विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बहुमत सांसदहरुले हस्ताक्षर गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन र विश्वासको मत औपचारिक रुपमा फिर्ता लिएका छन् ।
सोमबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री कार्कीलाई समर्थन गर्न दिएको हस्ताक्षर एमालेको सांसदहरुले फिर्ता गरेका छन् भने प्रदेशसभा सचिवालयमा विश्वासको मत फिर्ताको पत्र दुबै दलका सांसदहरुले दिएका छन् ।
एमालेका ३९ र माओवादीका १३ सांसदको हस्ताक्षरसहित गठबन्धनले कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनको संभावना रहेकोले त्यो प्रक्रिया अगाडि बढाउन पनि प्रदेश प्रमुख पर्शुराम खापुङलाई निवेदन दिएको छ । मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै प्रदेश प्रमुखलाई आफूहरुसँग बहुमत रहेकोले वैकल्पिक सरकार गठन हुने आधार रहेको निवेदनमा खुलाइएको छ ।
निवेदनमा एमाले प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन आग्रह गरिएको छ । गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सदस्य समेत कुल ४७ जना सदस्यको समर्थनका आधारमा काँग्रेस सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई कात्तिक १ मा राप्रपाबाहेक सबै दलले विश्वसको मत दिएका थिए ।
‘नेपालको संविधान बमोजिम माननीय मुख्यमन्त्री केदार कार्कीले बहुमत सदस्यको विश्वास गुमाईसकेकोले कोशी प्रदेश सभाका हामी बहुमत सदस्यहरू नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेशसभा संसदीय दलका नेता माननीय हिक्मतकुमार कार्कीलाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन माननीय प्रदेश प्रमुखज्यू समक्ष दाबी प्रस्तुतिका साथ अनुरोध गर्दछौ’, गठबन्धनका दलले प्रदेश प्रमुखलाई बुझाएको निवेदनमा उल्लेख छ ।