वडा अध्यक्षको सरकारी मोटरसाइकलमा दोहोरो नम्बर

विराटनगर । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर–९ का वडाअध्यक्ष इन्द्र लिम्बूले सरकारी मोटरसाइकलमा दोहोरो नम्बर प्लेट हालेर प्रयोग गरेको पाइएको छ ।

लिम्बूले नगरपालिकाबाट लिएको मोटरसाइकलमा दुईवटा नम्बर छ । एकातिर सरकारी नम्बर प्लेट र अर्कोतिर निजी नम्बर प्लेट प्रयोग गरेको पाइएको हो ।

उक्त मोटरसाइकलमा प्रदेश १–०२००१ ब २६७२ को सरकारी नम्बर थियो भने अर्कोतिर को ३२ प ९५१२ को नीजि नम्बर राखिएको थियो ।
वडा अध्यक्षलाई नगरपालिकाले उपलब्ध गराएको मोटरसाइकलमा दोहोरो नम्बर फेला परेको हो । स्रोतका अनुसार वडा अध्यक्ष लिम्बू भने विदामा छन् । उनी ताप्लेजुङमा रहेको बताइएको छ ।

वडा अध्यक्ष नभएको बेला उक्त मोटरसाइकल कार्यवाहक अध्यक्ष तारा भण्डारीले प्रयोग गर्दै आएकी थिइन् । सोमबार उक्त मोटरसाइकलमा दोहोरो नम्बर देखेपछि युवाहरुले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिजुवामा बुझाएका छन् ।

स्थानीय युवाहरुले लिम्बूकोसहित तीनवटा मोटरसाइकलमा दोहोरो नम्बर फेला पारेर प्रहरीलाई बुझाएका थिए । अन्य दुई वटा सवारीको विवरण भने नगरपालिकाले दिएको छैन् । यस विषयमा रतुवामाई प्रमुख प्रशासकीय अधिकृत संजय राजलवटलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

बिहिबार, १३ बैशाख, २०८१, बिहानको ०९:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर