विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश विकास परिषद्मा विभिन्न क्षेत्रका १५ जना उद्योगी, व्यवसायी र पेशाकर्मीलाई मनोनित गरेको छ ।
कोशी प्रदेश सरकारको जेठ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले परिषद् सदस्यहरु मनोनित गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहरका बिक्रम लुईटेलले जानकारी दिए ।
सरकारले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (छ) बमोजिम प्रदेश विकास परिषद् गठन गरिएको हो । आयोगको उपाध्यक्षमा यसअघि नै झापाका डा.राजेन्द्र अधिकारी नियुक्त भइसकेका छन् भने सदस्यहरु नियुक्त हुन बाँकी छ ।
परिषद्मा भने झापा गौरादहका जितबहादुर कार्की, विराटनगरका उद्योगी महेशकुमार जाजु, नविन रिजाल, झापा दमककी राधिका ओझा, झापा हल्दीबारीका भवानीप्रसाद दंगाल, विराटनगरकी प्रतिभा रिजाल, विराटनगरकै उद्योगी प्रकाश मुन्दडा, संखुवासभाकी बबिता कटुवाल र काठमाडौंका सुयस प्याकुरेल नियुक्त भएका छन् । यस्तै उदयपुर त्रियुगाका रमेशचन्द्र रोका, बुढीगंगा मोरङकी रिता न्यौपाने, सुनसरीका भीमप्रसाद घिमिरे, विराटनगरकै राधा अधिकारी, सर्लाहीका एकचन्द्र बराल र विराटनगरकै टिकाराम पुरीसमेत परिषद् सदस्यमा नियुक्त भएका छन् ।
प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ मा परिषद् गठन सम्बन्धि व्यवस्था छ । उक्त दफा अनुसार परिषदको अध्यक्ष मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु र मन्त्रीको कार्यभार सम्हाल्ने राज्यमन्त्रीहरु, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरु, प्रदेश सभाका समितिका सभापतिहरु, आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रमुख सचिव, प्रदेश सरकार मुख्य न्यायाधिवक्ता, प्रदेश सरकारका सचिवहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरू सदस्य रहने व्यवस्था छ ।
कानून बमोजिम स्थापना भएका संघ वा संस्थाका प्रतिनिधि तथा निजी क्षेत्रलगायत विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुऱ्याएका व्यक्तिहरुमध्येबाट कम्तीमा एकतिहाई महिलासहित प्रदेश सरकारबाट मनोनित १५ जना पनि सदस्य हुने व्यवस्था गठन आदेशमा छ । परिषद्को सदस्यसचिव भने प्रदेश योजना आयोगको सचिव रहने व्यवस्था छ ।
परिषद्को बैठक आगामी असार २९ गते मंगलबार बस्ने तयारी रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । परिषद्को अध्यक्ष मुख्यमन्त्री रहन्छन् ।