मोरङ । बाटोघाटो, पुलपुलेसोजस्ता भौतिक पूर्वाधारको निर्माणलाई मात्रै विकास ठान्ने सङ्कीर्णतावादी मान्यतालाई तोड्दै बौद्धिक विकासको दरिलो उदाहरण पस्कन सफल हुँदै छ– पथरीको फ्रेन्डसिप चेस क्लब । २०५९ सालमा स्थापना भएको यस क्लबले समाज रूपान्तरणमा खेलमार्फत बौद्धिक विकासलाई पनि प्रमुख आधार प्रमाणित गर्दै आफ्नो राष्ट्रव्यापी प्रसिद्धिलाई निरन्तरता दिइरहेको छ । यसैले गर्दा आज पूर्वोत्तर मोरङको हरित नगरी पथरी बुद्धिचाल प्रतियोगितात्मक कार्यक्रममार्फत पनि बौद्धिक विकासको आकर्षक केन्द्र बन्दै छ । अहिले देशभरका चर्चित बुद्धिचालसम्बद्ध खेलाडीहरू पथरीमा भेला भई बौद्धिक कसरत बढाइरहेका छन् ।
स्थापनाकालदेखि नै बुद्धिचालसम्बद्ध विभिन्न कार्यक्रम आयोजना गर्दै आएको फ्रेन्डसिप चेस क्लबले २०७५ सालमा पहिलो पटक सहिद रत्नकुमार बान्तवाको स्मृतिमा राष्ट्रिय बुद्धिचाल टुर्नामेन्ट गर्न सफल भयो । उक्त संस्करणमा झापाका सुश्रुत दाहाल विजयी भए । यस्तै २०७८ सालमा प्रदेशस्तरीय बुद्धिचाल टुर्नामेन्ट आयोजना गर्दा रूपेश जैसवाल विजयी बने ।
काठमाडौँका बद्रीलाल नेपाली विजयी बनेको दोस्रो राष्ट्रिय संस्करण, २०७९ सफल भएपछि क्लबले अहिले तेस्रो राष्ट्रिय संस्करणको आयोजना गरेर पथरीलाई ‘बुद्धिचालमय’ बनाउँदै छ । देशका विभिन्न भागबाट कुल १५० जना बुद्धिचाल प्रतियोगी सहभागी रहेको यो तेस्रो संस्करण यही चैत्र २७ गतेदेखि सञ्चालन भइरहेको छ । चार दिनसम्म चल्ने प्रतियोगिताको चैत्र ३० गते (आज) फाइनल स्पर्धा छ । स्थानीय सिन भिलेज पार्टी प्यालेसको सभाहलमा सञ्चालन भइरहेको यस प्रतियोगितामा सहभागी हुन सातै प्रदेशका बुद्धिचालप्रेमी खेलाडीको सहभागिता रहेको आयोजक क्लबका कोषाध्यक्ष एवम् प्रतियोगिताका चिफ आर्बिटर डम्बर राईले जानकारी दिए ।
पथरीशनिश्चरे नगरपालिकाको प्रमुख आर्थिक सहयोगमा सञ्चालन भइरहेको यस रेटिङटुर्नामेन्टमा स्थानीय सङ्घसंस्था, समाजसेवी, बुद्धिजीवी, खेलप्रेमीसहित छिमेकी पालिकाहरूले पनि सहयोग गरेका छन् । आयोजक क्लबका अध्यक्ष अमिर राई भन्नुहुन्छ– ‘‘करिब ८ लाखको अनुमानित लागतमा सञ्चालित प्रतियोगिताले पथरीको नाम राष्ट्रव्यापी बनाउन सहयोग मात्र गरेको छैन, एउटा बौद्धिक नागरिक बन्ने दरिलो आधार समेत खडा गरेको छ ।’’ स्थापनाकालदेखि नै बुद्धिचाल सम्बद्ध विविध कार्यक्रम सञ्चालन गर्दै आएको यस क्लबले ग्रामीण प्रतिभाको पहिचान गरी तिनै प्रतिभा प्रस्फुटनमा सुनौलो अवसर सिर्जना गरेको बताउनुहुन्छ अध्यक्ष अमिर राई । राष्ट्रियस्तरमा राम्रो प्रतिस्पर्धा गर्न सक्ने ३५ भन्दा बढी रेटेड खेलाडी जन्माइसकेको क्लबले पछिल्लो समयमा यहीँ राष्ट्रिय स्पर्धाको आयोजना गर्दै नवखेलाडीलाई समेत आकर्षण गरिरहेको छ । यस आधारमा पनि पथरी नगर खेलकुदमैत्री बन्दै गएको विभिन्न खेलप्रेमीहरूको भनाइ रहेको छ ।
१५० जना खेलाडीले प्रतिस्पर्धा गर्दै गरेको अहिलेको राष्ट्रव्यापी तेस्रोसंस्करणको चेस टुर्नामेन्टबाट नै ३६ जना पुरस्कृत हुँदै छन् । यिनमा १५ जनाले प्रमुख पुरस्कार पाउने छन् भने २१ जनाले विधागत पुरस्कार पाउने आयोजक क्लबले जानकारी दिएको छ । कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कारमा खर्च गर्न लागेको क्लबले उक्त पुरस्कारलाई ‘समाज रूपान्तरणको प्रमुख अस्त्र’ मानेको छ । यही सन्दर्भ जोड्दै
प्रतियोगिताका चिफ आर्बिटर डम्वर राई भन्छन्, ‘निश्चय पनि पुरस्कारले प्रतिस्पर्धीलाई हौसला त दिन्छ नै तर त्योभन्दा पनि बढी समुदायमा बुद्धिचाल खेलको महत्त्व प्रवाह गर्न सहयोग गरिरहेको छ । हिजोसम्म बुद्धिचाललाई लुडोजत्तिकै ठान्ने समाज आज परिवर्तन भएको पाउँछौँँ ।’
नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राईका अनुसार नगरपालिकाको प्रमुख आर्थिक सहयोगमा सञ्चालन भइरहेको यस प्रकारको टुर्नामेन्टबाट नगरको भिन्न खेलमैत्री पहिचान कायम हुने गरेको छ । यस्तै नगर खेलकुद समितिका पूर्वसदस्य राजु तिम्सिनाको बुझाइमा पथरीशनिश्चरे नगरभित्र आयोजना भइरहेका विभिन्न प्रकारका खेलसम्बद्ध कार्यक्रमहरूले राष्ट्रिय स्तरमै चासो बढाइरहेको पाइन्छ । पथरी बहुमुखी क्याम्पसमा स्वास्थ्य तथा शारीरिक विषय प्राध्यापन गर्दै आउनुभएकी शिक्षण सहायक रञ्जिता बरालको भनाइमा यथार्थ विकासले मानिसको सर्वाङ्गीण विकासलाई समेट्ने हुँदासोही मान्यताअनुरूप नगरमा सञ्चालित विभिन्न प्रकारका शारीरिक एवम् बौद्धिक विकाससम्बद्ध कार्यक्रमहरू सबै अनुकरणीय छन् ।
पथरीशनिश्चरे नगरपालिकाले पनि नगरको सर्वाङ्गीण विकासलाई समेट्ने गरी कार्य गर्दै आएको छ । यिनमा विकासका पूर्वाधारसँगै बौद्धिक विकासका क्षेत्रमा पनि नगरको राम्रो लगानी छ । यसैअनुरूप बौद्धिक विकाससम्बद्धविभिन्न कार्यक्रम सञ्चालन गर्दै यहाँका नगरवासीलाई मात्र नभई सबै नागरिकलाई लाभान्वित गर्ने गरी विस्तृत कार्ययोजना बनाइ सहयोग गरिरहेको बताउँछन् –पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो । अतः पथरीमा सञ्चालित बौद्धिक विकासको एउटा प्रमुख आधार मानिएको चेस टुर्नामेन्टजस्तै अन्य कार्यक्रम सञ्चालनमा पनि सरकारी योजनाले प्राथमिकता पाए अझ राम्रो हुन्थ्यो कि !