विराटनगर । आफूले उब्जनी गरेको अन्नलाई सुरक्षित राख्न माटो कोठी र जमिन्दार परिवार भएको सन्देश दिने भकारी (ठेक) अचेल करिब विस्थापित भएको छ ।
धान, गहुँ आदि अन्न राख्न सबैभन्दा सुरक्षित भाडोको रुपमा तराई मधेशको ग्रामीण भेगमा माटोको कोठी बनाएर अन्न राख्ने चलन र सम्पनताको सूचकको रुपमा लिइन्थ्यो । किसानको आँगनमा राखिने भकारी (ठेक) अचेल देख्न र सहजरुपमा भेटाउन छाडिएको छ ।
देहातमा किसानहरुले अन्नलाई सुरक्षित रुपमा राख्न माटोको कोठी बनाउने प्रचलन थियो । हनुमाननगरकंकालिनी नगरपालिका ४ का नुनु मण्डलले भने –‘ ग्रामीण भेगमा आगलागी हुँदा बस्ती नै सखाप हुने गरेकाले माटोको कोठीमा राखिएको अन्न सुरक्षित रहन्थ्यो । मंडलका अनुसार भिषण आगजनी हुँदा पनि अन्न जोगिन्थ्यो जसले आगलागीपछि कमसेकम खानका लागि दुःख हुँदैनथ्यो ।
भकारी त जमिन्दार (धनिक मान्छे)ले दलानमा सबैले देख्ने ठाउँमा राख्ने चलन देहात अझै भेटिन्छ । मण्डलका अनुसार पहिले आर्थिक रुपमा देहातमा विपन्नता बढी रहेकाले भकारी (ठेक) मा राखिएको धान लगायतका अन्नलाई जमिन्दारहरुले सवैया वा डेरहामा विपन्न परिवारलाई दिने गरेको चलन थियो ।घरमा अन्नको अभाव झेल्दै आएका परिवारले जमिन्दारलाई सवैया वा ढेरहामा धान दिएर मंसिर महिनामा फिर्ता गर्ने गरिन्थ्यो । अहिले त्यो प्रचलन करिब हराएको मण्डलले सुनाए । अहिले खेतबाट उत्पादन भएको अन्न सिधै काँटामा पु¥याएर बेच्ने गरिन्छ । आफूलाई खानका लागि चाहिनेजति मात्र राख्ने बाँकी बेच्ने चलनले परम्परागत यस्ता पहिचानयुक्त सामग्रीहरु हराउन थालेका हुन् ।
सबै समुदायले मजदुरी गरेर जीविकोपार्जन गर्ने क्रममा बाहिर जाने गरेकाले धान सवैया वा डेरहामा लिने चलन पनि हटेर गएको उनले सुनाए ।
पहिले तराई–मधेशका देहात(गाउँ)का घर–घरमा रहेको माटोको कोठी भकारी हेरेर परिवारको आर्थिक हैसियत र सम्पन्नता अनुमान गर्ने गरिन्थ्यो तर अचेल त्यस्तो अनुमान गर्ने सूचक भेटिदैन ।
खेतबारीमा उब्जेको अन्नपात सुरक्षित भण्डारण गरेर राख्ने माटोको कोठी वा भकारी जति ठूलो हुन्थ्यो ती परिवार त्यति नै धेरै सुखी सम्पन्न रहेको जनमानसले ठहर्याउँथे ।
तराई मधेसका गाउँमा अन्न भण्डारणको लागि बनाइने माटोको कोठी (भकारी) लोप नै भइसकेको विराटनगरका रमेश मेहता बताउँछन् । उनी भन्छन् –‘माटोको कोठी भन्दा प्लाष्टिको भाडो वा ड्राममा अन्न राख्ने चलन आएपछि हाम्रो परम्परागत सीप र सामग्री दुवै हरायो ।’
“तराई मधेशमा छोरी चेलीको वैवाहिक सम्बन्धको कुरा गर्न आउँदा छोरी पक्षले छोरा पक्षको घरमा रहेको कोठी भकारी हेरेर उसको आर्थिक हैसियतको आंकलन गरेर वैवाहिक सम्बन्ध गासिने गरिन्थ्यो तर अब भने न त कोठी भकारी नै छन् न त अब ती प्रचलमै रहे,” महेन्दनारायण ठाकुरले बताए । परम्परा, संस्कृति, कला र साहित्यको अनुपम उदाहरणका रुपमा रहेको विशिष्ट पहिचानयुक्त माटोको कोठी बनाउन उपयुक्त माटोमा भुसालगायतका समग्री प्रयोग गरेर हस्तकलाले महिलाहरुले तयारी पार्ने गरिन्थ्यो ।
माटोको कोठी मिथिला क्षेत्रको परम्परा, कलासंस्कृति, साहित्य र घर परिवारको आर्थिक हैसियत झल्किने माध्यम मात्र थिएनन् ती माटोको कोठी भकारी स्वास्थ्यको दृष्टिकोणले पनि अति उपयुक्त थियो ।माटोको कोठी भकारीमा विषादी नमिसाइ खाद्यान्न सुरक्षित रहने भएकाले स्वच्छ र स्वस्थ्य खानेवस्तुको रक्षाको लागि कोठी अहिले पनि उत्तिकै अनिवार्य देखिन्छ । धान, चामल, गहुँ, दाललगायत खाद्यान्न भण्डारण गर्न बनाइने माटोको कोठी भकारी अति उपयुक्त हुने मानिन्थ्यो । तर, अहिले गाउँ घरमा देखिन छाडेका छन् ।
अन्नपात भण्डारणका लागि घरघरमै बनाइने माटोको कोठीको ठाउँ अब कर्कटपाता तथा प्लाष्टीकका भाँडावर्तनहरुले लिइसकेपछि कोठीको निर्माण हुन छाडेको हो ।
तराई–मधेशमा व्यक्तिको स्वामित्वमा जग्गाको क्षेत्रफल पनि घट्दै गएपछि घरमा भित्रिने खाद्यान्नको मात्रासमेत कमी भएर कोठी बन्न छाडेको ग्रामीण क्षेत्रका किसानहरु बताउँछन् ।
खासगरी हिउँदमा कोठी बनाउने कामको लहर नै देखिने गरिन्थ्यो । “नयाँ पुस्तामा त्यस्तो रौस र लहर नदेख्दा अब पुराना रितिथिति, परम्परा, कला र आफ्नो भन्ने विशेषता नै हराउने चिन्ता बढेको मिथिला कलासंस्कृतिको संरक्षण अभियानमा लागेको विराटनगरमा प्रविणनारायण चौधरीले बताए । मिथिला क्षेत्रकै कला संस्कृति परम्परा र मौलिक पहिचान झल्किने र स्वास्थ्यको लागि समेत अतिउपयुक्त हुने माटोको कोठी भकारी बनाउने कार्यलाई जगेर्ना गर्न कोठी बनाउने तालिमहरु सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।