विराटनगर । इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाउने भएको छ । इदुलफित्र मनाउनका लागि आज (बीहिवार ) मुस्मिलम समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।मुस्लमानहरुको महान् धार्मिक ग्रन्थ कुर्आन अवतरणको शुरुवात भएको यो महिनालाई रमजान (रोजा–उपवास) लिने महिना समाप्त भएको भोली पल्ट इदुलफित्र मनाउने गरेको छन ।
यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् ।रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४७ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुस्लमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ ।
रमजान महिना मुसलमान लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुनेगर्छ ।
इदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेका छन् । विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलावडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिँदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वको विशेषता हो ।
एक महिनासम्म चल्ने रमजानमा मुस्लिम धर्मालम्वीहरुले सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा (सेहरी) खार्ई सुरु हुने रोजा सूर्यास्तपछि सकिन्छ । रोजाको समयमा मुसलमानहरु निराहार बस्नुपर्छ । रोजा लिनेहरुले आफ्ना पाँचै ईन्द्रियहरुलाई नियन्त्रणमा राखी दिनभरि निराहार बस्छन् ।
रोजामा विहानको ४ः२३ बजेदेखि बेलुका ६ः०६ सम्म निराहार बस्ने चलन रहेको छ । त्यसपछि मात्र रोजा सकिन्छ । रोजा अवधिमा खानपिन, जेमा (यौन सम्पर्क) गर्न बञ्चित गरिएको हुन्छ । जानिजानी निषेध गरेको काम गर्यो वा खानेकुरा खायो भने जरिवानास्वरुप (कफ्फारह ) ६० जना गरिब असाहायलाई भोजन गराउनुपर्ने व्यवस्था छ । तीस दिनको रमजान महिनालाई तीन भागमा बाँडिएको हुन्छ । पहिलो १० दिनको अवधिलाई रहमत (अल्लाहबाट बक्सिस), दोस्रो १० दिनको अवधिलाई मगफेरत (पापबाट छुट्कारा पाउने) र अन्तिम १० दिनको अवधिलाई जहन्नम बाट आजादी ( मृत्युपश्चात स्वर्ग पाउने) भनिन्छ । मुस्लमानहरु यही विश्वासका साथ अल्लाहको आदेश पालना गर्दै रोजा बस्ने गरेको अञ्जुमन ईस्लामिया, जामे मस्जिद बुधहाट चोकका खातिव र इमाम अब्दुल मनान कादिरले बताए । एक महिना मुस्लिम समुदायको लागि लगन, विश्वास र भरोसा (कसरथ)को महिना भएको र अल्लाहमा समर्पण गर्न, मुस्लिमको मगफिरत (धर्मगर्ने महिना) र जहन्नम (नर्क)बाट बच्ने महिनाको रुपमा मनाउने गरेको विराटनगरमा मुस्लिम अगुवा जफर अहमद जमालीले बताए ।
रोजामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुंको मूल्य बराबर फितरा (कर) निकाल्नुपर्छ । साढें सात तोला सुन र ५२ तोला चाँदीको मूल्यभन्दा बढी आर्थिक हैसियत भएका मुसलमानहरुले आफ्नो आम्दानीबाट अढाई प्रतिशत जकात (कर) दान गर्नुपर्छ । यस्तो फितरा र जकात गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्छ । फितरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकालिसक्नु पर्छ । फितरा र जकात तिर्नुको अर्थ गरिब मुसलमानले पनि धनीले जस्तै रमजान मनाउन सकुन् भनेर धार्मिक करको व्यवस्था गरिएको बताइन्छ ।