विराटनगर । कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथपछि माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगर मन्त्री हुने भएका छन् ।
मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएसँगै आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको हो । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथको तयारी भइरहेको छ । उनको सपथसँगै दुई मन्त्रीको पनि सपथ हुनेछ ।
एमालेबाट मन्त्री बन्न लागेका मगर इलामबाट निर्वाचित सांसद हुन् । माओवादीका उप्रेती मोरङका सांसद हुन् । दुबै जना यसअघि पनि मन्त्री भइसकेका छन् । दुबै जनाले विनाविभागीय मन्त्रीको सपथ लिनेछन् ।
एमाले संसदीय दलका उपनेता मगर यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । तर, त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषदमा सामेल भएपछि एमालेले सरकार छाडेको थियो ।
गणेश उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए । २६ चैतमा एमाले र माओवादीले केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उप्रेतीले राजीनामा दिएका थिए ।