अवस्था हुन्थेन । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले प्राथमिकताको आधारमा सडक निर्माण, मर्मत र सडक पुल, झोलुंगे पुल निर्माण लगायतका योजनाहरु काम गरिरहेको मन्त्रालयका सूचना अधिकारी अयुश जोशीले बताए । प्रदेश सरकारसँग दरबन्दी अनुसार कर्मचारी र सीमित स्रोत साधनले सेवा प्रवाहमा समस्या रहेको उनको भनाइ छ । ठूलो कार्यक्षेत्र भएपनि दरबन्दी अनुसार पदपूर्ति हुन नसक्दा कार्यसम्पादनमा समस्या हुने गरेको सूचना अधिकारी जोशीले बताए । मन्त्रालयले प्राथमिकता गरी बजेट व्यवस्थापन गरिएका योजनाहरु पुर्वाधार विकास कार्यालयले कार्यान्वयन गरिरहेको उनको भनाइ छ । कर्मचारी अभावकै बावजुद पनि दुई जिल्लामा कार्यक्षेत्र बनाएर अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।
सदरमुकाम खाँदबारी पुग्न सभापोखरी ५ र ६ का स्थानीयलाई वर्षको ८ महिनासम्म दैनिक २ घन्टा घुमेर धुपु हुँदै जानु पर्ने बाध्यता रहेको छ । उक्त स्थानमा झोलुङ्गे पुल बनेपछि राहत महसुस भएको छ । झोलुङ्गे पुलले एक गाउँबाट अर्को गाउँ जाने दुरी भने छोट्याएको छ । त्यसबाट करेसाबारीमा फलेका कृषिउपज पनि एक ठाउँबाट अर्को ठाउँमा लगेर बेच्न सजिलो भएको स्थानीय बताउँछन् । पुल निर्माणपछि सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धालाई सजिलो भएको छ । पक्की पुल बनाउन नसकिने जिल्लाका दुर्गम क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले गाउँबासीलाई प्रत्यक्ष रुपमा फाईदा पुगेको सभापोखरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चापागाईंले जानकारी दिइन् । झोलुङ्गे पुलले निर्माण भएसँगै स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजसमेत कृषकले बजार ल्याउन थालेको उपाध्यक्ष चापागाईँको भनाइ छ । पुल बनेपछि गाउँमा उत्पादन भएका कृषिजन्य उत्पादनले अहिले बजार मूल्य पाउन थालेको छ । ठाउँ र स्थान हेरेर एउटा झोलुङ्गे पुल निर्माण गर्न कम्तिमा ३५ देखि ४० लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको पूर्वाधार कार्यालयका प्रमुख सिंहले बताए । पछिल्लो समय निर्माण भएका पुलको लम्बाई ६८ मिटरदेखि १ सय ३३ मिटरसम्मका छन् । पुल सञ्चालनमा आएपछि पूर्वाधार कार्यालयले उपभोक्ता समिति र स्थानीय बासिन्दालाई मर्मत तथा प्रयोगसम्बन्धी तालिमसमेत दिने गरेको पूर्वाधार कार्यालयले जनाएको छ ।
विकास निर्माणका आवश्यक ठाउँहरुको पहिचान गरी आयोजनाको सर्वेक्षण डिजाइन तथा लगत इस्टिमेट तयार गर्नु, आयोजनाको कार्यान्वयन गर्नु, आयोजनाको सुपरिवेक्षण हनुगमन तथा मुल्यांकन, आयोजनाको जाँचपास तथा फरफारक गर्नु यस कार्यालयको मुख्य उद्देश्य हो ।