मूल्य अभिबृद्धि र बजारीकरणमा सहयोग गर्न जोड

विराटनगर । सरकारले मूल्य अभिवृद्धि र बजारीकरणमा सहजीकरण नगरेको कारण नेपालमा किबीको उत्पादन घट्न थालेको सरोकारवालाले बताएका छन् ।
नेपालमा पर्याप्त बजारीकरण र मूल्य अभिवृद्धि नहुँदा किबी खेतीमा ह्रास आइरहेको विज्ञहरु बताउँछन् । केही समयपछि ड्रागन फ्रुट्सले यहि हालत भोग्नुपर्ने खतरा देखिएको उनीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले किबीको बजारीकरण र मूल्य अभिवृद्धि नहुँदा यसको उत्पादनमा ह्रास आइरहेको बताए । पूर्वका केही पुराना किसानले आफूले उचित बजार पाउन नसक्ता किबी खेती मास्न थालेको उनको भनाइ छ ।

नेपालमा मकैको खेती प्रत्येक वर्ष वृद्धि भइरहेकोमा सरकारले बजारीकरण र मूल्यअभिवृद्धिमा योगदान नगरे मकै खेती पनि किबी खेतीजसरी नै ह्रास हुने खतरा रहेको बोहोराको भनाइ छ । सकारले कृषिउपजको विकास गर्न पायक पर्ने स्थानमा मन्डीको स्थापना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

मकै खेती, यसको व्यापार, बजारीकरण, फाइनान्स, मूल्य अभिवृद्धि आदिका विषयमा अध्ययन गर्न भारतको गुलाफबाग जाने महासंघको टोलीलाई विदाइ गर्दै बोहोराले कुनैपनि कृषि उत्पादनको जीवन र वृद्धिका लागि बजारीकरण र मूल्य अभिवृद्धि मुख्य श्रृंखला भएको उल्लेख गरे । महासंघको कृषिउद्यम समितिका सभापति डी.बी. बस्नेतको नेतृत्वमा ३० सदस्यीय टोली भारतको विहारस्थित गुलाबबाग गएको छ ।

भारतको पूर्वोत्तर विहार मकैका लागि दक्षिण एसियाकै ठूलो हब हो । गुलाबबाग मकै खरिदविक्री र वेयर हाउजिङको केन्द्र बनेको छ । विराटनगर नाकाबाट गुलाबबाग ८५ किलोमिटर दक्षिणमा पर्छ ।
उनले भारत सरकारले मकैको बजारीकरण र मूल्य अभिवृद्धिका लागि ठुलो योगदान गरेको चर्चा गरे ।‘भारतमा पेट्रोलियम पदार्थमा अन्नबाट उत्पादित इथानोल २० प्रतिशतसम्म मिश्रण गर्न पाइने सुविधा छ’, बोहोराले भने, ‘मकैबाट पर्याप्त इथानोल उत्पादन हुन्छ र अहिले भारतमा यसको उत्पादन तीव्र रूपमा भइरहेको छ ।’ भारतमा मकैबाट स्टार्चको पनि उत्पादन भइरहेको उनले बताए ।

भारतमा मकैबाट खानयोग्य र औद्योगिक प्रयोजनका गरी दुबै प्रकारका स्टार्चको उत्पादन भइरहेको बताइएको छ । सरकारले मकैबाट उत्पादन हुने इथानोल र स्टार्च दुबै उद्योगलाई ठुलो सुविधा दिएकोले मकैले राम्रो मूल्य पाएको छ ।

बोहराका अनुसार मन्डीमा नै कृषि उपजको बजार लाग्छ र अक्सन हुन्छ । मन्डी भएका ठाउँमा नै ठुला–ठुला वेयर हाउसको निर्माण गरिन्छ । सबैतिरका व्यवसायीहरू खरिदविक्रीका लागि मन्डीमै पुग्छन् । गुलाफबाग मकैका लागि दक्षिण एसियाकै सबैभन्दा ठूलो मन्डी भएको उनले जानकारी दिए ।
महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विहारले १५ वर्षको अवधिमै कृषि क्षेत्रमा ठूलो फड्को मारेकोले नेपालले यसबाट सिक्नुपर्ने बताए । ‘छिमेकी देशमा भइरहेको विकासको नमुनालाई हामीले उदाहरण बनाएर अगाडि बढ्नुपर्छ’ उनले भने, ‘सरकार अघि नसरी कुनैपनि क्षेत्रको विकास र संरक्षण हुन सक्तैन । किसानलाई प्रोत्साहन र संरक्षणको ठुलो खाँचो छ ।’

भारत गएको टोलीमा कृषि ज्ञान केन्द्रका अधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, कृषि सहकारी र कृषि उद्योगका सञ्चालकसहित अगुवा किसान र व्यवसायी गरी ३४ जना छन् । उनीहरुले त्यहाँबाट सिकेर नेपालको उत्पादन बृद्धि र बजारीकरणमा योगदान गर्ने विश्वास गरिएको महासंघ कोशीका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए ।

आइतबार, ०३ असार, २०८१, बिहानको ०८:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर