विराटनगरका अग्रणी पाँच महिला

आर्थिक अवसर र बाध्यता, खुला परिवेश, अनि ‘म पनि केहि गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनाले महिलाहरु परम्परागत चुलो चौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा लागेका छन् ।

विराटनगर । पछिल्लो समयमा महिलाहरू घरभित्रको चुलाचौकामा मात्र सीमित हुनुहुँदैन, बाहिर निस्केर उद्यम गर्नुपर्छ भन्दै सशक्तिकरणमा लागि परेका छन् । शिखरमा पुग्न संघर्ष गर्नुपर्दछ । आजभोलि सबै पेसामा महिला सक्षम हुँदै आएका छन् ।

आर्थिक अवसर र बाध्यता, खुला परिवेश, अनि ‘म पनि केहि गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनाले महिलाहरु परम्परागत चुलो चौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा लागेका छन् । बाध्यताले व्यवसाय अंगाल्नेहरुको अर्कै कुरा, अहिले त सजिला विकल्प छाडेर आफूले काम नगरेपनि हुने अवस्थाका महिलाहरुसमेत जोखिम उठाएर उद्योग व्यवसायमा हात हाल्न थालेका छन् । तर, असहयोगी सामाजिक संस्कार, सम्पत्तीमा अधिकार नहुने असमान कानुन, साना उद्यमीहरुलाई उद्यमी नै नमान्ने राज्यको व्यवहारले आउन सक्ने जति महिलाहरुलाई पनि अगाडि आउन दिइरहेको छैन । त्यो अवस्थाबीचमा पनि महिलाहरुले संघर्ष गरे अगाडि बढिरहेकै छन् । विराटनगरका संघर्षशील केही त्यस्तै महिला उद्यमीसँग हाम्रोमतले गरेको कुराकानी गरेको छ ।

डा.अनिषा विष्ट

विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल अस्पतालको कार्यकारी निर्देशक हुन्, डा.अनिषा विष्ट । अस्पतालको कार्यकारी निर्देशक भएर उनले नेपालकै एक प्रतिष्ठित स्वास्थ्य संस्थाको रूपमा न्यूरो हस्पिटललाई स्थापित गराउन सफल भएकी छन् । धैर्यता र सहनशीलताकै गुणले उद्यम, व्यवसायमा संघर्षरत रहन प्रेरित गर्ने उनी बताउँछिन् । जोकसैले पनि रुचिकै विषयलाई पेशामा परिणत गरे सफल हुन सजिलो छ । तर, त्यसका लागि लगन, धैर्य र संघर्ष जारी राख्नुपर्छ । त्यहि गरिन् डा.अनिशाले पनि । त्यसैले त उनी अहिले आफ्नो क्षेत्रमा अब्बल सावित भएकी छन् । संघर्षशील महिलाले नेतृत्व गरेर स्थापित भएको हस्पिटलको रूपमा अहिले न्यूरो परिचित भएको छ । ‘महिलाले नेतृत्व गरेको कारणले अहिले अस्पतालमा रोजगारी पाएका आधाभन्दा बढी अर्थात् ७० प्रतिशत महिला रहेका छन्’ उनले भनिन् ।

हाल न्युरो अस्पताल १५० शय्यामा विस्तार भएको छ । जसको नेतृत्व अनिषाले गरिरहेकी छन् । पछिल्लो समयमा विराटनगरको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको उनी पताउँछिन्् । ‘विराटनगर मेडिकल हबको रुपमा स्थापित हुँदैछ,’ उनले भनिन्, ‘यो मेडिकल हवको एउटा जिम्मेवार भागको रुपमा हामी आफ्नो भूमिकाप्रति सदैव गम्भीर र इमान्दार रहेका छौं ।’

न्यूरोमा न्युरोलोजी, मुटु रोग सेवा, जनरल मेडिसिन, स्त्री रोग तथा प्रसुति, मानसिक, नेफ्रोलोजी, ग्याष्ट्रोलोजी, आपत्कालीन, रेडियोलोजी, चर्म तथा यौन रोग, फिजियोथेरापी, संक्रमण रोग, न्यूरो सर्जरी, हाडजोर्नी, जनरल सर्जरी तथा ल्याप्रोस्कोपी, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाहरु सञ्चालनमा छन् ।

बुबा हेमराज र आमा तुलसा बस्नेतको कोखबाट २०२९ पुस २० गते डा. अनिशाको जन्म भएको हो । उनी एउटा कार्यकारी निर्देशक तथा जीवन सङ्गीनीको रूपमा त सफल छिन् नै, एउटी आमाको रूपमा पनि उनको उपलब्धि गर्व गर्न लायक छ । उनको २०५० मङ्सिर २० गते वरिष्ठ न्यूरोलोष्टि डा.वीरेन्द्रकुमार विष्टसँग विवाह भयो । उनीहरूका दुई सन्तानमध्ये छोरी रोशनी अहिले एमडीको तयारी गर्दैछिन् भने छोरा ऋतिक एमबिबिएस गर्दैछन् । डा.वीरेन्द्रकुमार विष्ट अस्पतालका संरक्षक, संस्थापक तथा प्रबन्ध निर्देशक हुन् ।

डा.अनिशा विभिन्न सामाजिक संघ–संस्थाहरूमा पनि आबद्ध छिन् । उनी धार्मिक तथा सामाजिक कार्यहरूमा संलग्न भएर अस्पतालमार्फत् विभिन्न प्रकारका स्वास्थ्य सेवा र जनचेतनामूलक कार्यक्रमहरू पनि गर्दै आएकी छन् । २०५७ सालदेखि न्यूरो अस्पतालको कार्यकारी निर्देशक भएर अस्पताल सम्हालेपछि सामाजिक काम पनि उत्तिकै गर्दै आएकी छन् । कृष्णगङ्गा फाउन्डेशनमा आबद्ध रही लागूपदार्थ दुव्र्यसनीहरूकोे उपचार र निवारणमा पनि कार्यरत रहेकी छन् ।

युक्ति गोल्छा

विराटनगरकी २९ वर्षीय युक्ति गोल्छा पाँच वषदेखि करिव चार अर्ब लगानी रहेको हुलास वायर उद्योगको नेतृत्व गरिरहेकी छन् । उद्योगको सम्पूर्ण व्यवस्थापन हेर्न सुरु गरेसँगै उनले सुनसरीको खनारमा यसै वर्ष थप साढे तीन अर्बको लगानीमा उद्योगको अर्को यूनिट पनि स्थापना गरेर सञ्चालनमा ल्याएकी छन् ।

युक्तिले नेतृत्व गरेका उद्योगका दुईवटै यूनिटमा करिव ७ अर्बको लगानी छ । ती उद्योगवाट गोल्छाले वार्षिक १० अर्ब रुपैयाँ बराबरको कारोवार सम्हालेकी छन् । दुई यूनिटमा गरेर १ हजार ३ सय जनाले उनको उद्योगमा रोजगारी पाएका छन् । उनीहरुका लागि गोल्छाले मासिक साढे तीन करोड रुपैयाँ तलब भत्ता वितरण गर्छिन् ।

‘मेहनत र इच्छा शक्ति हुँदा महिलाले पनि पुरुष सरह ठुला उद्योग सञ्चालन गर्न सकिन्छ,’ गाल्छाले भनिन्, ‘तर, राज्यको नीति र अनियमित विद्युत आपूर्तिका कारण उद्योग सञ्चालनमा समस्या छ ।’ टिएमटी रड, जिवाई वायरसहित तामा र पित्तलका पाता उत्पादन गर्ने उद्योगले वार्षिक सरदर ७ अर्ब मूल्य बराबरको उत्पादन भारत निकासी गर्दै आएको थियो । सरकारले कच्चा पदार्थको महसुल बढाएपछि गत वर्षदेखि उत्पादन निकासी शून्य बराबर छ ।

औद्योगिक क्षेत्रमा हाल रहेको अघोषित लोडसेटिङ र कच्चा पदार्थमा दोब्बर बढेको भन्सार महसुलले उद्योग संकटमा परेको गोल्छाको गुनासो छ । कच्चा पदार्थ प्रतिटनको भन्सार महसुल २ हजार ५ सय रुपैयाँ रहेकोमा सरकारले गत वर्ष महसुल दोब्बर बढाएर प्रतिटन ४ हजार ५ सय पु¥याएपछि भारत निकासी शून्य बराबर छ’ उनले भनिन् । युक्ति यसअघि उत्कृष्ट निकासीकर्ता उद्योगीका रुपमा सरकारवाट पुरस्कृतसमेत भइसकेकी छन् ।

इन्दिरा शर्मा बराल

सहनशीलता, दृढ आत्मविश्वास र निरन्तर मेहिनेतले सफल उद्यमी महिलाको रूपमा कहलिएको नाम हो, इन्दिरा शर्मा बराल । उनी विराटनगरस्थित नोबेल मेडिकल कलेज, केएमसी कलेज र डेन्टल कलेजको निर्देशक रहेकी छिन् । यति ठूलो हस्पिटल हाँक्ने अवस्थामा पुगेकी उनले जीवनमा धेरै संघर्ष गरेकी छन् । बराल निर्देशक रहेको विराटनगरको नोबेलमा १ हजार ६ सय जनाले रोजगारी पाएका छन् । केएमसीमा १३ सय र डेन्टल कलेजमा ८ सयले रोजगारी पाएका छन् । श्रीमान डा.सुनिल शर्मा राजनीतिमा लागेपछि अस्पताल चलाउने जिम्मेवारी उनकै काँधमा छ ।

सपना देखिपछि काम गर्न सकिने बरालको अनुभव रहेको छ । ‘सपना के लिनु उडी छुनु चन्द्र सुर्य भने जस्तै हो । सपना नदेख्नेले काम गर्न सक्दैन,’ उनले भनिन् । आर्थिक विपन्न समुदायका ८ सय विद्यार्थीलाई शर्मा दम्पत्तीले पढाइरहेका पनि छन् । उनीहरु चिकित्सकदेखि चार्टड एकाउन्टेन्ट तथा कृषि भेटेनरी अध्ययन गर्दै आएका छन् । मेडिकल पढेका केही चिकित्सहरू अहिले पनि कलेजमा कार्यरत रहेका छन् ।

ईन्दिराको जन्म २०२८ सालमा झापा दमकको बेलडाँगीमा भएको हो । कक्षा चारसम्म पढेपछि उनी २०३८ सालमा परिवारसँगै मोरङ इटहरा आइन् भने उच्च शिक्षाको लागि विराटनगर आइन् । उनले विराटनगरमा नर्सिङ पढेपछि कोशी अस्पतालमा एक वर्ष सेवा गरिन् । त्यसपछि धरानस्थित बिपी कोइरला विज्ञान प्रतिष्ठान र चितवनस्थित क्यान्सर अस्पतालमा पनि काम गरेको उनीसँग अनुभव छ ।

चम्पा नेपाल

मोरङको बुढीगङ्गा गाउँपालिका–२ टंकीसिनवारी घर भएकी चम्पा नेपाल सफल महिला उद्यमी हुन् । एक दशक भयो, उनी उद्यम क्षेत्रमा लागिपरेको । सफलतापूर्वक आफ्नो उद्यम यात्रा अगाडि बढाइरहेकी छन् ।
चम्पाले २०६९ सालमा विराटनगरमा जुत्ता, चप्पलको उद्योग खोलेकी हुन् । उनले आफ्नो नामबाट उद्योग खोलेकी छिन्, चम्पा सू–सेन्टर तथा प्रशिक्षण केन्द्र । घरेलु महासंघले दिएको तालिम लिएपछि जुत्ता चप्पलको उद्योग खोलेकी हुन् ।

उनले घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले दिएको १५ दिने जुत्ता बनाउने तालिम लिएकी थिइन् । तालिमले उनलाई आत्मनिर्भर मात्र बनाएको छैन, एउटा सफल महिला उद्यमीको रूपमा परिचित पनि गराएको छ । उनको उद्योगमा अहिले महिला र पुरुषले लगाउने चुत्ता चप्पलहरू उत्पादन हुने गरेका छन् । उद्यमीसँगै अहिले उनले प्रशिक्षण पनि दिँदै आएकी छिन् । उनले उद्यमशील महिला उत्पादन गर्न देशभरि तालिम दिन पुगेकी छिन् । उनले ‘चम्पा सु–सेन्टर तथा प्रशिक्षण केन्द्र’ नामक उद्योग घरेलुमा दर्ता गरिन् । ‘आफूजस्तै महिला, दिदी, बहिनीहरूलाई उद्यमशीलतर्फ अगाडि बढाउन तालिम दिँदै देशभरि पुगिसकेको छु,’ उनले भनिन् ।

प्रशिक्षक भएपछि उनी घरेलु तथा साना उद्योग कार्यालयबाट प्रशिक्षण दिनका लागि पोखरा, ओखलढुङ्गा, धरान, काठमाडौं, बुढीगंगा गाउँपालिका, विराटनगर, हेलभिटास नेपालबाट पोखरा र केयर नेपाल संस्थाबाट नवपरासी र पकली सुनसरीस्थित सशस्त्र प्रहरीको गुल्ममा पुगिसकेकी छन् । प्रशिक्षणकै क्रममा व्यावसायिक शीप विकास तथा तालिम केन्द्रको सहकार्यमा ओखलढुङ्गा कारागारभित्रका कैदी महिलाहरूलाई पनि तालिम दिइसकेकी छिन् । उनले उत्पादन गरेको जुत्ता चप्पलको प्रदर्शनीमा पनि लैजाने गरेकी छिन् । विभिन्न जिल्लाहरूमा हुने प्रदर्शनीमा बोलाउने गरेको उनले बताइन् ।

जुत्ता बनाउने काम गरिस् भनेर कसैले भन्दा कुनै बेला साह्रै चित्त दुःखेको बताउने चम्पा अहिले सबैको धन्यवाद र उदाहरणकी पात्र बनेकी छन् । कपडा, रेजिन, छाला, ढाका, अल्लो, पार्टीवेयर सबैखाले जुत्ता, चप्पल बनाउने सक्ने चम्पा निरन्तरता, मिहिनेत र दुढ इच्छाशक्ति नै सफलताको सुत्र रहेको बताउँछिन् । बाहुनकी छोरीले जुत्ता, चप्पल बनाउन हुँदैन भन्ने परम्परा तोडेर आज उनी एक सफल व्यवसायी र उदाहरणकी पात्र बनेकी छिन् । इच्छाशक्ति भएको, मेहनत गर्न सक्ने तर आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई उनले निःशुल्क तालिम दिँदै आएकी छिन् । अहिले उनको सुु–सेन्टरमा ७ महिलाहरू र दुई पुरुष (पार्ट टाइम) कार्यरत छन् ।

सुनिता छाराहाङ

विराटनगर–८ की सुनिता छाराहाङ पनि सफल उद्यमी महिला हुन् । उनले होमबेकरको सामानहरू उत्पादन गरी स्वदेश र विदेशमा निर्यात गर्दै आएकी छन् । उनले जुट, मकैको खोस्टा र कुशबाट घरमा सजावको घरायसी सामग्री बनाउने गरेकी छिन् । स्थानीय कच्चा पदार्थ नै प्रयोग गरेर उनले घरायसी सामग्री उत्पादन गरेर बेच्ने गरेकी छिन् । कुसन, डोर म्याटदेखि लिएर फूट म्याट, वाल हेगिङ, टी म्याट र चाबी लगाउने किरिङसम्म बनाउने गरेकी छिन् । वातावरणमैत्री घरायसी सामाग्रीहरू उत्पादन गर्दै आएकी सुनिताले खेर गइरहेका वस्तु बनेका सामग्री उनी बाह्य देशमा समेत निर्यात गर्छिन् । उनी पढेलेखेकी महिला हुन् । उनले बीएलसम्मको अध्ययन गरे पनि जागिर खाइनन् ।

लकडाउन हुनुभन्दा अगाडि सुनितासहित अन्य साथीहरू मिलेर मसला उद्योग चलाएका थिए । बजारको समस्याका कारण उनले भने उद्योगबाट हात झिकिन् । बजारमा ठूलो लगानीसँग प्रतिस्पर्धा गर्न नसकेपछि साथीहरूसँग सल्लाह गरेर नै उद्योगबाट हात झिकेको उनले बताइन् । आफूले उत्पादन गरेका सामग्रीको मूल्य बढाउन नमिल्ने तर कच्चा पदार्थको मूल्य चाहिँ पटक–पटक बढ्ने गरेपछि उद्योग सञ्चालनमा समस्या आएको उनी बताउँछिन् । सुनिताले खेर जाने मकैका खोस्टाबाट चिटिक्क परेका विभिन्न घरायसी सामाग्री उत्पादन गर्ने गर्छिन् । खोस्टा विराटनगरमा नपाउने भएकोले अन्य क्षेत्रबाट ल्याउने गरेको उनी बताउँछिन् । ‘विदेशबाट कच्चा पदार्थ मगाउँदिन । आफ्नै सिर्जनशीलता प्रयोग गर्छु,’ उनी भन्छिन्, ‘घरमै बसेर काम गर्छु । धेरै लगानी पनि छैन । यसैमा आत्मसन्तुष्टि छु ।’ सुनिताले कच्चा पदार्थ दिएर अन्य महिलालाई पनि उद्यमी बनाएकी छिन् । उनीहरूलाई डिजाइन सिकाउने काम पनि उनैले गर्छिन् ।

उद्योगका नाममा उनीसँग कुनै मेशिन भने छैन । सबैभन्दा ठूला मेशिन सियो–धागो नै हो । सुनिताले दुई जनालाई मासिक तलब दिएरै काममा लगाएकी छिन् । ३० जनालाई शीप पनि सिकाएकी छिन् । सिकाएकामध्ये ८ जनाले नियमित घरमै काम गरिरहेको उनले बताइन् । साथै सुनिताले अरूले उत्पादन गरेका सामग्री खरिदसमेत गरिदिने गरेकी छिन् । सुनिताले उत्पादन गरेको सामग्रीको माग बढ्दो छ । माग अनुसारको सामग्री उपलब्ध गर्न नसकिरहेको उनी बताउँछिन् । धेरै माग विराटनगरबाटै नै आउने गरेको उनले सुनाइन् । सुनिता नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङको निर्वतमान अध्यक्ष पनि हुन् । उनको जन्म २०३१ साल असोज १५ गते मोरङको राजघाटमा भएको हो ।

शुक्रबार, ०४ जेठ, २०८१, दिउँसोको १२:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page