समाचार प्रभाव : खाली मन्त्रालयको जिम्मा मुख्यमन्त्रीलाई नै तोकियो

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) का तीन मन्त्रीले राजीनामा दिएपछि उनीहरुले सम्हालेको मन्त्रालयको जिम्माबारे देखिएको अन्यौल चार दिनपछि हटेको छ ।

केदार कार्की नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्रका तीन मन्त्रीले चैत २६ गते राजीनामा दिएकोमा चार दिनसम्म ती मन्त्रालयको कार्यभार कसले सम्हाल्ने भन्ने तोकिएको थिएन ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले खाली रहेका मन्त्रालयको जिम्मेवारी तोक्नुपर्नेमा मुख्यमन्त्री सिफारिस नै नगर्दा अन्यौल देखिएको समाचार हाम्रोमतले लेखेको थियो । मुख्यमन्त्रीले कार्यभार तोकेकोबारे प्रदेश प्रमुखलाई कुनै जानकारी नदिएको भएपनि अर्को मन्त्रालयका मन्त्रीहरुले खाली रहेको मन्त्रालयमा पुगेर निर्देशन दिने प्रयास गर्दा अन्यौल देखिएको थियो । त्यसलाई चैत ३० गते हटाइएको हो ।

काठमाडौंमा रहेका मुख्यमन्त्री केदार कार्की विराटनगर फर्किएपछि शुक्रबार अपरान्ह खाली रहेका तीनवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्नेगरि तोकिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । सामाजिक विकासमन्त्री राजेन्द्रकुमार कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती (शुशिल) र खानेपानी, सिचाईं तथा उर्जामन्त्री नारायणबहादुर मगरले चैत ३० गते राजीनमा दिएका थिए । मुख्यमन्त्रीले राजीनामा स्वीकृत गरेको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई लगत्तै गराएको भएपनि चार दिनसम्म मन्त्रालयको कार्यभार तोक्ने सिफारिस पठाएका थिएनन् ।

मुख्यमन्त्रीले सिफारिस पठाएर प्रदेश प्रमुखले कार्यभार नतोक्दै आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सामाजिक विकास र उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले पर्यटन वन तथा वातावरण मन्त्रालयमा पुगेर आफूले मन्त्रालय हेर्ने भन्दै कर्मचारीलाई निर्देशन दिएका थिए । मुख्यमन्त्रीले कार्यभार नतोकी र प्रदेश प्रमुखले कुनै जानकारी नदिएको अवस्थामा अर्को मन्त्रालयको मन्त्रीले आएर निर्देशन दिँदा कर्मचारीहरुमा पनि अन्यौल देखिएको थियो ।

त्यसबारे हाम्रोमतमा समाचार प्रकाशित भएपछि प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले मुख्यमन्त्रीसँग सल्लाह गरेर थप निर्णय लिने बताएका थिए । शुक्रबार अपरान्ह मुख्यमन्त्री कार्की काठमाडौंबाट फर्किएर प्रमुख सचिवसँगको सल्लाहपछि खाली भएका मन्त्रालयको कार्यभार आफैंले सम्हाल्ने सिफारिस प्रदेश प्रमुखकोमा पठाएका थिए । सोही सिफारिसको आधारमा प्रदेश प्रमुखको कार्यालयले खाली रहेका तीनै मन्त्रालयको कार्यभार मुख्यमन्त्री केदार कार्कीले नै सम्हाल्नेगरि तोकेको छ ।

मन्त्रीहरुको कार्यभार सम्हाल्नेबारे मुख्यमन्त्रीले चैत २६ गतेको मिति राखेर चैत ३० गते सिफारिस पठाएको प्रदेश प्रमुखको कार्यलयले विज्ञप्तिमै जानकारी दिएको छ । ‘कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले माननीय मुख्यमन्त्री केदार कार्कीज्यूको मिति २०८०÷१२÷२६ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) को अवस्था परी रिक्त हुनआएको सामाजिक विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी माननीय मुख्यमन्त्री केदार कार्कीलाई तोक्नुभएको छ’ प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकत योगराज गिरीले जारी गरेको वक्तव्यमा भनिएको छ । वक्तव्यमा नोट उल्लेख गरेर ‘यस कार्यालयमा मिति २०८०/१२/३० गते प्राप्त हुन आएको माननीय मुख्यमन्त्रीको मिति २०८०/१२/२६ गतेको सिफारिस पत्र बमोजिम जिम्मेवारी तोकिएको’ समेत खुलाइएको छ ।

चार दिनपछि मन्त्रालयका कार्यभार मुख्यमन्त्रीलै सम्हाल्नेगरि तोकिएको भएपनि प्रदेश सरकारको वेवसाइटमा अझै त्यसअनुसार अपडेट छैन । पर्यटन वन तथा वातावरण मन्त्रालयको वेवसाइटमा मन्त्रीको रुपमा मुख्यमन्त्रीकै नाम राखिएको भएपनि खानेपानी मन्त्रालयमा राजीनामा दिएका मन्त्री मगरकै नाम छ भने सामाजिक विकास मन्त्रालयको वेवसाइटमा मन्त्रीको नाम नै छैन ।

यसअघि तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखलाई जानकारी नदिई आफैं मन्त्रीहरुलाई खाली मन्त्रालयको कार्यभार तोकेर मन्त्रालय पठाएका थिए । त्यसबारे प्रदेश प्रमुखको कार्यालयले आपत्ती जनाएपछि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखसमक्ष गल्ती भएको स्वीकार गर्दै अर्को पत्र पठाएर त्यसलाई मिलाइएको थियो ।

आइतबार, ०२ बैशाख, २०८१, बिहानको ०९:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर