मनसुनको विपद्बाट जोगिन पूर्वतयारी

 सम्पादकीय

यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि तीन दिन अगावै भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जाने छ । नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना धेरै छ । बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले पूर्व सतर्कता अपनाउनुपर्ने देखिएको छ । मनसुन अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत पानी पर्दछ । मनसुन अवधिमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्छ । कुनै वर्ष त्योभन्दा १० प्रतिशत घटी वा बढी वर्षा भए पनि औसत नै मानिन्छ ।
धानको खेती गर्ने किसान मनसुनको पर्खाइमा छन् । तर, मनसुन किसानको लागि आवश्यक भएपनि यसले विपद् पनि बोकेर ल्याउँछ । हरेक मनसुनमा कहीँ न कहीँ बाढीपहिरो आउँछ, कतै डुबान हुन्छ । बर्खामा जनधनको क्षति हाम्रो नियमित नियति बनेको छ । तर, विपद् रोक्न हाम्रो होसियारी र पूर्वतयारी छैन । गत वर्ष पूर्वी भागबाट भित्रिएको मनसुन देशभर नफैलिँदै ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोले धनजन क्षति गरेको थियो । २०७९ मा जेठ २२ मै मनसुन भित्रिएको थियो । त्यतिबेला पनि मनसुन देशभर नफैलिँदै बाढीपहिरोले जनधन क्षति गर्न थालिसकेको थियो । २०७८ सालमा मनसुनको सुरुवातीताकै सिन्धुपाल्चोकका हेलम्बु र मेलम्चीमा बाढी पहिरोले कैयौंको ज्यान लियो, सयौंलाई उठीबास लगायो । मनसुनको यो प्रवृत्तिले सुरुवातमै विपद् आउने गरेको देखाउँछ । त्यसैले यो वर्षको मनसुन भित्रिन केही दिन मात्र बाँकी रहँदा विपद्कै बेला र विपद्पछिका लागि पर्याप्त तयारी गरिराख्न जरुरी छ ।

नेपालमा भारी वर्षाले केहीबेरमै पहिरो जाने कमजोर भूबनोट भएका क्षेत्र धेरैतिर छन् । जथाभाबी डोजर लगाएर सडक खनिएका कारण पहिरोको जोखिम थप बढेको छ । गत कात्तिकको भूकम्पले सुदूरपश्चिम र कर्णालीका ३ सय स्थानमा धाँजा फाटेको छ । पहाडबाट पहिरो सोहोरिएर नदी–खोलामा बग्दा किनाराका बस्ती बग्न सक्छन् । तराई–मधेशमा डुबानको डर छ । पानीको बहाव छेकिने गरी भारतले पारिपट्टि सडक, रेलमार्ग र बाँध बनाएका कारण सीमावर्ती विभिन्न बस्तीका बासिन्दा बर्खा लाग्नासाथ डुबानको त्रासमा हुन्छन् । यस्तो क्षतिको पूर्वानुमान भए पनि गम्भीर तयार नगर्ने प्रवृत्ति घातक बन्दै आएको छ ।मनसुनजन्य विपद्बाट मानवीय क्षति हुन नदिन प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड दिनुपर्छ । बाढीपहिरोको जोखिम आकलन गरिएको सूचना सम्बन्धित क्षेत्रका बासिन्दाकहाँ पुग्न सक्नुपर्छ ।

बाढीपहिरोको सधैं जोखिममा रहेको बस्तीलाई स्थानान्तरण गर्नुपर्छ । विपद्मा कोही परिहाले तत्काल उद्धार एवं राहत वितरणमा जुट्न सक्ने गरी संयन्त्रहरू तम्तयार राख्नुपर्छ । विपद्बाट विस्थापितलाई जतिसक्दो छिटो पुनःस्थापना गर्ने गरी राज्यले भूमिका निर्वाह गर्नुपर्छ ।

मङ्गलबार, २९ जेठ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page