डा. बालकृष्ण साह
जेठ २३ गते । मोवाइलमा अनायसै एउटा दुःखलाग्दो भिडियो देखियो । त्यो भिडियो नानो खबर भन्ने युटुयुबमा राखिएको थियो । भिडियो एक गर्भवतीको थियो । जो अत्यन्तै पीडादायक स्थितीबाट गुज्रिरहेकी रहिछन् ।
उपचारका लागि उनले थुप्रै अस्पतालको चक्कर लगाउनुपरेछ । जिल्ला अस्पताल भोजपुर, धरानको विपिकेआइएच हुँदै कोसी अस्पतालसम्म चाहर्दा भएभरको पैसा त सकिएछ नै समस्या भने ज्यूँको त्यूँ रहेछ । पैसा रित्याएर, पीडा बढाएर घर फर्किएकी ती गर्भवतीलाई आर्थिक सहयोग गरिदिन भिडियोमा याचना गरिएको थियो ।
सो समाचारको कमेन्टमा गर्भवतीको निःशुल्क उपचार हुन्छदेखि लिएर सहयोगको अपिल गर्ने, सरकारलाई गाली गर्नेदेखि लिएर अस्पताल पठाई दिन र आफू गएर सहयोग गर्नेसमेतको आश्वासन दिएका छन् । सो गर्भवती महिलाको श्रीमान् अलिक बोल्न नसक्ने र सुस्त भएको देखाएकाले यस्तोले किन बच्चा पाउनु पर्नेसमेत भन्न बाँकी राखेका छैनन् ।
तर धेरैले उपचार पाउन भन्ने उद्देश्यका साथ शुभकामना दिँदै सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । कसले के सहयोग गरे थाहा भएन, चतराबासीले फर्कन चाहिँ दिएनन् । तर २३ जेठमा उनको उपचार सुरु चाहिँ भएन । चतराक्षेत्रकै एक समाजिक संस्थामा आबद्ध रहेकी विमला काश्यपले मलाई सो समाचार शेयर गरिन् । उपचार सम्भव छ ? उनको प्रश्न थियो । मैले सकिन्छ भने । विहान ७ बजेको सेरोफेरो हुनुपर्छ । सानो सम्वाद भयो समाजिक सञ्जालमा । विमारी अस्पताल आईपुग्यो, करिव ९ः३० वजे तिर ।
समाजिक सञ्जाल (फेसबुक) मा विमला कश्यपले लामो स्टाटस लेख्छिन् । ‘धेरै धेरै धन्यवाद दाजु भिषण राई, हजुरले त्यो समयमा यो भिडियो प्रसारण नगर्नु भएको भए मृत्युको मुखमा पुगेकी एक गर्भवती महिलाले नयाँ जीवन पाउने थिनन् । ५० जना जति व्यक्तित्वहरूलाई भिडियो पठाएर केही सहयोग गर्न सकिन्छ भनि म्यासेज गर्दा कुनै पनि प्रतिक्रिया नआएको समयमा प्रतिक्रिया आउँदा पनि सकारात्मक प्रतिक्रिया नआएको समयमा, यस्तो जटिल स्वास्थ्य समस्या भएको गर्भवती महिला छिन् उनलाई केही गर्न सकिन्छ सर ? भनि प्रसारित भिडियो म्यासेजमा पठाउने बितिकै तत्काल उपचारको लागि पठाउनुस म हेर्छु भनेर डाक्टर बालकृष्ण साह ज्युले नभन्नु भएको भए, बिरामी चतरादेखि विराटनगर लानु छ गाडि भाडा पनि छैन भन्दा चतरा अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा नदिएको भए, चतराका स्थानीय व्यक्तिहरु मिलेर केही आर्थिक सहयोग नगरेको भए र मोरङ सहकारी अस्पताल परिवार सबै लागि परेर आमा र बच्चाको औषधि खर्च लगायत बच्चा बचाउन एनआसियुसमेत सबै निल्शुल्क उपलब्धता नगराइदिएको भए । रगत अभाव भएको समयमा तत्काल आवश्यक रगत उपलब्धता साथै अन्य आवश्यक सहयोग पेरिस सुवेदी, विकास राई, भवेश पौडेल ज्यूले नगरिदिनु भएको भए । रामप्रसाद राई गाउँपालिकाले केही आर्थिक सहयोग नगरि दिएको भए आज आर्थिक अवस्था कमजोर भएकै कारण उपचार अभावले एक गर्भवती महिलाले ज्यान गुमाउनु पर्योलगायतका समाचार पढ्न र सुन्न पथ्र्यो होला,’ उनले अगाडि लेखेकी छिन, ‘अनि बिचरा, हाम्रो देशको अवस्था, भ्रष्ट नेताहरूलगाएतका वैचारिक समाचार, स्टाटस हेर्दै लाइक र कमेन्ट गर्दै बस्नु पर्ने दिन आउँथ्यो होला ।’
‘यो जटिल परिस्थितिमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने मनकारी ब्यक्तित्वहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । सबैको साथ सहयोगले आज आमा बच्चा स्वस्थ छन् । आमा बच्चाले नयाँ जीवन पाएका छन् । परिवारमा खुसी छाएको छ । सेवा नै धर्म हो,’ उनको स्टाटसमा काम गर्नेहरुको प्रसंसा मात्रै नगरेर हाम्रो संस्कार र सो प्रतिको आक्रोश पनि झल्किन्छ । उनलाई धेरैले आर्थिक सहयोग गरेको हुनुपर्छ । किनभने जे खुवाउन सुझाए, सो खुवाउन सकेको छ । स्वास्थ मात्रै होइन उनको सफाई अवस्था पनि कहालीलाग्दो थियो ।
कोशी हेल्थ कलेजका नर्सिङका विद्यार्थीहरूले नुहाउने, नङ काट्ने सबै गरे । उनलाई नयाँ लुगा दिइयो । त्यस बेला थाहा भयो विगत ७ महिनामा उनले पहिलो पटक नुहाउन पाएकी थिइन् । उनको शल्यक्रिया भयो । गा¥हो थियो, तर आमा र बच्चालाई बचाउन सकियो । पालिका प्रतिनिधिदेखि मन्त्रीसम्म भेट्न आए । सन्त्वना दिए, पैसा दिए ।
तर सेवा कसले गरे ? यस्तो जटिल अवस्थामा उपचार गर्दा भवितव्य केही भएमा बद्नाम को हुन्थ्यो ? अनि समाजिक सञ्जाल भरि गालिगलोज कसको हुन्थ्यो ? कतै यिनै संस्कारले कविता जस्तोको उपचार गर्न झन गा¥हो हुँदै गएको त होइन ? सोच्न बाध्य भएको छ । हो, कतिपय अवस्थामा अस्पतालका कमजोरी होला तर ‘सबै विमारीलाई उपचार गरेर बचाउन सकिन्छ’ भन्ने हुँदैन ।