विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विराटनगर चक्रपथ र सुन्दरहरैंचामा मेडिकल कलेज खोल्नका लागि बजेट व्यवस्था गरिएको बताएका छन् ।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भाषणमा छुटेको भएपनि आवश्यकता र स्थिति कोशीमा बजेट दिइएको बताए ।
‘कोशी प्रदेशलाई आवश्यकता र स्थिति अनुसार पर्याप्त बजेट दिइएको छ । कोशीलाई अलिक कम भयो भन्ने सही होइन’ उनले भने, ‘वक्तव्यमा जति आएको छ, त्यति मात्रै पनि होइन । विराटनगर चक्रपथको कुरा र मेडिकल कलेज खोल्ने विषय सम्बोधन भएको छ ।अरु पनि थुप्रै आयोजनाहरु परेका छन् ।’
यसअघि प्रदेश सरकारको मातहतमा आएको विराटनगर चक्रपथ निर्माणको काम नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको दबाबमा संघमै फिर्ता गरेर अलपत्र बनाइएको थियो । त्यसपछि मोरङको क्षेत्र नं. ६(१) का प्रदेशसभा सदस्य जीवन आचार्यले चक्रपथको लागि पहल गर्दै आएका छन् । उनकै पहलमा आगामी आर्थिक वर्षको लागि चक्रपथको लागि १० करोड बजेट बिनियोजन भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । रिङरोड निर्माण सुरु भएपछि थप २० करोड बजेट व्यवस्था गर्न सकिनेगरि स्रोत सुनिश्चितता गरेको बताइएको छ ।
सुरु भएको २६ वर्षसम्म विराटनगर चक्रपथको निर्माण भने अलपत्र छ । सो आयोजनामा २०७५ सालमा संघीय सरकारले कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । त्यसपछि प्रदेश सरकारले काम अगाडि बढाउन लागेको बेला प्रदेश सांसद आचार्यले जस पाउने त्रासमा काँग्रेस नेता डा. कोइरालाले तत्कालीन अर्थमन्त्री डा.प्रकासशरण महतलाई दबाब दिएर आयोजना नै संघमा फिर्ता लगेका थिए ।
आयोजना फिर्ता गर्ने निर्णय गरेपछि विराटनगर चक्रपथ निर्माणको काम पुनः अनिश्चित बनेको बेला प्रदेश सांसद आचार्यले आयोजना निर्माणको पहल लिएका थिए । आचार्यकै पहलमा विराटनगर चक्रपथ निर्माण र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल अस्पताल निर्माणका लागि संघीय सरकारले बजेट विनियोजन गरेको हो ।
विराटनगर महानगर, कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिकालाई समेट्ने चक्रपथको महत्व कोशी प्रदेश र विराटनगरलाई जति संघ र काठमाडौंलाई थाहा नहुने भन्दै आचार्यले राजनीतिक दाउपेचको कोपभाजनमा आयोजना परेको बताएका थिए । आचार्यले निर्वाचनको बेलादेखि नै महत्वका साथ रिङ रोडको मुद्दा उठाउँदै आएका थिए ।
विराटनगरमा ४२ किलोमिटरको चक्रपथको तीन किलोमिटर क्षेत्रमा अझै ट्र्याक खुलाउन बाँकी छ । तत्कालीन योजना तथा भौतिक यातायातमन्त्री विजयकुमार गच्छदारले २०५४ सालमा शिलान्यास गरेको चक्रपथ २६ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
सडक आसपास व्यवस्थित शहरी बस्ती विकासको योजनासहित स्थानीयबासीबाट मुआब्जाविना नै ल्याण्ड पुलिङ गरी सडक निर्माण अगाडि बढाइएको आयोजना निर्माणका लागि मात्रै २११ बिघा जग्गा आवश्यक पर्छ । त्यसका लागि आवश्यक जग्गा सर्वसाधारणबाट निःशुल्क रूपमा प्राप्त हुने भएपनि चक्रपथका लागि पर्याप्त बजेट विनियोजन नहुने र बजेट विनियोजन गर्दा राजनीतिक तानातानमा पर्ने हुँदा यो आयोजना अगाडि बढ्न सकेको छैन ।
उता गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज सञ्चालनको लागि अस्पताल निर्माण गर्न १५ करोड रुपैयाँ आगामी वर्षको लागि विनियोजन भएको अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले यसअघि विश्वविद्यालययमा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरिसकेको छ । त्यसकै लागि अस्पतालको पूर्वाधार निर्माण गर्न बजेट बिनियोजन भएको हो ।