विराटनगर । विराटनगर–५ बरगाछीस्थित लाइफ गार्ड हस्पिटलका सञ्चालक रहेका युरोलोजिष्ट डा. इकबाल अहमदले अप्रेशननको नाममा विरामीसँग मनलाग्दी रुपमा रकम असुली गर्ने गरेको पाइएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमबाट अप्रेसनको भुक्तानी लिएपछि चिकित्सक अहमदले विरामीसँग पनि अप्रेसन थ्रेटरभित्रै थप रकम असुली गर्ने गरेको पाइएको हो । मोरङको पथरीशनिश्चरे नगरपालिका –२ नेवार टोलका ६५ वर्षीय लोकबहादु श्रेष्ठ पेट दुखेर पीडा भएपछि गत फागुन ४ गते लाइफगार्ड हस्पिटलमा भर्ना भएका थिए । उनको किड्नीछेउमा पानीको फोका (सिस्ट) रहेको भन्दै अस्पतालका यूरोलोजिष्ट डा.इकबाल अहमदले शल्यक्रिया गर्नुपर्ने सुझाब दिए ।
स्वास्थ्य बीमामार्फत श्रेष्ठले उपचार गर्ने निर्णय गरे । उनको तत्काल ल्याप्रोस्कोपी सर्जरी भयो । बिमामार्फत शल्यक्रिया गरिएको ४६ हजार २८४ रुपैयाँ हस्पिटलले भुक्तानीको लागि दाबी ग¥यो । तर, डा. अहमतले बिमाबाहेक उपचारमा लाग्ने ‘इम्पलान्ट खरिद र टिम व्यवस्थापन’को नाममा थप ४० हजार रुपैयाँ रुपैयाँ असुले ।
लोकबहादुरका कान्छा छोरा भुपाल श्रेष्ठले बाबुलाई अप्रेसन थिएटरभित्र छिराएपछि उपचारमा संलग्न चिकित्सकले थप रकम मागेको बताएका छन् । ‘बुवाको शल्यक्रिया त भयो । तर, सफल भएन । फेरि शल्यक्रिया गर्नुपर्ने भनेका छन्’ उनले भने, ‘त्यसको लागि आउँदो असारको पहिलो हप्ता चिकित्सकलाई देखाउन विराटनगरमा आउँदैछ ।’ बिमाबाट ४६ हजार रुपैयाँ लिएपछि चिकित्सकले ४० हजार रुपैयाँ थप मागेकोमा शल्यक्रिया सफल नभएपछि रकम नदिएको उनले बताए ।
अस्पतालका अरु विरामीका आफन्तबाट पनि डा.इकबाल अहमदले मनपरी तरिकाले रकम असुली गरेको पाइएको श्रेष्ठले बताएका छन । ‘विरामीलाई अप्रेसन थिएटरमा पसाएपछि विरामीका आफन्तलाई चिकित्सक इकबालको टिमले ४० हजारबाट डिल गर्न सुरू गर्ने गरेको देखियो’ उनले भने, ‘त्यसपछि विरामीको आर्थिक अवस्था हेरेर रकम बार्गेलिङ गर्दै थोरैमा १५ हजारसम्म लिएको हामीले देखेका छौं ।’
विरामीका आफन्त भुपाल श्रेष्ठले बिमाबाट र विरामीबाट पनि अस्पतालले दोहोरो रकम असुलिरहेको पाइएको बताएका छन् । आफ्नो विरामी अप्रेशन थिएटरमा रहेकोले रकम दिन आफन्त बाध्य हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ । श्रेष्ठले विरामी लुट्ने चिकित्सक र अस्पताललाई कारवाहीको दायारामा ल्याउनुपर्ने बताएका छन् ।
श्रेष्ठ मात्र हैन, पथरीशनिश्चरे २– की २९ वर्षीया निहा साम्बाको हकमा पनि त्यस्तै घटना भएको पाइएको छ । पेट दुखेपछि श्रीमान सचित गुरूङले पथरी नगर अस्पताल हुँदै उनलाई लाइफगार्डमा ल्याएका थिए । बिमा चल्ने हस्पिटल भनेर उनले पथरी अस्पतालले लाइफगार्डमा रेफर गरिदिएको थियो ।
सचितले श्रीमति निहालाई लिएर ४ फागुनमा लाइफगार्ड ल्याएका थिए । उनलाई हेरेपछि डा.अहमदले किड्नीमा पथरी रहेको भन्दै शल्यक्रिया गर्न सुझाब दिए । ६ फागुनमा उनको शल्यक्रिया भएको थियो ।
\डा. इकबालले चिरेर शल्यक्रिया गरेको भएपनि बिमा भुक्तानी दाबी गर्दा ल्याप्रोसकोपी सर्जरी गराएको कागजपत्र बनाएको थियो । त्यो कुरा सचितले थाहा पाएपछि हस्पिटलले प्राविधिक मिस्टेक भएको भन्दै हातले चिरेको अर्को कागज बनाइदिएको थियो । चिरेर गर्दाको भन्दा ल्याप्रोस्कोपीबाट सर्जरी गर्दा १८ हजार बढी रकम विमामा दावी गर्न पाउने भएकोले अस्पतालले कीर्ते कागजात बनाएको खुलेको छ ।
निहाको शल्यक्रिया वापत १५ फागुनमा बीमा बोर्डबाट अस्पतालले २८ हजार २८४ रुपैयाँ भुक्तानी लिएको छ । त्यति मात्र नभएर डा.अहमतले सचितसँग थप १५ हजार रुपैयाँ लिएको खुलेको छ । ‘बिमाबाट अप्रेसनको रकम लिएपछि पनि थप ३० हजार रुपैयाँ सुरुमा टिम चार्ज भन्दै मागेको थियो’ उनले भने, ‘अप्रेसन हुँदा विभिन्न चार वटा समाग्री आफैं लिएर गएपछि १५ हजार फिर्ता गरिदियो ।’
बीमाबाट पनि अप्रेसनको चार्ज लिने र त्यसपछि विरामीबाट रकम असुली गर्ने लाइफगार्ड अस्पतालले विरामीले बुझाएको रकमको भने बिलसमेत दिएको छैन । विरामीलाई शल्यक्रिया कक्षमा छिराएपछि असुलेको रकमको विल नै नदिएको सचितले बताएका छन् ।
पथरीशनिश्चरे २ का ४० वर्षीया धनेश्वरी लिम्बूको समस्या निहाकै जस्तो थियो । उनको गत वर्ष साउन १२ गते लाइफगार्ड हस्पिटलमा दुरफिनबाट शल्यक्रिया गरेर डा.अहमदले पथ्थरी झिकेका थिए । त्यसवापत उनले बीमाबाट स्वास्थ्य उपचारको रकमसँगै थप ३० हजार रुपैयाँ लिएको धनेश्वरीका श्रीमान मानबहादुर गुरुङले जानकारी दिए ।
‘सुरुमा ३६ हजार मागेको थियो, म आफैं अपाङ्गता भएको व्यक्ति भनेपछि ६ हजार छुट गरेर ३० हजार रुपैयाँ लियो’ उनले भने, ‘भनेजति पैसाँ दिएन भने उपचार हुँदैन भन्दै पठाउने डरको कारण थप पैसा बुझाउन बाध् भएँ ।’ अस्पताल प्रशासनमा अप्रेसनको नाममा डा.अहमदले रकम असुलेको गुनासो पुगेपनि सुनुवाइ नभएको पीडितले बताएका छन् । त्यसैले यो प्रकरणमा अस्पताल नै संलग्न रहेको देखिएको छ ।
स्वास्थ्य विमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पन्डितले स्वास्थ्य उपचारको नाममा दोहोरो रुपमा शुल्क लिन नमिल्ने बताएका छन् । स्वास्थ्य बीमाबाट पनि भुक्तानी लिने र विरामीको आफन्तबाट पनि रकम लिनेलाई लिखित उजुरी वा गुनासो आएमा छानविन गरेर कारवाही गरिने उनको भनाइ छ ।‘उजुरी आएको खण्डमा हामीले छानविन गर्नेछौं र कारवाही गर्नेछौं’ उनले भने, ‘स्वास्थ्य नियमवालीमा २४ घण्टाभित्र सम्बन्धित अस्पताललाई पत्र काटेर कारवाहीको प्रक्रिया अगाडि बढाउने अधिकार स्वास्थ्य विमा बोर्डलाई रहेको छ ।’ अस्पतालका युरोलोजिष्ट डा.अहमदले भने विरामीसँग इक्युमेन्ट र इम्पलान्टबाहेक अरु कुनै पनि नाममा पैसा नलिएको जिकिर गरेका छन् ।
फोटो