सरकारको विषयलाई लिएर कांग्रेसभित्र किचलो, उपनिर्वाचनसम्म थामथुमको प्रयास

विराटनगर । कोशीमा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा विवाद देखिएको छ । इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा केन्द्रबाट नेताहरू आएर एकताको संकेत गरिरहँदा सरकारको विषयलाई लिएर दुई पक्षबीच दोहोरी चल्न थालेको हो । संस्थापन र इतर पक्षका नेताबीच विवाद चलि रहेको छ ।

बुधबार साँझ आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राई कांग्रेस संसदीय दलका नेता उद्धव थापाविरुद्ध खनिए । केदार कार्की नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको बताउँदै आएका थापाप्रति उनी खनिएका हुन् । थापाले अहिलेको सरकारले राजिनामा दिएर मार्ग प्रसस्त गरीदिनुपर्ने बताउदै आएका छन् ।

पत्रकार सम्मेलनमा भने मन्त्री राईले भने थापाले मात्रै बोलेर नहुने प्रतिक्रिया दिएका थिए । ‘दलको नेताले मात्रै बोलेर हुँदैन,’ उनले भने ‘उद्धव थापा को हुन् र ? हामी पनि छौँ दलमा १’

त्यसको बदलामा बिहीवार थापाले पनि सरकारले दलसँग कुनै छलफल नगर्ने गरेको आरोप लगाए । प्रदेश समितिको पदाधिकारीहरूसँगको बैठकपछि उनले मुख्यमन्त्री कार्कीले पनि कुनै छलफल नगरेको बताए । सरकार बचाउमा नलाग्ने उनले प्रस्ट संकेत गरेका छन् । मुख्यमन्त्री र मन्त्रीहरुले विश्वासको मत लिनु नपर्ने बताइरहदा थापाले अलपमतमा सरकार परेकाले विश्वासको मत लिनुपर्ने बताएका छन् ।

‘हिजोसम्म हामीसँगै रहेका गठबन्धनका साथीहरूले सरकार छोडिसक्नु भएको रहेछ,’ उनले भने, ‘अहिलेसम्म दलसँग कुनै पनि छलफल मुख्यमन्त्रीले जानकारी गराउनु भएको छैन । हामीले पनि मिडियाबाट मात्रै थाहा पाएका छौँ ।’

मुख्यमन्त्रीले समन्वय नगरेपनि यो सरकार टिकाउन लाग्ने तर टिक्ने अवस्था बनेन भने आफू नयाँ सरकार गठनका लागि बाधक नबन्ने स्पष्ट पारे । नेपाली काग्रेस नया सरकारका लागि बाधक नबन्ने उनको भनाइ रहेको छ । अहिले मध्यावधि हुने स्थिति नभएको भन्दै उनले यस्तो बताएका हुन् । कोशीमा कांग्रेसभित्रको विवाद गहिरो भएपनि यो उपनिर्वाचसम्म थामिने प्रयास भइरहेको संस्थापन पक्षका एक नेताले बताए ।

‘इलाम– २ मा वैशाख १५ गते हुन गइरहेका उपनिर्वाचनलाई असर पुग्ने डरले मात्रै संस्थापन पक्षका नेताहरू कम बोलिराख्नु भएको छ,’ ती नेताले भने ‘नत्र संसदीय दलको बैठक बसेर राजीनामा दिन निर्देशन आइसक्ने थियो ।’

मुख्यमन्त्री कार्कीले भने विश्वासको मत नलिने जिकिर गर्दै आइरहेका छन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री राईले संविधानको अन्तिम विकल्पको धारा प्रयोग भएर बनेको यो सरकारले विश्वासको मत लिइरहनु नपर्ने बताए ।

संवैधानिक हिसाबले सरकार परिवर्तन हुने कुनै आधार नभएको प्रवक्ता राईको स्पष्ट पारेका थिए ।

मुख्यमन्त्री कार्कीले उद्धव थापा नेतृत्वको सरकार हुँदा प्रमुख प्रतिपक्षीको जस्तो व्यवहार गरेको संस्थापन पक्षको आरोप रहेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बहुमत सांसदहरूले हस्ताक्षर गर्दै कोशीका मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन र विश्वासको मत औपचारिक रुपमा फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

एमालेका ३९ र माओवादीका १३ सांसदको हस्ताक्षरसहित कोशीमा वैकल्पिक सरकारको गठनको सम्भावना रहेको पत्र दिएका छन् । पत्र दिएपछि प्रदेशसभा विघटन गर्न पनि असहज हुने कांग्रेसकै नेताहरूको दाबी रहेको छ ।

गत असोज २७ गते एमालेका ३९ जना र कांग्रेसका ८ जना सदस्यसमेत कुल ४७ जना सदस्यको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए । उनलाई कात्तिक १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाहेक सबै दलले विश्वासको मत दिएका थिए ।

५२ जना प्रदेशसभा सदस्यले अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ६ गतेका लागि बैठक बोलाएका छन् ।

शुक्रबार, ३० चैत, २०८०, बिहानको ०७:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर