मानगढ खानेपानीको निर्वाचनले एमालेमा भाँडभैलो : महानगर अध्यक्षसहित तीन निष्कासित

विराटनगर । विराटनगरमा रहेको मानगढ खानेपानीको निर्वाचनको विषयलाई लिएर नेकपा एमाले मोरङको विवाद चर्किएको छ ।

खानेपानीको निर्वाचनमा पार्टीले उठाएको उम्मेदवारको विरुद्धमा बागी उम्मेदवार उठाएको भन्दै एमाले विराटनगर महानगरपालिकाका अध्यक्ष सागर थापासहित ३ जनालाई पार्टी जिल्ला कमिटिले पदमुक्त गर्दै साधारण सदस्यसमेत निलम्बन गरेको छ ।

एमाले जिल्ला कमिटीले महानगर अध्यक्ष थापासहित उपसचिव नवराज नेपाल र महानगर वडा नम्बर ३ अध्यक्ष लालमणि भट्टराईलाई आज पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरेको हो । यस्तै सोही प्रकरणमा पार्टी जिल्ला कमिटि सदस्य मुकेश बुढाथोकीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

विराटनगरमा रहेको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा अध्यक्ष पदको लागि राम घिमिरे आधिकारीक उम्मेदवार रहेको भन्दै एमाले मोरङले अध्यक्षका अर्का उम्मेदवार लालमणी भट्टराईसहित उनलाई समर्थन गरेको आरोपमा महानगर अध्यक्ष थापा र उपसचिब नेपालमाथि कारवाही गरेको हो ।

यसअघि जेष्ठ १८ गते बसेको एमाले मोरङको बैठकले सो प्रकरणमा छानविन गर्न जिल्ला कमिटि उपसचिब शान्ति लिम्बुको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत सदस्य रहेन गरी समिति गठन गरेको थियो । सो समितिका सिफारिसका आधारमा तीन जनामाथि कारबाही र एक जनालाई स्पष्टीकरण सोधिएको एमाले मोरङका अध्यक्ष बावुराम कार्कीले जानकारी दिए ।

मानगढ खानेपानी आयोजनाको अध्यक्षको लागि जेठ १९ गते भएको निर्वाचनमा एमालेका कार्यकर्ताहरु घिमिरे र भट्टराई अध्यक्षको उम्मेदवार बनेका थिए । घिमिरे करिब तीन दशकदेखि खानेपानी आयोजनाको अध्यक्ष रहेका छन् भने भट्टराई एमाले विराटनगर ३ का अध्यक्ष हुन् । एमाले भित्रको विवादको कारण उपभोक्ता समितिको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । १९ गते मतदान अन्तिम चरणमा पुगेको बेला घिमिरे र भट्टराई समर्थकबीचको विवादका कारण निर्वाचन स्थगति भएको थियो भने विवादको कारण निर्वाचन समितिका सबै जनाले राजिनामा समेत दिइसकेका छन् ।

सो विषयमा उच्च अदालत विराटनगरमा समेत रिट दायर भएको छ । अदालतले निर्वान प्रक्रिया याथास्थीतिमा राख्न आदेश दिदै असार ३ गतेको लागि अर्को पेशी तोकेकोछ । खानेपानी आयोजनाको निर्वाचन प्रक्रिया नै स्थगीत भएको बेला एमालेले कारवाहीको निर्णाय गरेको हो । कारवाहीमा परेका भट्टराई पक्षले भने पार्टीको जिल्ला कमिटिले निर्वाचन अघि कसैलाई पनि आधिकारीक उम्मेदवार भनेर नतोकेले सो विषयमा कारवाही गर्नु हाँस्यस्पद रहेको जनाएको छ ।

एमाले अन्यन्त्र जिल्ला अधिवेशन सम्पन्न गरिसक्दा मोरङमा अझै गर्न सकेको छैन । एमाले मोरङको नेतृत्वमा रहेको पक्षले अधिवेशनमा आफ्नो टिम पराजित भयका कारण अधिवेशन नगरेको र अधिवेशनलाई प्रभावित गर्ने गरी अहिले अवैधानिक रुपमा कारवाहीको निर्णाय गरेको भट्टराई पक्षको आरोप छ ।

शुक्रबार, ०१ असार, २०८१, साँझको ०७:५१ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर