सर्वदलीय सरकारको लागि बाटो खोलिदिन मुख्यमन्त्रीलाई काङ्ग्रेसकै सांसदको आग्रह

विराटनगर । नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सर्वदलीय सरकार बनाउन बाटो खोलिदिन आग्रह गरेका छन् ।

शुक्रबार संसद बैठकमा भएको संकल्प प्रस्तावमाथि विचार राख्ने क्रममा राईले संविधानको धारा १६८ (५) को आधारमा सरकार बनेकोले सर्वदलीय सरकार बनाउनुपर्ने धारणा राखे ।

सर्वदलीय सरकार केदार कार्कीकै नेतृत्वमा बनाउनुपर्ने उनको प्रस्ताब छ । यो सरकारबिरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने बताउँदै उनले संकल्प प्रस्ताव फिर्ता गर्न उनले सुझाब दिए ।

मुख्यमन्त्री कार्कीलाई आग्रह गर्दै उनले भने, ‘सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिनुस् । मुख्यमन्त्रीकै नेतृत्वमै को-को मन्त्री खान चाहनुहुन्छ ? आउनुस् ।’ संकल्प प्रस्ताव मुलुकको गरिबी, अस्थिरता, विकासका लागि हुनुपर्ने बताउँदै राईले भने,‘कम्युनिस्ट साथीहरु शब्दमा खेल्न निक्कै माहिर हुनुहुन्छ । मुख्यमन्त्रीलाई हटाउन संकल्प प्रस्ताव भन्दा पनि यो प्रदेशको विकास, समृद्धि कसरी ल्याउन सकिन्छ भनेर संकल्प प्रस्ताव ल्याउनुभएको भए सुनमा सुगन्ध हुने थियो ।’

२७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए । समर्थन फिर्ता लिँदै उनीहरूले प्रदेश सभाको अधिवेशन माग गरेका थिए ।

समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्की राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा छन् । उनलाई राजीनामा नदिने भए विश्वासको मत लिन निर्देशन दिनका लागि संकल्प प्रस्ताव दुई दलले दर्ता गरेका हुन् ।

शुक्रबार, ०७ बैशाख, २०८१, दिउँसोको ०२:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर