विराटनगर । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसुचि रहेको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
जनता समाजवादी पार्टी नेपाल विभाजनपछि सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो । उपेन्द्र यादव नेतृत्वको दल विभाजनसम्बन्धी निर्णय कानुनी विवादमा परेकाले अशोक राई नेतृत्वको जसपाका सांसदले मत दिन पाउने कि नपाउने भन्ने बहस पनि चलिरहेको छ। यादवले आइतबारै जसपा नेपालबाट अलग भएका ७ सांसदलाई विश्वासको मतदान प्रक्रियाबाट रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उक्त रिटमाथि आज नै प्रारम्भिक सुनुवाइ हुँदैछ ।
आजका सदन चल्न दिने नदिने भन्ने निर्णय लिन नेपाली काग्रेसले संसदीय दलको बैठकबाट निर्णय लिने भएको छ । सहकारी ठगीका विषयमा छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने कांग्रेसको अडान छ । कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई अवरोध गर्ने कि नगर्ने भन्नेबारे औपचारिक निर्णय लिन सोमबार बिहान संसदीय दलको बैठक बोलाएको छ ।
सरकारको नेतृत्व गरेको १७ महिनाको बीचमा दाहालले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । एमालेसहित ६ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए ।
सरकार गठन भएको तीन महिना नपुग्दै सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रचण्डले सोही वर्षको चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला प्रतिनिधि सभामा उपस्थित संख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो ।
२०८० वैशाख २२ गते रास्वपा सरकारबाट बाहिरिएपछि भने उनले विश्वासको मत लिएनन् ।
गत वर्षको फागुन तेस्रो साता नयाँ समीकरण बनेपछि फागुन ३० गते उनले तेस्रोपटक विश्वासको लिएका थिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डको पक्षमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा नेपालका १५७ सांसदले पक्षमा मतदान गरेका थिए ।
हाल सरकारमा एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन्। एमालेका ७७ माओवादीका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका १०, जसपाका ७ र नागरिक उन्मुक्तिका ४ सांसद छन्। स्वतन्त्र सांसद अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि सरकारलाई समर्थन गरेका छन् भने आम जनता पार्टीका प्रभु साह पनि सत्तापक्षमै छन् ।