मुख्यमन्त्रीबाट राजीनामा दिन कार्कीलाई आङ्बोको सुझाव

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन सुझाब दिएका छन् ।

तोकिएको अबधिभित्र विश्वासको मत नलिएकोले मुख्यमन्त्री कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रसस्त गर्नुपर्ने आङ्बोको सुझाब छ । सामाजिक सञ्जालमार्फत उनले कार्कीलाई सुझाब दिँदै लेखेका छन्, ‘एक मित्रको नाताले मुख्यमन्त्रीजीलाई मेरो सुझाव छ, अब राजीनामा दिएर नयाँ सरकार बनाउने ढोका खोल्नुस । त्यसैमा तपाईंको राजनैतिक उचाइ बढ्नेछ र संविधान लोकतन्त्र र संघीयताको जित हुनेछ ।’

मुख्यमन्त्री मा.केदार कार्की नेतृत्वको सरकारलाई प्रदेशसभाका बहुमत सदस्यहरुले दिएको समर्थन र विश्वासको मत फिर्ता लिएको आज राति १२ बजे ३० दिन पूरा हुने भएकोले संबैधानिक ब्यवस्था, लोकतान्त्रिक मान्यता र संसदप्य प्रावधानले पनि अल्पमतको सरकारको निरन्तरता हुन नसक्ने भन्दै आङ्बोले निर्धारित समयभित्र बिश्वासको मत लिनु वा नयाँ सरकार गठनको निम्ति मार्गप्रशस्त गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन् । ‘बहुमत गुमाइ सकेपपछि वा विश्वासको मत प्राप्त गर्ने सम्भावना नरहेपछि मुख्यमन्त्रीज्युले विश्वासको मतकै निम्ति प्रदेशसभा बोलाइरहन सायद आवश्यक नठानेको हुनसक्ने भन्दै उनले आज राति १२ बजेबाट मुख्यमन्त्री र सरकारको बैधता स्वतः समाप्त हुने जिकिर गरेका छन् ।

उनले लेखेका छन्, ‘मुख्यमन्त्री मा.केदार कार्की नेतृत्वको सरकारलाई प्रदेशसभाका बहुमत सदस्यहरुले दिएको समर्थन र विश्वासको मत फिर्ता भएको आज राती १२ बजे ३० दिन पुरा हुँदैछ । संवैधानिक व्यवस्था, लोकतान्त्रिक मान्यता र संसदीय प्रावधानले अल्पमतको सरकारको निरन्तरताको परिकल्पना गर्दैन,’ उनले भनेका छन्, ‘निर्धारित समयभित्र विश्वासको मत लिनै पर्दछ । नत्र नयाँ सरकार गठनको निम्ति मार्गप्रशस्त गर्नु पर्दछ । बहुमत गुमाइ सकेपछि वा विश्वासको मत प्राप्त गर्ने सम्भावना नरहेपछि मुख्यमन्त्री ज्यूले विश्वासको मतकै निम्ति प्रदेशसभा बोलाइरहन सायद आवश्यक ठान्नु भएन होला ।’

आङ्बोले कोशीमा मैले नै नेतृत्व गरेर सरकार बनाए भनेर दाबी गर्ने डा. शेखर कोइरालामाथि पनि प्रश्न गरेका छन् । आफूलाई लोकतन्त्र र संसदीय ब्यवस्थाको मसिहा नै ठान्ने डा.शेखर कोइरालालाई प्रश्न सोधिदिनु सञ्चारकर्मीलाई आग्रह गर्दै उनले यो ब्यवस्थामा राजीनामा पनि दिन्न, विश्वासको मत पनि लिन्न भन्न पाइन्छ भन्ने प्रश्न गरेका छन् । ‘अल्पमतले सत्ता सञ्चालन गर्ने प्रणाली नै तपाईंले पैरवी गरेको लोकतन्त्र हो ?’ उनको प्रश्न छ ।

मङ्गलबार, २५ बैशाख, २०८१, साँझको ०६:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर