विराटनगर । व्यस्त सडकमा हुँइकिदै आउने गाडीको वेग छिचोल्दै ई–रिक्सा (सिटिसफारी) टक्क रोकिन् । चोकमा उभिएका यात्रुहरुलाई मुसुक्क हाँस्दै सोधि खोजि गर्छिन् ,‘कहाँसम्म जाने ?’
यात्रुले आफू पुग्ने गन्तव्य बताएपछि त्यही यात्रुको गन्तव्यसँगै उनी सफारी हुँइकाउँछिन् । ‘जाने हो ?’ सफारीको हेण्डलसँगै घरिघरि बाटोमा भेटिएका यात्रुहरुलाई पनि सोध्न भ्याउँछिन् ।
करिब १० बजे मुनालपथ चोकमा भेटिएकी जिरासरी गौतम (राजवंशी) आर्थिक व्यवहार चलाउन सिटिसफारी लिएर घरबाट निस्किन्छिन् । उमेरको खुड्किलाले ६० नाघिसकेकी उनी सिटिसफारीले महिलालाई आत्मनिर्भर बनाएको बताउँछिन् ।
तीन वर्ष अगाडि उनले किस्तामा सिटिसफारी खरिद गरेकी रहेछिन् । तीन वर्षको अन्तरालमा सफारी खरिदका लागि लिएको ऋण चुक्ता गरिसकेको समेत उनले सुनाइन् । कहाँ जाने हजुर ? घरिघरि यात्रुलाई सोधिएको प्रश्न र उत्तरसँगै गफिन भ्याएकी जिरासरीको परिवारको भरथेग यही सफारी रहेछ । उनी यो भन्दा अगाडि एउटा गार्भेन्टमा काम गर्दै कफी उत्पादन गर्ने उद्योगमा काम गरिसकेकी रहेछिन् । आफूले काम गरिरहेको ठाँउबाट विविध बाहाना बनाएर कामबाट निकालेपछि उनी सफारी चालक बनेको सुनाइन् ।
‘कफि बनाउने उद्योगमा काम गर्थें मलाई बुढी भयो अब काम गर्न सक्दैन भनेर निकाल्यो, त्यसपछि मैले सफारी किनेर तीन वर्ष भयो काम गरिरहेकै छु,’ उनले सुनाइन्, ‘सिटिसफारीले मलाई त आफंै कमाउन सक्ने बनाएको छ ।’
अन्तरजातीय विवाह बन्धनमा बाँधिएकी विराटनगर–२ की जिरासरीलाई बाहुन परिवारसँग भिज्न त्यति सहज थिएन । अहिले पनि उनी श्रीमान्सँग छिन् तर श्रीमान्को परिवारसँग भने टाढै छिन् । जीवनका हरेक सुख दुखःका भेलहरु संगाल्दै आएकी उनी अझैपनि कुनै उद्योगमा काम पाए गर्न सक्ने समार्थ रहेको सुनाउँछिन् ।