लोड हुँदैछ...

मेनु

उत्तराधिकारी व्यावसायिक पुस्ता : विदेशमा पढे, स्वदेश फर्किएर विरासत थाम्दै

उत्तराधिकारी व्यावसायिक पुस्ता : विदेशमा पढे, स्वदेश फर्किएर विरासत थाम्दै

विदेशमा उच्चशिक्षा हासिल गरी नेपाल फर्किएर व्यवसायमा हात हाल्ने कमै मान्छे होलान् ! विदेशमा पढ्ने–बस्ने क्रममा त्यहाँको आर्थिक क्षमता, सुविधा र सहज जीवनले लोभिएकाहरू नेपाल फर्किएर व्यापार–व्यवसायमा हात हाल्नु जोखिमपूर्ण मान्छन् । हुन पनि हो, मुलुकमा विद्यमान राजनीतिक ‘गञ्जागोल’ व्यापार–व्यवसायका लागि मुख्य अवरोध वा चुनौती ठानेर विदेश पलायन हुने युवाहरूको कमी छैन । तर, उद्योगहरू धरायसी बनेपछि उद्यमशीलता पलायन भइरहेको अनपेक्षित पृष्ठभूमिमा केही युवापुस्ता भने पिता–पुर्खाको उत्तराधिकारी बनेर ‘कम्पनी’ हाँकिरहेका छन् । औद्योगिक नगरी विराटनगरका केही युवा जसले पारिवारिक विरासत मात्र थाम्दै छैनन्, नयाँ संकल्पसहित अगाडि बढ्दैछन् ।

प्रतीक राउत

विगत चार दशकअघि उद्योग क्षेत्रमा प्रवेश गरेका विराटनगरका उद्योगी राजेन्द्र राउतका जेठा छोरा हुन्, प्रतीक । भारतको बैंग्लोरस्थित जैन युनिभर्सिटीबाट एमबिए सकेर सन् २०१५ मा स्वदेश फर्किएका प्रतीक पछिल्लो ६ वर्षयता बुबाको उद्यमशीलतामा सँगसँगै छन् । अहिले शिवम् अर्गनाइजेसन हाँकिरहेका ३३ वर्षीय प्रतीक भन्छन्, ‘सानै उमेरदेखि बुबाले मलाई स्वदेशमै केही गर्न भन्दै प्रेरित गर्नुहुन्थ्यो । शिक्षा जहाँको लिए पनि नेपालमै उद्यम–व्यवसाय गर्न सुझाउनुहुन्थ्यो । यसैले म त्यहाँका अनेक सुबिधा छोडेर यहाँ आएको हुँ ।’

प्रतीकको विचारमा नेपालमा व्यवसाय गर्नु भनेको चुनौती र अवसरको खेल हो । यसै कुरालाई मध्यनजर गरेर प्रतीक हाल काठमाडौंमा पाँचतारे होटल बनाउँदै छन् भने विराटनगरमा २५० करोडको लगानीमा अस्पताल निर्माण गर्दैछन् । पाँच सयभन्दा बढीलाई रोजगारी दिएका राजेन्द्र राउतको दुःख–सुख, संघर्ष र उतारचढावका साक्षी हुन्, प्रतीक र उनका भाइ प्रनिश । सानै उमेरदेखिको पारिवारिक माहोल पनि मिलेका कारण उनीहरू दुवै उत्तराधिकारी व्यावसायिक पुस्ता बनेका छन् ।

एकता गोल्छा

एकता गोल्छा राजनीतिक घराना गोल्छा परिवार (गोल्छा अर्गनाइजेशन) का सफल उद्यमी राजकुमार गोल्छाकी सुपुत्री हुन् । गोल्छा परिवार नेपालको उद्योग–व्यापारलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएको परिवार हो । जुन सिंगो परिवार लामो समयदेखि नेपालको उद्योग–व्यापारमै समर्पित छ ।

त्यसमध्ये जुट उद्योगमा उल्लेख्य सफलता हात पारिरहेका राजकुमारकी छोरी एकता लन्डनको अक्सफोर्ड युनिभर्सिटीबाट मास्टर्स सकेर आफ्ना बुबालाई सघाउन स्वदेश फर्किएकी हुन् ।
एकतासँग अहिले आफ्नै सफ्टवेयर कम्पनी छ, ‘डेल्टा टेक’ नामक । नेपालमा उद्यमशीलताका लागि अवसरै–अवसर देख्ने एकताको एउटा सिद्धान्त छ, ‘नेपालमा केही गर्न नसक्नेले अन्त गएर केही गर्न सक्दैनन् ।’

विदेशमै उद्योग–व्यवसाय चलाउन सक्ने खुबी बोकेकी उनी नेपालमै आफ्नो पढाइ र अनुभवअनुकूल कम्पनी खोल्ने योजना बुनेर सन् २०१६ मा स्वदेश फर्किएकी थिइन् । दुई वर्षजति बुबाको उद्यमशीलतामा हातेमालो गरेकी थिइन्, एकताले ।

उमेरले ३५ पुगेकी एकताले नेपालमा व्यावसायिक हुन बाँकी र जोखिमपूर्ण क्षेत्र मानिने आइटी क्षेत्रमा हात हालेकी छन् । उनले सन् २०१६ सुरु गरेको डेल्टा–टेक आइटी कम्पनीसँग अहिले नेपालसँगै भारत, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया र अफ्रिाकाका देशका नामी उद्योगहरू जोडिएका छन्, जसले उनलाई आफ्नै पहिचानसहित सफलताउन्मुख गराइरहेका छन् । २० जनाभन्दा बढी त उनकै कम्पनीबाट रोजगार भएका छन् ।

सगुन बोहोरा

प्राथमिक पढाइसँगै उच्च शिक्षा पनि विदेशमा सकेका सगुन बोहोरा विदेशको सुविधामा पल्किएनन् । उमेरले २८ पुगेका सगुनले मुम्बईस्थित मिठीबाई युनिभर्सिटीमा बिएमएस सकिएपछि लन्डन पुगेर मास्टर्स गरेका छन् । लिडरसिपमा २८ मध्ये छानिएका दुई विद्यार्थीमा एक बनेका थिए, सगुन ।

सोही उत्प्रेरणा लिएर खटिएका सगुनले बोहोरा ग्रुपको नेतृत्वमा आफ्ना बुबा अभिनाष बोहोरालाई सघाउन थालेको चार वर्ष भयो । यो समयमा उनले धेर–थोर ज्ञान हासिल गरेका छन् । उनको चिन्ता युवा जनशक्ति विदेश पलायन हुनुमा छ । सगुन भन्छन्, ‘देशमा रोजगारी सिर्जना गर्न हामी तल्लीन छौं । तथापि, हाम्रो मात्र जोश जाँगरले हुँदैन, युवा जनशक्ति यहीँ अड्याउन अरू निकाय गम्भीर हुनैपर्छ ।’

खाद्यान्न उद्योग, कृषि उद्यम, निर्यात व्यापार र कन्ट्रक्सनतिर मात्र नभएर वित्तीय क्षेत्रमा पनि लगानी गरेको बोहोरा ग्रुपले हालै अन्तर्राष्ट्रिय बजारमा आफ्नो सफ्टवेर बिक्री गर्ने काम थालेको छ । नेपालमा बनेको उक्त सफ्टवेयर अमेरिका, अस्ट्रेलिया, क्यानडाका केही कम्पनीले चलाउन थालेको सगुन बताउँछन् । करिब ८५० जना कर्मचारी र सयौं मजदुर बोहोरा ग्रुपमा जोडिएका छन् । जसका कारण सबै क्षेत्रमा सफलता हासिल गर्न सफल भएको भन्दै श्रेय दिन्छन्, उनी ।

डेनिस कार्की

स्वाथ्य क्षेत्रमा लगानी गरेर नागरिकमा स्वास्थ्यको पहुँच बढाउनमा केन्द्रित एउटा नाम हो, डेनिस कार्की । वरिष्ठ स्त्री तथा तथा प्रसूति रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्कीका जेठा सुपुत्र कार्कीले हालै मात्र मोरङको बूढीगंगामा चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएका छन् ।

अस्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरेका ३६ वर्षीय डेनिसले विराट टिचिङ हस्पिटल र विराटनगर नर्सिङ होम गरी दुई अस्पतालको नेतृत्व गरिरहेका छन् । त्यसबाहेक स्वास्थ्य सामग्री उत्पादन गर्ने विराट हेल्थ केयर पनि चलाइरहेका उनी भन्छन्, ‘विदेश पढेर पनि उताको लोभ लागेन । बुबा यहाँका नागरिकलाई स्वस्थ बनाउन कम्मर कसेर लाग्नुभयो । त्यही लयमा हामी छौं । यसमा खुसी लाग्छ ।’ डेनिस सन् २०१३ मा विदेशबाट नेपाल फर्किएर बुबाको काममा हात अगाडि सारेका थिए । डेनिसमात्र नभएर उनका भाइ–बहिनी पनि नागरिकलाई सुलभ स्वास्थ्यसँग जोड्न लागिपरेका छन् । करिब २ हजार जनालाई रोजगारी दिन पाएकोमा गर्व महसुस गर्छन्, डेनिस ।

आशिष जाजु

गएको सात वर्षयता अनवरत रूपमा बुबा महेशकुमार जाजुलाई उद्यमशीलतामा सघाउँदै आएका छन्, आशिषले । एसियन थाई फुडको मार्केटिङको पाटो सम्हाल्दै आएका ४१ वर्षीय आशिष सानैदेखिको रुचि अनुसार व्यवसायमा सक्रिय छन् ।

सन् २००५ तिर विशाखापट्नामबाट कमर्समा ‘आइकम’ सकेका आशिषले पछि पुनेस्थित एसआइएमबी युनिभर्सिटीबाट ‘बिकम’ सके । सन् २००७ देखि ‘फेमिली बिजनेस’ सम्हाल्दै आएका आशिष् भन्छन्, ‘मार्केटिङ–एड्भरटाइजिङमा सानैदेखि चाख लाग्थ्यो, यी कुरा सिक्न म एक समय काठमाडौंमा बसेको थिएँ । बिजनेसमा आइडिया लिन नेपालबाहिर रहेर पढेँ ।’

राम्रोसँग बुझेर–पढेर उद्योग–व्यवसायमा होमिनेहरू सफल हुने आशिषको तर्क छ । त्यसबाहेक रोजगारीकै लागि विदेश पलायन हुनुपर्ने विषयलाई लिएर उनी पनि चिन्तित छन् । ‘मेरो बुबा उद्योग क्षेत्रमा प्रवेश गर्दा पूर्ण जानकार हुनुहुन्थेन होला !,’ उनी भन्छन्, ‘हामीले पढ्ने–बुझ्ने मौका पायौं र नयाँ आइडियाका साथ काम गर्न सफल भयौं । तर, अहिले यसबारे पढ्ने जनशक्ति यहाँ अडिन सकेनन् । त्यो वातावरण नेपालमा भएन । अति नै दुःख लाग्छ ।’ पाँच सयभन्दा बढी स्टाफ र एक हजारको हाराहारीमा दैनिक मजदुरको आर्थिक उपार्जनमा सघाउ पु¥याउन पाएकोमा आफूहरू खुसी रहेको आशिष् सुनाउँछन् ।

सौरभ सारडा

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्षसमेत रहेका उद्योगी पवन सारडाका जेठा छोरा सौरभ लामो समयदेखि बुबालाई उद्यमशीलतामा सघाउँदै आएका छन् । ३७ वर्षीय सौरभ अहिले प्रिमियर वायर र प्रिमियर स्टिलका मालिक छन् । यो स्थानसम्म आइपुग्न सौरभले थुप्रै कुरामा ज्ञान हासिल गर्नुप¥यो । ‘फेमिली बिजनेस हाँक्न सजिलो हुन्छ भन्ने भ्रम अरूमा छ, तर मैले यहाँसम्म आइपुग्न पढेको छु, ट्रेनिङ लिएको छु,’ उनी भन्छन्, ‘कम्पनीका सबै डिपार्टका म्यानेजरसँग चार वर्षको समय खर्चिएर बिजनेस आइडिया लिएको छु ।’

प्रारम्भिक चरणको शिक्षा देशमै बसेर लिएका सौरभले सन् २०११ मा दिल्ली स्कुल अफ इकोनोमीबाट ग्राजुएसन सकेका थिए । त्यसपछि नेपाल फर्किएका उनले सोही वर्षबाट सिक्ने क्रम थाले, मार्केटिङ बुझे, सेल्सबारे विज्ञता हासिल गरे । अहिले पनि अनेक चुनौतीकाबीच उद्योग चलाइरहेको बताउने सौरभ भन्छन्, ‘नेपाली उद्योगका समस्या थुप्रै छन् । विश्वव्यापी आर्थिक मन्दीका अलावा खुला सीमाको समस्या, जनशक्ति अभाव, कच्चा पदार्थ आयातको महंगो भन्सार महसुल । स्थिर सरकारको अभावका कारण यी सबै समस्या समाधान हुन नसक्दा व्यापार–व्यवसायतिर आकर्षण बढ्थ्यो । तर, सबै समस्या देखेर युवा पुस्ता विदेश जानेको लाइनमा मिसिए ।’

सारडा ग्रुपअन्तर्गत अहिले १५ वटा उद्योग छन्, त्यहाँ आठदेखि १० हजारसम्मले रोजगारी पाएका छन् । ‘रोजगार बढाउने ध्याउन्नमा त हामी छौं,’ उनले थपे, ‘तर, अपेक्षानुरूप भएको छैन । शिक्षालयमै विदेश जानेगरी ब्रेन वास हुँदा युवा यहाँ अडिन सकेनन् । युवा जनशक्तिसँगै हाम्रा उपभोक्ता पनि विदेशिए ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।