विराटनगर । नेपाल–चीनको सिमानामा पर्ने संखुवासभाको किमाथाङ्का र ताप्लेजुङको टिप्ताला नाका शनिबारदेखि खुल्ने भएको छ । दुबै नाका कारोना महामारीयता बन्द थिए ।
विराटनरगको रानी भन्सार नाका हुँदै संखुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्ग हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले शनिबार देशका उत्तरतर्फका १४ वटा नाका खुलेको घोषणा गर्न संखुवासभाको किमाथाङ्का पारिपट्टी चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने छेम्दाङमा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
नाका खुलाउन स्थानीय तहमा धेरै प्रयास भएपनि सार्थकता पाउन सकेको थिएन । ‘स्थानीय प्रयासले सार्थकता नपाइरहेको अवस्थामा संघीय सरकारको प्रयत्न पछि एकैपटक १४ वटा व्यापारिक नाकाहरु खुल्न लागेका हुन्,’ प्रमुख जिल्ला अधिकारी खड्काले भने । कार्यक्रम हुने स्थान नेपालको सिमाक्षेत्रबाट पैदल १५ मिनेट हिँड्ने र पुनः १५ मिनेट गाडीमा जानुपर्ने खड्काले बताए ।
नेपालको सिमा क्षेत्र किमाथाङ्कासम्म भने चीनले पनि बाटो जोडेकोे छैन । यद्यपि भन्सार कार्यालय भने चीनले स्थापना गरेको छ ।
कोरोना कालदेखि बन्द भएका देशका उत्तरतर्फका १४ वटै नाका खुलेको घोषणा भने संघीय सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्नेछन् । त्यसका लागि परराष्ट्रमन्त्री श्रेष्ठसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कोशी प्रदेशका स्वास्थ्यमन्त्री तथा सो क्षेत्रका प्रदेश सांसद राजेन्द्रकुमार कार्कीसहितको टोली त्यहाँ पुग्नेछ ।
काठमाडौंबाट उपप्रधानमन्त्रीसहितको टोली जहाजबाट तुम्लिङटार जाने र त्यहाँबाट हेलिकप्टरबाट जाने प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए । किमाथाङ्कासम्म पुग्ने सडकको ट्र्याक खोल्न नेपालतर्फबाट अझै २ किलोमिटर बाँकी छ । उक्त ट््याक खुल्ने हो भने नियमित भन्सार सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
किमाथांका चीनसँग नेपाललाई जोड्ने कम उचाईको र छोटो दुरीको नाका हो । रसुवाको नाका ५ हजार ७ सय मिटरको उचाईमा छ भने किमाथाङ्का नाका २ हजार ६ सय मिटरको उचाईमै छ । नेपालबाट शनिबारदेखि नै चीनतर्फ सामान निर्यात पनि सुरु हुनेछ ।
अहिले पनि अनौपचारिक रुपमा त्यस किमाथांका (भोटखोला गाउँपालिका)का जनताले उपभोग्य सामानहरु त्यहाँबाट ल्याउने गर्छन् । तर, औपचारिक रुपमा भने कोरोना कालदेखि सामान ओसारपसार गर्न बन्द गरिएको थियो ।
सो क्षेत्रमा सिमामा दिइने इमिग्रेसन सेवा छैन । तर, स्थानीयलाई अनुमतिपत्र प्रदान गरिन्छ । परिचयपत्र दिने हिसावले एक जना कर्मचारी सिमा प्रशासनको लागि खटाएको प्रजि खड्काले बताए ।
कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द गरेको थियो । नाका बन्द हुँदा त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको थियो भने नाका खुल्ने भएपछि त्यहाँका बासिन्दालाई सहज हुने भएको छ । त्यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्न पाउनेछन् ।
भोटखोलाबासीलाई तिब्बत प्रवेश गर्न स्थानीय स्तरमा अनुमतिपत्र पनि वितरण सकिएको छ । किमाथाङ्का बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महंगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो ।
भोटखोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब १६२ किलोमिटर टाढा पर्दछ । किमाथाङ्का स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । करिब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन ।
किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।
उता ताप्लेजुङको टिप्ताला नाका भने शुक्रबारदेखि नै खुला गरिएको छ । नाका खुलेसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन् । उनीहरुले नेपालमा उत्पादित गलैँचा, दूधजन्य पदार्थ घ्यू, छुर्पीलगायका सामग्री लगेका छन् । उनीहरु करिब १० दिनसम्म तिब्बतमा रहनेछन् ।
गत वैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको एक टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीसँगको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो । चीनतर्फबाट तयारी पूरा गरेर नाका खुलाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने ११५ जनाले तिब्बत प्रवेशका अनुमति लिएका छन् ।जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप र ७ ओलाङचुङगोलाबासीले अनुमतिपत्र लिएका छन् । त्यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिकले समेत अनुमति पाएका छन् ।