धानको व्यवस्थापन गर

 सम्पादकीय

नेपालमा हरेक वर्ष अरवौं मूल्यको खाद्यान्न आयात हुने गरेको छ । कुनै समय धानचामल निर्यात गर्ने मुलुकमा पछिल्ला दशकमा आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । एकातिर उत्पादनको जमिन घटेपनि उत्पादन घटेको छैन । नयाँ प्रबिधि र उन्नत विउविजनको लागि उत्पादनमा बृद्धि भएकै छ । तर, खाद्यान्न आयात गर्नुपर्ने बाध्यता उचित व्यवस्थापन नभएर नै हो । अहिले किसानहरुले चैते धान उत्पादन गरेका छन् । पछिल्लो समयमा चैते धान विघामा १५० मनभन्दा ज्यादा फल्ने गरेको छ । तर, यसको उचित बजार छैन । धानको भण्डारण क्षमता किसानसँग छैन । झापा गौरादहका खगेन्द्र पाण्डब अधिकारीले फेसबुकमा उत्पादन भएको धान कुहिन लागेको भन्दै गरेको गुनासो नेपाल आम किसानको समस्या हो । चैते धान पाकेर कतिपय किसानले काटेका छन् भने कतिपय किसानले धान काट्ने क्रममा छन् । पहिले काटेको धान खरिद गरेर भएका मिलका गोदामहरू भरिएको कारण मिलले धान खरिद गर्न नसक्ने बताइरहेको बेला किसान समस्यामा परको छन् । तर, त्यसको सम्बोधन गर्न राज्यले भूमिका देखााएको छैन ।

चामल उद्योगहरुले धान लिन नसक्ने बताएपछि धानको कारोबार गर्ने व्यापारीहरुले पनि किसानसँग धान खरिद गरेका छैनन् । विगत वर्षमा १२ सय रुपैयाँ मनले बिक्री भइरहेको धान ८ सयमा अहिले बिक्री नभएको गुनासो किसानले गरेका छन् । जबकि यहि धानको उचित भण्डारण हुनसक्ने हो भने २ महिनापछि १४ सय रुपैयाँ मनले बिक्री हुने निश्चित छ । सरकारले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७०७ रुपैयाँ तोकेको छ । यस्तै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने सरकारको निर्णय छ । तर, किसान भने धान व्यवस्थापनको तनाबमा छन् । झापा, मोरङ र सुनसरीका केहि आधुनिक मिलहरुसँग मात्र धान सुकाउने (ड्रायरहरू) रहेकोले यो समस्या रहेको हो । धेरै मिलहरुसँग सुकाउने प्रबिधि नभएकोले उनीहरुले धान खरिद गर्न नमानेका हुन् ।

सरकारले कृषि क्षेत्रमा ठूलो लगानी गरिरहेको छ । हरेक वर्ष यस्ता समस्या आउने गरेका छन् । कहिले मल विउको अभाबव हुने त कहिले उत्पादनले बजार नपाउने समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्छ । धान मिलहरुको क्षमता बढाउन गोदामहरुको संरचनामा सरकारले पनि लगानी गर्नुपर्ने देखिन्छ । अर्कोतिर नेशनल टे«डिङ र साल्ट ट्रेडिङ जस्ता संस्थामा किसानको उत्पादन खरिद गरि भण्डार गर्ने र पछि किसानलाई नै वा बजारमा फिर्ता पठाउने संयन्त्रको विकास गर्न सके यस्तो समस्या समाधान हुनेछ । सरकारसँग किसानको समस्या समाधान गर्ने बिकल्प नभएकै कारण किसानसँग बार्गेनिङ गरेर मिलहरूले कम मूल्यमा धान खरिद गर्ने प्रयास गरेको पनि देखिएको छ । मनसुनले गर्दा धान चिसो भएर सुकाउन सक्ने नहुँदा समस्या भएको हो । यसको समाधानको लागि ड्रायरको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्छ । कम्तिमा आगामी वर्ष यस्तो समस्या नआओस् भनेर बेलैमा सचेत हुनुपर्छ । मिलहरुमा रहेको सुख्खा धानको अन्यत्र व्यवस्थापन (भण्डारण) गरेर भएपनि किसानको उत्पादन व्यवस्थापन गर्न सरकारले पहल लिनुपर्छ ।

आइतबार, ०३ असार, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर