सम्पादकीय
वसन्त ऋतुमा नेपालको पहाडी क्षेत्र यतिबेला मनमोहक बनेका छन् । महाभारत पर्वत सृङ्खलाका धेरै भागहरुमा लालीगुराँस फुलेर डाँडापाखा रंगिचंगी देखिएका छन् । पाखाहरु रातै भएका छन् । कोशी प्रदेशका विभिन्न जिल्लाका पहाडी भेगमा दर्जनौं प्रजातिका गुराँस फूलेका छन् ।
वसन्त ऋतुमा बोटविरुवामा नयाँ पालुवा पलाउने, फूल फूल्ने, फल लाग्ने हुँदा वातावरण मनमोहक हुन्छ । चैत वैशाख महिनामा फूल्ने लालीगुराँसले पूर्वी पहाडमा पर्यटकहरुलाई आकर्षित गरिरहेको छ । नयाँ वर्षको आगमनसँगै लालीगुराँसले रातै भएका पाखाहरुको आनन्द लिन यतिबेला गुराँसको राजधानी भनेर चिनिएको तेह्रथुमको तीनजुर,े मिल्के र जलजले क्षेत्रमा पर्यटकहरुको घुँइचो बढिरहेको छ । पर्यटकहरुले त्यहाँ पुगेर प्रकृतिको अनुपम रसस्वादन गरी आनन्द लिने गरेका छन् ।
नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छ । त्यसैले यो वनस्पति अध्ययन गर्नेहरुका लागि महत्वपूर्ण क्षेत्र पनि हो । यो क्षेत्रको संरक्षणले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न निकै ठूलो मद्दत पुग्छ । तर, पछिल्लो समय टिएमजे क्षेत्रमा गुराँसको वन घट्दै गइरहेको छ । स्थानीयले खाना पकाउने उर्जाको रुपमा गुराँसको दाउरा प्रयोग गर्ने क्रम नरोक्दा निरन्तर गुराँस वन घट्दै गएको छ । गुराँसको दाउरामा चिसै भएपनि राम्ररी बल्ने गुण भएको हुनाले गुराँसका विरुवामाथि मानवीय प्रभाव बढी देखिएको हो ।
त्यस बाहेक सडक पूर्वाधार निर्माण, मध्य पहाडी राजमार्ग विस्तार, विद्युत ट्रन्समिसन लाइन विस्तार र त्यस्तै अन्य पूर्वाधार निर्माणको चपेटामा परेर गुराँस वन क्षेत्र अतिक्रमित भइरहेको छ । कोशी करिडोर प्रशारण लाइन विस्तारका क्रममा हजारौं रुख काटिएका थिए । ६२९ वटा रुखहरु काट्ने अनुमति दिइएकोमा अनधिकृतरुमा हजारौं रुख फाडानी गरिएको थियो । त्यसबाट पर्यावरणमा ठूलो असर पुगेकोमा अभियान्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रकृतिको रानीको रुपमा रहेको गुराँस संरक्षणका लागि अभियान नै संचालन भइरहेको छ । तरपनि गुराँस मासिने क्रम रोकिएको छैन । त्यसका लागि सरकार थप संवेदनशील बन्न जरुरी छ । पहाडी भेगमा वन जङ्गलको क्षेत्रफल बढ्दै गएको छ । तर गुराँसको वन सीमित क्षेत्रमा मात्र पाइने भएकोले ती क्षेत्रमा भइरहेको अतिक्रमण रोक्न प्रदेश सरकार र स्थानीय सरकारले विशेष योजना बनाउन आवश्यक छ ।