नेतृत्वबिहीन विराटनगर

 अर्जुन आचार्य

१९९० को दशक राणा शासनविरुद्ध चलेको आन्दोलनको सुरुवाती दशक थियो । राणा शासनको विरोध गर्दै नागरिक ज्यानको पर्वाह नगरी सडकमा आउन थालेका थिए । त्यो काठमाडौंमा पनि र अन्य शहरमा पनि । गोरखाका लखन थापालाई वि.सं. १९३३ फागुन २ गते मनकामना मन्दिर अगाडि फाँसी दिइएको थियो । शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते टेकु पचलिमा खरिको बोटमा झुण्ड्याइयो । धर्मभक्त माथेमालाई १९९७ माघ १२ गते सिफलमा झुण्ड्याइयो । दशरच चन्द र गंगालाल श्रेष्ठद्वयलाई १९९७ माघ १४ गते सोभा भगवतीमा लगेर गोली हानेर मारियो । उनीहरुले कुनै अपराध गरेका थिएनन् । उनीहरुले गरेका थिए, राणा शासनको विरोध र शासकका विरुद्धमा लगाएका थिए ‘मुर्दावाद’को नारा । आफ्नो विरुद्ध विद्रोह बोल्ने उनीहरुलाई जहानीय राणा शासनले यस धर्तिमा स्वास फेर्ने अधिकार पनि दिएन ।

पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणपछि काठमाडौंमा जमेको शासन व्यवस्था र शासकको विरुद्धमा आवाज ओकल्न १९३० को दशकबाटै प्रारम्भ भएको थियो । कालरात्री राणा शासन ढालेर नयाँ युग ल्याउन फाट्ट फुट्ट, असंगठित विद्रोहहरु सुरु भएपनि संगठित विद्रोह सुरु हुन सकेकै थिएन ।

निरंकुश, क्रुर शासन व्यवस्था ढाल्नु अनिवार्य थियो । तर, कोही बोल्न सकेका थिएनन् । त्यो आवाज त्यो समयमा विराटनगरबाट मुखरित हुनथाल्यो । त्यो आन्दोलन उठाउने मुख्य भूमिका निर्वाह गरेका थिए, ‘पिताजी कृष्णप्रसाद कोइराला’ले । कोइरालाले राणाहरूको विरोधमा बोलेकै कारण उनलाई जेलमै मर्न बाध्य बनाइयो । तर, उनले रोपेको बिउ मरेन । कृष्णप्रसादका छोरा विपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालाका साथै विराटनगरकै रामचन्द्र अधिकारीका छोरा मनमोहन अधिकारीहरुले राणा शासन विरोधी अभियानलाई तीब्र बनाए । विराटनगर जुटमिल्स केन्द्रीत भएका हड्तालहरुमा साहसी नारीहरु दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य र कामिनी गिरिलगायतले खेलेको भूमिका महत्वपूर्ण छ । त्यसक्रममा दर्जनौं नागरिकले ज्यान गुमाए । राणा शासन धर्मराउँदै गयो । अन्ततः २००७ साल फागुनमा प्रजातन्त्रको पुनःवहाली भयो । २०१५ सालमा भएको आम निर्वाचनपछि विपी कोइराला पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री बने ।
२०१७ सालमा फेरि प्रजातन्त्र अपहरणमा पर्यो । प्रजातन्त्रको पुनःवहालीका लागि विराटनगरबाटै ठूलाठूला आन्दोलन र संघर्ष भए ।

आन्दोलनकै निरन्तरतास्वरुप २०३० सालमा भएको बिमान अपहरण एउटा ठूलो विद्रोह थियो । विमान विद्रोह नेपालको प्रजातान्त्रिक आन्दोलनलाई नयाँ उचाईमा लान कोषेढुंगा सावित भयो । जसमा दुर्गा सुवेदी, नरेन्द्र ढुंगेल र बसन्त भट्टराईहरुले गरेको साहसिक कार्यको अहिले पनि प्रशंसा हुने गरेको छ । त्यस्तै सानातिना थुप्रै घटना परिघटनाहरुको संयोग बन्यो २०४६ सालको आन्दोलन । जसले पञ्चायती व्यवस्थाको जरोकिलो उखेल्यो ।

विराटनगर र विराटनरका नागरिकले नेतृत्व गरेर प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको अन्तराष्ट्रिय जगतले पनि प्रसंसा गरेको छ । नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ । २०४६ सालअघि या पछि भएका वामपन्थी आन्दोलनमा जननेता मदन भण्डारीले खेलेको भूमिका प्रसंसनीय छन् । उनले पनि लामो समय विराटनगरमै बसेर कम्युनिष्ट आन्दोलन अगाडि बढाएका थिए ।

एक हिसावले भन्ने हो भने प्रजातन्त्रको युगको नेतृत्व विराटनगरले गरेको थियो । साहित्यको क्षेत्रमा विपीले पुर्याएको योगदान होस् वा कृष्णभुषण बलले गरेका योगदान हुन्, अजर र अमर छन् । भाषाको क्षेत्रमा प्रा.डा. बालकृष्ण पोखरेलले गरेको योगदान, मातृका प्रसाद कोइरालाले कोशी सभ्यताबारे लेखेको पुस्तक होस्, विराटनगर कुनै कुरामा कमजोर थिएन । विराटनगरले आर्थिक क्षेत्रमा पुर्याएको योगदान झनै उल्लेखनीय छ । नेपालकै इतिहासमा जुद्ध शमशेरको पालामा स्थापना भएका विराटनगर जुटमिल्सदेखि, जुद्ध मेच फ्याक्ट्री, रघुपति जुट मिल्स, मोरङ कटन मिल्स, जुट प्लाण्ट, चिनी कारखाना र केमिकल्स प्लाण्टलगायतका ऐतिहासिक उद्योगबाट थालिएको औद्योगिकरणको चर्चा जति गरेपनि कम हुन्छ ।

शैक्षिक क्षेत्रमा काठमाडौं पछाडि उनै कृष्णप्रसाद कोइराला परिवारले स्थापना गराएको आदर्श स्कुल होस् वा बालिका स्कुल हुन्, सबैसबै सुधारका प्रयासमा पनि विराटनगर अग्रस्थानमा थियो । विराट राजाको दरबारको ऐतिहासिक सम्पदा भएको विराटनगरका आदिवासीहरुको पहिचान झनै चर्चालायक छ ।

त्यही विराटनगर महानगरपालिका भएको छ । यहाँ धेरै सडक पिच बनेका छन् । धेरै विद्यालय बनेका छन् । धेरै उद्योग खोलिएको छ । व्यापार पसलका धेरै सटरहरु छन् । तर, इतिहासको बिरासत कमजोर बन्दै गएको छ । विचार, साहित्य, राजनीति र कलाको दृष्टिकोणले पनि विराटनगर कमजोर हुँदैछ । वैचारिक बहस र नेपाललाई दिनुपर्ने समग्र दृष्टिकोणमा पनि कमजोर देखिन्छ । आर्थिक क्षेत्रमा पनि विराटनगर शिथिल देखिन्छ । २०७२ साल असोजमा जारी भएको नयाँ संविधानसँगै देश संघीय व्यवस्थामा गएको छ । संघीय व्यवस्था अनुसार विराटनगर कोशी प्रदेशको राजधानी हो । तर, विपी कोइरालाले देखेको प्रजातान्त्रिक प्रणाली, संस्कार र विचारको आज उनैको नाम लिएर कुर्सीमा पुगेकाहरुले हुर्मत लिइरहेका छन् । विराटनगरले बोकेको प्रजातान्त्रिक भावना र मर्ममाथि प्रहार भइरहेको छ ।

यो सब किन भइरहेको छ ? त्यसबेला विराटनगरको बारेमा भनिन्थ्यो, ‘जब विराटनगरले सोच्छ, त्यसपछि मात्रै नेपालले सोच्छ ।’ तर, आज त्यो अवस्था छैन । रूपमा विराटनगर त्यसबेलाको भन्दा विकसित देखिएपनि सारमा हामी निम्छरा भएका छौं । वैचारिक दरिद्रतामा छौं । निराशामा छौं । त्यसबेलाको विराटनगर अहिले मरिसक्यो ? अब विराटनगरले विद्रोह बोल्न सक्दैन ? यसले प्रजातन्त्र र लोकतन्त्रमा आधारित अरु नयाँ विचार दिन सक्दैन ? आगो ओकल्ने साहित्यको सिर्जना गर्न सक्दैन ? विराटनगरले अब यो विषयमा बहस गर्नुपर्ने देखिएको छ ।

मङ्गलबार, ११ बैशाख, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर