पुण्य पि अधिकारी
बितेको चौविस घण्टाको अवधिमा मजदूरहरुको हकहितका लागि संसारभर विभिन्न कार्यक्रम भएका छन् । विश्वरभरका श्रमिकहरुको हक अधिकार संरक्षण र प्रवर्धनका लागि १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस “मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान” भन्ने नारा हाम्रो देशमा पनि मनाइएको छ ।
तर, देशमा रोजगारीको उपयुक्त ढंगले सिर्जना नहुँदा युवाशक्ति दैनिकजसो विदेशमा श्रमका लागि गइरहेको अवस्था छ । नेपालको संविधानले धारा ३३ मा रोजगारीको हक अन्तर्गत प्रत्येक नागरिकलाई रोजगारीको हक हुने र प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक पदत्त गरिएको छ । तर, श्रमयोग्य उमेरका नागरिकले न त रोजगारी पाएका छन्, न त विश्वबजारमा बिक्ने किमिसको सीपयुक्त तालिम नै ।
संसारभरका मजदूर एक होऔँ, यो उद्गारले अझैपनि श्रम गर्नेहरुलाई संगठित हुन आह्वान गर्दछ । अनौपचारिक क्षेत्रका श्रमिक संसारमा सबैभन्दा बढी हुन्छन् । अझ हाम्रो देशमा राज्यले रोजगारीको अवस्था सिर्जना गर्न नसकेका कारण सबैभन्दा अनौपचारिक क्षेत्रका श्रमिक बढी छन् । राज्यले श्रमिकको न्यूनतम पारिश्रमिक त तोकिदिएको छ, तर त्यसको कार्यान्वयनका लागि राज्य जिम्मेवार नहुँदा श्रमिकले मासिक १४ हजार रुपियाँ नपाइरहेको अवस्था छ । राज्यले अहिले पनि औपचारिक क्षेत्र र अनौपचारिक क्षेत्रका श्रमिकबिच असमानताको ठूलो खाडल जीवन्त राख्दा धनी र गरिबबिचको दूरी दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
विश्वका आर्थिक परिर्वतनका लागि ठूलाठूला क्रान्तिहरु भएका छन् । श्रमिकको श्रमको सम्मान गरेकै कारण आज विश्वमा धेरैदेशहरु धनी भएका छन् । तर, हाम्रो देशमा वर्षमा एकदिन श्रमिकका विषयमा चिन्ता व्यक्त गर्ने, त्यसपछि श्रमिकलाई सबैभन्दा तुच्छ मान्ने प्रणालीले श्रमिक र श्रमको सम्मानका लागि अवरोधहरु सिर्नना गरीररहेको छ ।
१३५ औँ श्रमिक दिवस राज्यले श्रमिकसँग होइन, ठूलाठालू र सुकिलामुकिलासँग तारे होेटलमा मनाउँने परम्पराले श्रमिकको अवस्थामा सुधार गर्न कदापि सक्दैन । राज्य चलाउनेहरु र नीति निर्माण गर्नेहरुले श्रम र श्रमिकको सम्मान गर्नका लागि उपयुक्त योजना नबनाएसम्म श्रमिक दिवस मात्र मनाउनुको कुनै अर्थ रहँदैन ।अहिलेपनि अनौपचारिक क्षेत्रका कार्यरत श्रमिक सामाजिक सुरक्षाबाट विमुख भएका छन् । राज्यले सामाजिक सुरक्षाको व्यवस्था गरेपनि राज्य आँफैले श्रमिकका लागि निश्चित प्रतिशत योगदान नगर्दा श्रमिकहरु सामाजिक सुरक्षाबाट वञ्चित हुनु परेको छ ।
अनौपचारिक क्षेत्रका श्रमिक बिरामी भए वा अस्वस्थ्य भए रोजगारदाताले कामबाट निकाल्ने र आधारभूत पारिश्रमिकसमेत नदिने अवस्था विद्यमान छ । यो यही समस्याले गर्दा अहिलेपनि हाम्रो मुलुकमा श्रम गर्नेहरु दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्ने अवस्था छ । धनी र गरिबको खाडल प्रतिदिन बढ्दै गएको छ । राज्य वा श्रमिकको क्षेत्रमा काम गर्नेहरुले श्रमिक दिवसका अवसरमा लाखौँ रुपिया खर्च गरेर तारे होटलमा श्रमिक दिवस मनाउँदैमा साँच्चो अर्थमा श्रमिकको अवस्था र व्यवस्थामा परिवर्तन हुन सक्दैन । तसर्थ श्रमिकहरुको हकहितका लागि सबैभन्दा पहिले राज्य नै जिम्मेवार बन्न आवश्यक छ ।