कंक्रिट संरचनाले सुक्दै सिमसार

विराटनगर ।  केही वर्ष अगाडिसम्म मोरङको सुन्दरहरैचा ८ मा रहेको भुल्के सिमसार क्षेत्रमा नुहाउने मान्छेको भीड लाग्ने गरेको थियो । त्यहाँ जरुवा पानीका तीन वटा धाराहरू थिए । जमिन मुनि बाट आएको पानी चिसो हुने गरेकाले पनि त्यहाँ नुहाउने र खानेपानी लिन आउनेका भीड लाग्ने गरेको थियो । तर, अहिले ती धारमा पानी आउँदैन । पानीको सतह पनि ह्वातै घटेका कारण सिमसारमा पनि माटो देखिन थालेको छ । धरामा पानी आउन छाडेपछि मान्छेको भीड पातलिएको स्थानीयले बताएका छन् । महिना दिन अगाडिसम्म एउटा धारामा पानी आएपनि पोखरी संरक्षणका लागि भनेर डोजर चलाएपछि पानीको स्रोत घटेको सुन्दरहरैचा ८ की गीता पराजुलीले बताइन् ।

‘यहाँको पानी चिसो थियो,’ उनले भनिन् ‘छङछङ बग्ने धारामा जरुवा पानीबाट पानीमा नुहाउँदा मजा हुन्थ्यो । अहिले त ती दिन सम्झने पानी छम्कने जस्ता भएको छ ।’ पानीको संरक्षणका लागि भनेर पोखरी खन्न डोजर लगाएपछि झनै पानी घट्दै गएको स्थानीयको भनाइ छ ।

यस्तो समस्या भुल्के सिमसार मात्र नभएर तराइका अधिकांश सिमसार क्षेत्रमा छन् । अधिकांश सिमसारको पानी सुक्दै गएको छ । प्राकृतिक पोखरीहरूमा पानीको स्रोत घट्दै जान थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् । प्राकृतिक पोखरीहरूमा पानी घट्दै जानु चिन्ताको विषय भएको वातावरण क्षेत्रका जानकार इरान राई बताउँछन् । ‘पछिल्लो समय जतासुकै पानीको स्रोत घट्दै गएको छ’ उनले भने ‘यसमा सबै भन्दा बढी दोषी हामी मानिस नै हौं ।’ प्रकृतिलाई नै असर हुनेगरी भएको खोलाको दोहन, वनस्पतिहरू रोप्नेभन्दा धेरै काटिनु र सिमसार क्षेत्रमा सिमेन्ट, बालुवा र ढुगा गिटी प्रयोग गरेर संरचना बनाउनुले पनि असर गरेको उनी बताउँछन् ।

मोरङको बेलबारी नगरपालिका ४ मा रहेको बेतना सिमसारमा रहेका प्राकृतिक पोखरीबाट सिचाइ गर्नेहरू अहिले समस्यामा छन् । बेतना सिमसारबाट यसअघि आसपासको ठूलो क्षेत्रफलमा सिचार्इं हुने गरेको थियो । वन विनाश र खनिज पदार्थको अत्यधिक दोहनले प्राकृतिक पोखरी सुक्न थालेकोले सिमसारमा पानीको स्रोत कम भएको छ ।

मोरङको विराटनगरमा रहेको स्नातकोत्तर क्याम्पसका प्राणीशास्त्री उपप्राध्यापक रामचन्द्र अधिकारी जलवायुको परिवर्तनदेखि मानवीय गतिविधिका कारण यसको असर परेको बताउँछन् । पहिलो कारण भने जलवायु परिवर्तन नै भएको उनले बताए । ‘जलवायु परिवर्तन हुँदा वर्षा हुने क्रम अनियमित हुन्छ,’ उनले भने ‘वर्षा अनियमित भएपछि यसको असर परिहाल्छ ।’ भूमिगत पानीको अत्यधिक दोहनका कारणले पनि असर गर्ने उनी बताउँछन् । भूमिगत पानीलाई सिचाईंका लागि तानेर प्रयोग गर्ने गरेकाले पनि पानीका स्रोतहरू सुक्दै जाने उनको भनाइ रहेको छ । ‘सिमसारहरूलाई डेकुरेशन गरेर पर्यटकीय क्षेत्रकारुपमा विकास गर्ने प्रचलन तछाड मछाड गरेर विकास भइरहेको र त्यसको लागि क्रंकिट संरचनाहरू धमाधम बनाउँदा तलबाट आउने पानीको मुहानहरू सुक्न थालेको छ’ उनले भने, ‘वकास निर्माणको काम ह्याभी इक्वीपमेन्टहरु प्रयोग गर्ने गर्दा तिनले थिचेर पनि पानीका स्रोतहरू भासिएर सुक्ने अवस्था छ ।’ लामो समयसम्म वर्षा नहुनुका साथै चर्काे गर्मी तथा तातो हावाले पानीको स्रोतलाई सुकाउने गरेको छ । सिमसार क्षेत्रमा मानवीय गतिविधि नरोके पर्यावरणमा असर गर्ने उनले बताए ।

आइतबार, २० जेठ, २०८१, बिहानको ०७:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर