संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरोमा पुरिएर अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन् । उनीहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा भइरहेको छ ।
राति कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएका छन् ।
यसैबीच खाँदबारी–नुम सडक खण्ड अन्तर्गत ठूलोढुंगा अरुणथान ४ किलोमिटर सडक मंगलबार बिहान परेको वर्षाले क्षति पुर्याएको छ । वर्षाले कालोपत्रका लागि गरिएको सवबेस, ग्याविन वाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक योजनाका प्रमुख सविन कोइरालाले जानकारी दिए । कालोपत्र गर्न ठिक्क पारिएको ४ किलोमिटर सडकमा क्षति पुगेको छ ।
यो कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पर्छ । पानीले ठूलो ढुंगा पाङ्मा अरुण थानमा सबैभन्दा बढी क्षति पारेको स्थानीयले जनाएका छन् । त्यस्तै पानीले मकालु गाउँपालिकाको नुममा पनि पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पानीले सडकमा करिब १ करोडको क्षति पारेको अनुमान छ ।