पुण्य पी अधिकारी
पृथ्वीको सबैभन्दा चेतनशील प्राणी मानव अहिले वातावरणीय र जालवायु परिर्वतनको चपेटमा आइपुगेको छ । मानव सभ्यता सुरूआत भएयता मानिसले आर्थिक समृद्धिका लागि आवश्यकता भन्दा बढी प्राकृतिक स्रोतसाधनको दोहन गर्दा समस्या दिनानुदिन बढ्दै गएको छ । अचेतनशील प्राणीले पनि आफ्नो वासस्थान कुनैपनि हालतमा सुरक्षित राख्न कोसिस गरेको देखिन्छ ।
तर, पृथ्वीकै सबैभन्दा चेतनशील प्राणी मानिस, आज वासस्थान उच्च जोखिममा पारेर वातावरणीय र जलवायु परिर्वतनका कारण पिरोलिन थालेको छ । जेठ २३ अर्थात् जुन ५ मा संसारभर विश्व वातावरण दिवस मनाइएको छ । संसारका अधिक मान्छे सहभागी भएर मनाइने यो दिवस, मानिसले आफ्नो घर रक्षाका लागि पृथ्वीको रक्षा गर्नुपर्ने आशयले मनाइने गरेको छ ।
नेपालमा पनि ठुल्ठूला सेमिनार र कार्यशाला विश्व वातावरण दिवसका अवसरमा आयोजना गरिएका छन् । सरकारी र गैरसरकारी संस्थाले पृथ्वीको बचाऊ लागि ठूलो धनराशी खर्च गरी विश्व वातावरण दिवस मनाउँदै आएका छन् । तर आदत र बानी व्यवहारमा परिर्वतन नगर्ने मानवीय स्वभावका कारण विश्व दिनप्रतिदिन मरूभूमीकरणमा परिर्वतन भइरहेको छ ।
प्रकृतिको अत्यधिक दोहन गरी विश्वका धनी र विकसित राष्ट्रले उच्च मात्रामा कार्वन उत्र्सजन गर्दा नेपालजस्ता विकासशील राष्ट्र वातावरणीय र जलवायु परिवर्तनको उच्च मारमा परेका छन् । समृद्धि र वातावरणमा परेको मूल्यका लागि सन् २०१५ मा गरिएको एउटा रिसर्च अनुसार विश्वमा अहिले प्रतिदिन ४ करोड २० लाख ओटा रूख वा विरूवा काटिने गरेको छ । पृथ्वीमा भएका बोटविरूवा मध्ये मानिसले समृद्धिका लागि भनेर ४६ प्रतिशत बोटविरूवा काटिसकेका छन् ।
रेनफोरेष्ट फाउण्डेशनको सन् २०१५ को रिसर्च अनुसार मानवीय अतिक्रमणका कारण अब विश्वमा वर्षा गराउने जङ्गलको प्रतिशत केवल ३६ प्रतिशत मात्र बाँकी छ ।
मानवले समृद्धिको लागि तय गरेका विभिन्न खनिजजन्य पदार्थको उत्तखनन तथा प्रयोगले पृथ्वीको वातारणीय सन्तुलन विग्रदो क्रममा छ । विश्वका विकसित राष्ट्रले आफूले वन सम्पदाको संरक्षण नगरी अधिक मात्रामा दोहन गर्दा त्यसको प्रभाव विश्वभर पर्न थालेको छ ।
एक ओटा विरूवा काट्दा त्यस वापत १० ओटा विरूवा रोप्नुपर्ने मान्यता मानव स्वयम्ले पालना नगर्दा मानिसका लागि आफ्नै घर प्रतिदिन अप्रिय बन्न थालेको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानीका हिसाबले काठमाण्डौमा मानवीय स्वास्थ्यमा नयाँ किसिमका जटिलता थपिने क्रम बढ्दै गएको छ ।
वातावरण संरक्षणमा ध्यान नदिँदा र तीव्र रूपमा गरिएका विनाशका घटनाले हाम्रो देशमा प्रत्येक वर्ष प्राकृतिक प्रकोपमा घटनाहरू बढ्दो क्रममा छन् । आगामी केही दिनमा सक्रिय हुने मनसुनमा कारण कोशी प्रदेशमा सबैभन्दा बढी विपद्को सामना गर्नुपर्ने मौमसविद् तथा वातावरण विद्हरूको भनाइ छ । विश्वमा वातावरण तथा जलवायु परिर्वतनका कारण साना तथा गरिब राष्ट्रहरूले व्यहोर्नु परेको क्षतिका विषयमा विश्वस्तरमा हुने ठुल्ठूला सभा र सम्मेलनमा वातावरण र जलवायु परिर्वतनको संशयमा मुलुक पुगेको विषयमा अव राष्ट्रले टड्कारो रूपमा उठाउन आवश्यक छ ।