विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट आज सर्वोच्च अदालतका न्यायाधीशहरु कुमार रेग्मी, डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलाशमा परेको छ ।
यसअघि जेठ २७ गते सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तोकिएकोमा हेर्न नमिल्नेमा परेको थियो ।
न्यायाधीश पोखरेलले कोशीका तत्कालीन मुख्यमन्त्री उद्धब थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटामा कानुन व्यवसायीको हैसियतमा थापाको तर्फबाट सर्वोच्चमा बहस गरेको कारण उनले मुद्दा हेर्न नमिल्ने भएपछि आजको लागि पेशी तोकिएको हो । तर, आज पनि हेर्न नमिल्नेमा परेर सुनुवाइ स्थगित हुने संभावना रहेको छ ।
आजको इजलासमा रहेका न्यायाधीश रेग्मी मुख्यमन्त्री हिक्मतकुमार कार्कीका बालसखा हुन् । यसअघि कार्कीले तत्कालिन मुख्यमन्त्री उद्धब थापाविरुद्ध दायर गरेको रिटमा पनि रेग्मीले मुद्दा हेर्न अस्वीकार गरेका थिए । कार्की आफ्नो बालसखा रहेकोले मुद्दा हेर्न अफ्ठेर हुने भन्दै त्यसबेला उनले मुद्दा नहेरेको कारण आज पनि मुद्दाको सुनुवाइ हुने संभावना कम रहेको एक कानुन व्यवसायीले बताएका छन् ।
यसअघि सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरित अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले गत वैशाख २७ गते दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको भएपनि अदालतले अन्तरिम आदेश भने दिएको छैन ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले समर्थन गर्ने सांसदहरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै वैशाख २७ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।
प्रदेशसभाका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका नेकपा एमालेका प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मतसमेत लिइसकेका छन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने एक पटक विश्वासको मत लिएपछि २ वर्षसम्म आफूले विश्वासको मत लिन नपर्ने भन्दै नयाँ सरकार गठनको प्रक्रिया खारेज गरेर आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।