शोकाप्तिः श्रद्धाञ्जलि सन्जेश सर

 अनन्तराज न्यौपाने

ज्ञानीहरू भन्छन्– मानिसका लागि मृत्यु जन्मसिद्ध अधिकार हो रे । जहिले भए पनि जीवनमा एक पटक स्वीकार गर्नैपर्ने उपहार पनि हो रे । मृत्यु सन्ताप पाउनेका लागि एक आश्रय, क्लान्तका लागि आराम, भोगवादीहरूलाई एक झड्का, तीर्थालुका लागि कोशेढुंगा र हुतीहारालाई दण्ड हो रे । ज्ञानीका लागि चाहिँ मृत्यु स्वर्ग हो रे ।

उपर्युक्त कुरा ध्रुवसत्य हुन् तर बहुधा के देखिन्छ भने एक से एक ज्ञानी पनि आफ्ना घरका वा घनिष्ठ कसैले मृत्युवरण गर्दा शोकमा परेका हुन्छन् अनि अर्काका घरमा यस्तो घटना हुँदा मात्र यस्ता आदर्श र सिद्धान्त छाँटिरहेका हुन्छन् । यसरी आदर्श र सिद्धान्त पनि आफूलाई नपरेसम्म मात्र आदर्श र सिद्धान्तका रूपमा बस्ता रहेछन् । आफूलाई परेपछि मानवजन्य स्वभाव र वृत्ति आइहाल्दो रहेछ ।

कृष्णले गीताको दोस्रो र आठौँ अध्यायमा मृत्युका विषयमा विशद चर्चा गरेका छन् । पढ्दा लाग्छ, कसैका मृत्युमा पनि किन रुने ? किन डाको छाड्ने र किन शोकविह्वल हुने ? तर आफूलाई पर्दा यी सबै भाव कहाँ जान्छन् कुनै हिसाब छैन । सबैभन्दा पहिले गीताज्ञान पाएका अर्जुनमा पनि यही देखियो । युद्धमैदानमा १८ अध्याय गीता सुनेर ज्ञानी बनेर कृष्णका पाउ समातेर ‘करिष्ये वचनं तव’ (हजुरले भनेअनुसार नै गर्छु) भन्ने वचनबद्धता प्रकट गरेका अर्जुनमा पनि परेका बेला सबै ज्ञान लुप्त भए ।

धर्मयुद्धका नियमलाई उल्लंघन गरेर छोरा अभिमन्युको नृशंस र अमानवीय हत्या गरिएपछि अर्जुनको गीताज्ञानले पनि हावा खायो । उनले तत्काल प्रतिज्ञा गरे– भोलि दिनभरिमा अभिमन्युको हत्यारा जयद्रथलाई मार्न सकिन भने म नै अग्निसमाधिमा जान्छु । अन्ततः कृष्णले जालसाज गरेर जयद्रथलाई मराउनु प¥यो र अर्जुनको ज्यान जोगियो । सर्वप्रथम गीताज्ञान पाएका अर्जुनको अवस्था त यस्तो देखियो भने हाम्रो त के कुरा ?

चैत २० मंगलवार विराटनगरका एक शिक्षासेवी र समाजसेवी सन्जेश कोइरालाको निधन भएपछि पंक्तिकारका मनमा उल्लिखित कुराहरूले च्वास्स–च्वास्स घोचिरहे । खबर सुन्नेहरू एकाएक निःशब्द, स्तब्ध र किंकर्तव्यविमूढ भए । झ्वाट्ट सुनेर कतिपयले पत्याएनन् र एक–दुई ठाउँ फोन घुमाए अनि बल्ल ‘हो रहेछ’ भनेर लामो सास फेरे । किनकि सन्जेशको मृत्यु अकल्पनीय थियो, असामयिक थियो र अत्यन्त आकस्मिक थियो ।

सन्जेश करिब ३ दशकदेखि पूर्वाञ्चल विश्वविद्यालयसित जोडिएका थिए । व्यवस्थापन क्याम्पसमा उपप्राध्यापक भएर करिअर सुरु गरेका उनी त्यही क्याम्पसका प्रमुख भए । पूविमा तीन महिनाका लागि निमित्त रजिस्ट्रारको कार्यभार पनि सम्हाले । यही विश्वविद्यालयमा योजना महाशाखाका प्रमुख भए र हाल अनुगमन तथा मूल्यांकन केन्द्रका कार्यकारी निर्देशकका रूपमा क्रियाशील थिए । प्राध्यापनका क्रममा विश्वविद्यालयको प्राध्यापक संघको सभापति पनि भएका उनी एक हक्की, निर्भीक र स्पष्टवक्ता थिए । विश्वविद्यालयका थोरै इमानदार जनशक्तिमध्ये उनको नाउँ माथि पर्दथ्यो । तर मुटुमा स्टेन राखेपछि उनमा सुरु भएको जटिलता मृगौला हुँदै फोक्सोसम्म पुग्यो र मृत्युमा गएर टुंगियो ।

खासमा सन्जेश उक्त विश्वविद्यालयको उपकुलपतिका लागि एक योग्य, सक्षम, निष्कलंक र निष्ठावान् प्रत्याशी थिए । पछिल्लो पटक पनि उनले उपकुलपतिका लागि आवेदन हालेका थिए तर उनलाई न्याय गर्नुपथ्र्यो भने धेरै अगाडि गरिसक्नु पथ्र्यो । उपकुलपतिमा आवेदन हालेको केही समयपछि नै राजनीतिक परिस्थिति उनको अनुकूल भएन किनकि केन्द्रीय सत्तागठबन्धन परिवर्तन हुँदा उनले भर गरेको पार्टी नेपाली कांग्रेस सत्ताच्युत भयो । अब उपकुलपति बन्ने उनको संभावना क्षीण भइसकेको थियो ।

त्यसोत, कांग्रेसले पनि उनलाई कहिल्यै न्याय गरेन जबकि उनका हजुरबा डिट्ठा दधिरामका पालादेखि कांग्रेस र कोइराला निवासले उनका घरको नुनभुटुन खाएको थियो । उनका पिता नारायणप्रसाद कोइराला (नारायणबाबु)ले पञ्चायत कालका कठोर दिनमा फारबिसगंजदेखि बनारससम्म प्रवासमा बसेका कांग्रेसजनका लागि रासनपानी पेल्थे । बीपीको उपचारका लागि होस् वा प्रतिबन्धित कालमा पार्टीअफिसको भाडा तिर्न वा कुनै कार्यक्रम गर्नुपरोस्, नारायणबाबु ठुलो आडभरोसाका एक पात्र हुनेगर्थे । तर प्रजातन्त्रको पुनःस्थापनापछि नारायणबाबु एक ‘आलकांरिक नेता’ मात्र बनाइए । हुँदाहुँदा २०५६ को चुनावमा के भयो त्यसको चर्चा यहाँ नगर्नु नै वेश हो ।

प्रजातन्त्रको पुनःस्थापनापछि विराटनगरमा पूर्वाञ्चल विश्वविद्यालयको स्थापना गर्न यिनै नारायणबाबुको महत्वपूर्ण र निर्णायक भूमिका रह्यो । उनी विराटनगरमा विश्वविद्यालय ल्याउन गठन गरिएको समितिका सभापति थिए र यसका लागि उनले अथक मेहनत गरेका थिए ।

यसरी सन्जेशको पूर्वाञ्चल विश्वविद्यालयसित जागिर मात्रै जोडिएको थिएन, भावना पनि जोडिएको थियो । उनी यस विश्वविद्यालयमा आफ्ना पिताको आत्माले विचरण गरिरहेको अनुभव गर्थे । तर यसलाई उनले सोचेजसरी नेतृत्व दिन पाएनन् । खानदानी र सम्पन्न परिवारका सन्जेशका लागि उपकुलपतिको जागिर तृणबराबर हुन्थ्यो तर उनलाई नेतृत्व दिनबाट रोक्नु विश्वविद्यालयकै लागि दुर्भाग्य थियो ।

अब सन्जेश भौतिक रूपमा हामीसित हुने छैनन् । विराटनगरको समाजले एक सरस, सरल र सहृदयी पात्र गुमाएको छ । अल्पायुको उनको मृत्युवरण सबैका लागि आश्चर्य भएको छ । उनमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

बुधबार, २१ चैत, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर