एकीकृत समाजवादीद्वारा प्रतिनिधि छनोट

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि मोरङमा प्रतिनिधि छनोट गरेको छ ।

पार्टीले एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनोट गरेको हो । १ नम्बर क्षेत्रबाट तीन जाना प्रतिनिधि छनोट गरेको छ । नेकपा एकीकृत समाजवादी मोरङका नेता प्रेमराज भारतीका अनुसार १ नम्बर क्षेत्रबाट महिलामा शान्ति पाख्रिन, खुलामा गंगाराम घिमिरे र बलबहादुर तामाङ छनोट भएका छन् । क्षेत्र नम्बर २ बाट चन्द्रवीर राई, पुरुषोत्तम सुवेदी महाधिवेशन प्रतिनिधिका लागि छनोट भएका छन् ।

सबैभन्दा बढी भने मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा (एस)ले प्रतिनिधि छनोट गरेको छ । यस क्षेत्रबाट खुलामा लक्ष्मीकुमार श्रेष्ठ, तिलकप्रसाद ढकाल, मानप्रसाद लिम्बू, भूपाल बस्नेत, डोलेन्द्र तिम्सिना, सन्तोष लिम्बू छनोट भएका छन् । महिलातर्फ बिन्दा देवी राई र सीता प्रधान छनोट गरिएको छ । यस्तै दलित कोटाबाट सन्तवीर गहतराज छनोट गरिएको छ ।

क्षेत्र नम्बर ४ बाट प्रेमराज भारती, राजेन्द्र सुवेदी र कविराज घिमिरे खुलामा छनोट भएका छन् भने महिलातर्फ प्रमिसा खाँ छनोट भएकी छिन् । ५ नम्बर क्षेत्रबाट भने वीरेन्द्र यादव मात्रै प्रतिनिधिमा छनोट भएका छन् । क्षेत्र नम्बर ६ बाट भीमबहादुर बस्नेत र सीता पौडेल छनोट भएका छन् । जिल्लाबाट २१ जना प्रतिनिधि छनोट गरिएको नेकपा (एस) मोरङका प्रवक्ता वसिम आलमले बताए ।

बिहिबार, ०७ असार, २०८१, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर