विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेकोले राजीनामा दिनुपर्ने सुझाब नेपाली काँग्रेसले दिएको छ ।
सरकारबाट माओवादी केन्द्र फिर्ता भएर नेकपा एमालेसहित ५२ जना सांसदहरुले बैंकल्पिम सरकारको दावी गरिसकेकोले मुख्यमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने सुझाब कोशी प्रदेशका कांग्रेस सभापति समेत रहेका काँग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धब थापले दिएका हुन् ।
नेपाली काँग्रेसका ८ सांसदको सहयोगमा नेकपा एमालेको साथ पाएर मुख्मन्त्री भएका कार्कीलाई दिएको समर्थन एमाले र माओवादीले फिर्ता लिइसकेको बेला काँग्रेसले पनि राजीनामा दिन सुझाब दिएको हो । संसदको अकगणित हेर्दा विश्वासको मत प्राप्त गर्ने सम्भावना नदेखिएकोले मुख्यमन्त्रीले राजीनामा दिनु उचित हुने थापाले बताए ।
‘एमाले र माओवादी एकठाउँमा उभिएर समर्थन फिर्ता गरिसकेपछि मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउने संभावना देखिन्न’ थापाले भने, ‘त्यो अवस्थामा राजीनामा दिनु उपयुक्त हुन्छ ।’ कोशी प्रदेशसभा विघटन हुने कुनै संभावना नभएको भन्दै उनले मध्यावधिको कुरा अनावश्यक रहेको बताए । ‘मध्यावधिमा जानु पनि हुँदैन, मध्यावधिको अहिले समय पनि छैन’ उनले भने, ‘मध्यावधिको पक्षमा जनता तथा दलहरु पनि छैनन् । त्यसैले कोशी प्रदेको स्थायित्व र स्थिरताको लागि काँग्रेस बाधक बन्नुहुदैन ।’
एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि नेकपा एकीकृत समाजवादीले भने तत्काल समर्थन फिर्ता नलिने बताएको छ । तर, मुख्यमन्त्री कार्कीकै दल काँग्रेस संसदीय दलका नेता थापा अब मुख्यमन्त्री नयाँ सरकार निर्माणमा बाधक बन्नु नहुने पक्षमा उभिएका छन् । त्यसबारे संसदीय दलको बैठक बसेर थप छलफल गर्ने उनले बताएका छन् ।
कार्की सरकारलाई समर्थन गरेको जसपाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । कार्कीलाई दिएको समर्थन एमालेका ३९ र माओवादीका १३ सांसदले फिर्ता गरेपछि उनको विपक्षमा स्पष्ट बहुमत पुगेको छ । सरकार निर्माणको लागि ४७ सांसद आवश्यक पर्नेमा एमाले माओवादी गठबन्धनमा ५२ सांसद छ्न ।