विराटनगर । इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो मुख्य पर्व बकर ईद (ईदउल अजहा) सोमबारदेखि सुरु भएको छ । तीन दिनसम्म मनाईने बकर ईद मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्वको रुपमा मनाउने गरिन्छ ।
बकर ईद (ईदउल अजहा) पहिलो दिन सोमबार नेपाल, भारतसहित विश्वभर रौनकता छाएको छ । बकर ईदको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले पहिलो दिन मुलुकभर मनाइएको छ ।इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाइन्छ । इस्लाम पात्रो ‘हिजारी संवत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १०औं दिनमा यो पर्व मनाइन्छ । यस दिन बिहान सबैरै उठेर नुहाइधुवाइ गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदमा गई नमाज पढ्नुका साथै अँगालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गरिएको मुस्लिम अगुवा जफर अहमद जमालीले बताए ।
देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको विहानै भीड लागेको थियो । हिजरी संवत् अनुसार हजारौं वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवा बताउँछन् ।
नमाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको बलि दिने परम्पराअनुसार मुस्लिम धर्मालम्बिहरुले सोमबार कुर्बानी (बली) दिएको छ । घरमा दिइएको पशुको मासु तीन भाग लगाएर विहानैदेखि एक भाग आफ्ना लागि, अर्को एक भाग आफ्नानजिकका मित्रलाई र तेस्रो भाग गरिब तथा असहायलाई दानस्वरुपमा वितरण गरिएको मुस्लिम अगुवा साहेव अहमद गुड्डुले बताए ।
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाऊ भनेको देखेपछि आफ्नै छोरालाई आफैंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको विश्वास रहेको छ । कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरका लागि हो भन्ने भावना जागृत गराउनु भएको गुड्डुले बताए ।
पहिलो दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा र मीठा परिकार एकापसमा साटासाट गरेका छन् । इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ ।इदलुफित्र पर्वको ठीक ७० दिनपछि सुरु हुने यो पर्वमा पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने यो पर्व तीनदिनसम्म मनाइन्छ । बकर ईदको पहिलो दिन, बिहानै नुहाइधुवाइ गरी सुकिलो, सफा कपडाका साथमा अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढ्ने गरिन्छ ।
ईस्लाम धर्मको महान पर्व (ईदुल फित्र) ईद र (ईदुलअजहा) बकरईदको दिन मुस्लिम समुदाय एकत्रित इदगाहमा नमाज पढ्ने गर्छन् । बकरइदमा नमाजपछि आ–आफ्नो घर गई क्षमता र हैसियत हुनेहरूले कुर्बानी (बलि दिने) गरिन्छ । त्यस्तो कुर्बानी चौपायामा मात्रै गर्नुपर्ने हुन्छ । खसी, राँगा, भेंडा, उँट, दुम्बा (खाडीमा पाइने जनावर) लगायतका जनावरलाई कुर्बानी दिन योग्य मानिन्छ । ठूला जनावरहरू राँगा, ऊँट लगायतमा ३, ५ र ७ जनासम्मले समूहमा वा एकै व्यक्तिको नाममा कुर्बानी दिने गरिन्छ भने खसी, बाख्रा, दुम्बामा एकजनाको नाममा मात्रै लगाउने चलन छ । त्यस्तो जनावर बिरामी, खुट्टा खोच्याउने, कान काटिएको, सिङ भाँचिएको भने हुनु हुँदैन ।
यो पर्वमा कोही पनि मासु खानबाट वञ्चित नहोस् भन्ने मान्यता छ । कुर्बानीको मासु तराजुमा तौलन र बिक्री गर्न मिल्दैन । कुर्बानी भएको जनावरको छाला मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । यो नियम सबै मुस्लिमले पालना गर्नुपर्ने हुन्छ । यस्तै दोस्रो र तेस्रो दिन पनि कुर्बानी दिन सकिन्छ । यो बकर ईदसँग हज (तीर्थाटन) समेत जोडिएको हुन्छ । प्रत्येक वर्ष नेपालबाट सयौँ हजयात्री हजमा सहभागी हुन साउदी अरेवियाको मक्का जाने गरेका छन् । हजमा गएका नेपालीहरूले बकर इदको नमाज साउदीमा नै पढ्ने गर्छन् । यो महिनापछि इस्लामिक नयाँ वर्ष मोहर्रम सुरु हुन्छ ।