सम्पादकीय
यो वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) आजबाट सुरु हुँदैछ । यो परीक्षा विद्यार्थी जीवनको एउटा नियमित परीक्षा हो । जसरी कक्षा १ को विद्यार्थीले वार्षिक परीक्षा दिन्छ, त्यसरी नै कक्षा १० को विद्यार्थीले पनि एसईई दिन्छ । विद्यार्थीले आफ्नो शैक्षिक जीवनमा यस्ता अनगिन्ती परीक्षाको सामना गर्नुपर्छ । तर, एउटा नियमित जाँचलाई वितदेखि हाउगुजी बनाइएको छ । राज्य र अभिभावकदेखि सञ्चार माध्यमसम्मले यसलाई हाउगुजी बनाएका छन् । कक्षा १ देखि स्नातकोत्तरसम्मको पढाइ सक्दा एउटा विद्यार्थीले २० वटा भन्दा धेरै वार्षिक परीक्षा दिनुपर्छ । तर, ती परीक्षाहरुको चर्चा कहिल्यै हुँदैन । मास्टर डिग्रीको परीक्षा कहिले सुरु भयो र कहिले समापन भयो भन्ने सम्बन्धित विद्यार्थी बाहेक अन्यलाई जानकारी नै हुँदैन । न विश्वविद्यालयले परीक्षा सुरु भएको बारे हल्लाखल्ला गर्छ र न नतिजाबारे । तर, विगतमा एसएलसी र अहिले एसईईलाई मात्र यति ठूलो परीक्षा बनाईको छ कि मानौं जीवनमा सबैभन्दा मुख्य परीक्षा नै त्यहि हो । जुन सत्य हैन ।
एसईईलाई अग्लो पहाड बनाइएको छ, जसलाई जसरी पनि वारपार गर्नुपर्ने दबाब विद्यार्थीमा थोपरिएको छ । एसईई भनेको लामो स्कुले जीवनबाट पार पाउने एउटा तह हो । यो माध्यमिक तहको परीक्षा हो । तर, एसएलसी परीक्षा एसईईमा रुपान्तरण हुँदा पनि यसलाई ठूलो हाउगुजी बनाइएको छ । अझ यसलाई फलामे ढोकाको रुपमा प्रचार गर्ने गरिएको छ । नतिजा ग्रेडिङ प्रणालीमा आउँदा पनि प्रतिशतमा रुपान्तरण गरेर होहल्ला गर्ने गरिएको छ । यो परीक्षा पास गरिएन भने संसारै डुब्छ भनेर विद्यार्थीलाई सिकाइएको छ । त्यहि कारण अन्य परीक्षाभन्दा यो परीक्षा दिनानुदिन अमर्यादित बन्दै गएको छ । विद्यार्थीलाई जसरी पनि उत्कृट नतिजा ल्याउन बाध्य पारिनु उनीहरुमाथिको ज्यादती हो । एउटा परीक्षालाई ठूलो हाउगुजी बनाएर इज्जत र प्रतिष्ठा नै परीक्षाको परिणाममा नाप्नु गलत हो । एसईई, अध्ययनको एउटा तह मात्र हो, मानव जीवनको अन्तिम परीक्षा होइन । अर्को कुरा यो परीक्षामा राम्रो गर्ने मात्र सफल हुन्छ र यो परीक्षामा कमजोर भएको विद्यार्थीले प्रगति गर्न सक्दैन भन्ने मिथ्या हो ।
आम अभिभावक, शिक्षक, विद्यार्थीहरूले विद्यार्थीहरूमा मनोवैज्ञानिक असर पर्ने गरी यो परीक्षा नै जीवनको सबैभन्दा ठूलो कुरा हो भन्ने भ्रम छर्न बन्द गर्नुपर्छ । अझ महत्वपूर्ण कुरा के हो भने कुनै पनि व्यक्ति समाजमा कसरी प्रस्तुत हुन्छ र समाजलाई के योगदान दिन्छ भन्ने कुराले जति महत्व राख्छ, त्यति एसईईमा प्राप्त अंकले पक्कै राख्दैन । एसईईको अंकलाई प्रतिष्ठाको विषय बनाउने कुरा उपयुक्त छैन । परीक्षालाई हाउगुजीका रुपमा प्रस्तुत गर्दा त्यसले विद्यार्थीलाई तर्साउने काम मात्र गरिरहेको छ । विगतमा कोभिड महामारी भएको बेला सरकारले परीक्षा नै नलिई नतिजा दिएको थियो । त्यसबाट पनि यो परीक्षा प्रचार गरिएजस्तो हाउगुजी हैन भन्ने स्पष्ट हुन्छ । अर्कोतिर हाम्रो मूल्यांकन बिधिबारे पनि प्रश्न छ । वर्षभरी अध्ययन गरेको विषयलाई ३ घण्टामा गरेको प्रस्तुतको आधारमा मापन गरेर सहि मूल्यांकन हुन सक्दैन ।
कुनै पनि परीक्षाको परिणाम र त्यसपछिको व्यवहारबीच तालमेल नै छैन । तालमेल हुँदो हो त एसएलसीमा नेपाल प्रथम भएकाहरु देशका सर्वोत्कृष्ट व्यक्ति बन्थे । एउटा विधा समातेर त्यसैबाट आफूलाई उत्कृष्ट साबित गराउँथे । तर घोकन्ते विद्या, सिकेको कुरालाई ३ घण्टामा ओकल्नुपर्ने बाध्यता, परीक्षाको दिन बिरामी वा अन्य कारणले अनुपस्थित हुन नपाइने प्राविधिक बाध्यताका कारण जतिसुकै मेधावी विद्यार्थी भएपनि असफल परिणाम हात लाग्नसक्छ । यसै कारण शिक्षामा गुणस्तर र व्यावहारिक परिवर्तन दुवै देखिँदैन । पढ्यो, घोक्यो, पास ग¥यो सकियो । जति धेरै अंक त्यति धेरै गुणस्तर– यो नै सम्प्रति शैक्षिक उपलब्धिको सूचक बनेको छ । वर्षदिन पढेको कुरालाई तीन घण्टामा ओकल्न सके उसको सिकाइ पूरा हुने नत्र नहुने परीक्षा पद्दति नै गलत छ । यसले घोक्नमा जोड दिएको छ, सिक्नमा होइन । त्यसैले यो प्रणालीकै विकल्पबारे बहसको खाँचो छ ।