विराटनगर । दुई जना युवालाई तरबार प्रहार गरेको आरोपमा पक्राउ परेका विराटनगर १४ का ४३ वर्षीय फुलेश्वर यादव पूर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका जिल्ला न्यायाधीश प्रकाश कोइरालाको इजाशले यादव बिहीबार पूर्पक्षको लागि जेल चलान भएका हुन् ।
डाका र ‘ज्यान मार्ने उद्योग’ मुद्दामा विराटनगर–१४ का पूर्व वडाध्यक्ष ६५ वर्षीय बलदेव यादवसहित ९ जनाविरुद्ध मोरङ अदालतमा बुधबार मुद्दा दायर भएको थियो । वडाध्यक्ष यादवसहित ८ जनालाई फरार प्रतिवादी बनाएर ९ जना विरुद्ध अभियोग दर्ता भएको थियो । जसमध्ये पक्राउ परेका यादवको हकमा थुनछेक भएर आदेश आएको हो । फरार रहेका अन्य विराटनगर १४ जतुवाका ३२ वर्षीय दिपेश यादव, ३१ वर्षीय राजौ भन्ने राजेश यादव, ४६ वर्षीय उपनारयण यादव, ४२ वर्षीय शंकर यादव, ६५ वर्षीय धनपत यादव र ३४ वर्षीय जोगिलाल भन्ने योगीलाल यादव छन् । उनीहरुको हकमा अदालत उपस्थित भएपछि बयान भएर आदेश हुन्छ ।
२९ चैतमा विराटनगर–१४ का पूर्व वडाध्यक्ष बलदेवको योजनामा ९ जनाको समूहले विराटनगर–१४ का ४० वर्षीय सन्तलाल यादव र सोही ठाउँका ३० वर्षीय प्रकाश यादवमाथि तरवार प्रहार गरेको पीडितको आरोप छ । तरबार प्रहारबाट सन्तलाल गम्भीर घाइते छन् । उनको अहिले पनि विराट टिचिङ हस्पिटलमा उपचार हुँदै आएको छ ।
पीडित परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन उनीहरूले माग गरेपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको थियो ।