उद्यमसँगै रोजगारी बढाउँदै थुलुङ दुधकोशी : स्थानीय फलफुलको बजार सुरक्षित गर्न जुस र अचार उत्पादन

–आयातीत पेय पदार्थमा रोक लगाउने तयारी

विराटनगर । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न अग्रसर बनेको छ । स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि बढाएको गाउँपालिकाको ७ नम्बर वडाले स्थानीय किसानले उत्पादन गरेको फलफुलबाट जुस बनाउने उद्यम थालेको छ ।

गाउँपालिकाले सञ्चालन गरेको उद्यमशीलता विकास तालिममा सहभागी भएका ३४ जना स्थानीय मिलेर व्यवसायिक जुस उत्पादन सुरु गरेको वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिए । सीप सिकेकाहरुले व्यवसायिक रुपमा जुस उत्पादन गरी बजारमा लैजाने तयारी गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ता गरेर जुस उत्पादन सुरु गरेका हुन् । उनीहरुले यस वर्ष किवी, सुन्तला, अमला र कागतीको जुस उत्पादन गर्ने तयारी गरेका छन् । त्यसका लागि आवश्यक पर्ने किवी, सुन्तला र अमला उनीहरुले खरिद गरेर कोल्डस्टोरमा भण्डारण गरेका छन् । कोल्डस्टोरबाट आवश्यकता अनुसार फलफुल निकालेर दैनिक फलफुल पेलेर जुस बनाउने गरेका छन् ।

थुलुङ दुधकोशी गाउँपालिका ८ नम्बर वडामा २१ मेट्रिक टन क्षमताको कोल्डस्टोरेज निर्माण गरी फलफुल सुरक्षित भण्डारण गर्ने गरिएको छ । व्यवसायिक जुस उत्पादनको क्षमता बढाउँदै जानुपर्ने भएकोले वडा नम्बर ७ पनि कोल्डस्टोर बनाउने प्रक्रिया अगाडि बढाएको अध्यक्ष कार्कीले जानकारी दिए । यसरी उत्पादन गरिएको जुस एक वर्षसम्म सुरक्षित रहने भएकोले बजारीकरणमा गाउँपालिकाले सहजीकरण गरिदिनेछ ।

गाउँपालिकाले यस वर्ष परीक्षणस्वरुप १० हजार लिटर जुस उत्पादन गरेर बजारमा पठाउने तयारी गरेको छ । पहिलो चरणमा स्थानीय बजारमै जुस प्रवद्र्धन गर्ने योजना वडा कार्यालयले बनाएको छ । आगामी वर्ष जुसको उत्पादन बढाएर थुलुङ दुधकोशी गाउँपालिकामा कोकाकोला, फेन्टा, स्प्राइटजस्ता आयातित जुसको बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गर्दै गाउँपालिकाले फलफुलको जुस उत्पादन र बजारीकरणमा जोड दिएको वडाध्यक्ष कार्कीले बताए । ‘आफैंले उत्पादन गरेको अग्र्यानिक फलफुलबाट बनेको जुसको प्रयोग बढाउने र आयातीत पेय पदार्थहरुको बिक्रीमा रोक लगाउने हाम्रो योजना छ,’ कार्कीले भने । जुससँगै उक्त उद्यमीहरुको समूहले अचार उत्पादन पनि थालिसकेको छ ।

गाउँपालिकाले थुलुङ दुधकोशी गाउँपालिकाका विभिन्न ठाउँमा पकेट खेती कार्यक्रम सञ्चालन गरी फलफुल उत्पादनमा जोड दिँदै आएको छ । किसानहरुले उत्पादन गरेको फलफुलले बजार नपाउँदा किसानहरु चिन्तित हुनथालेपछि गाउँपालिकाले फलफुलबाट जुस र अचार बनाएर बिक्री गर्ने योजना बनाइ उद्यमशीलता तालिम दिन थालेको हो ।

‘गाउँपालिकाले एक घर एक उद्यमी’ नारासहित उत्पादनमा जोड दिँदै आएको छ । सोही योजनाका साथ उसले हरेक घरका एक जना सदस्यलाई व्यवसायिक सीप सिकाउँदै आएको छ । गाउँपालिकाले एउटा कुनै व्यवसायिक सीप उपलब्ध गराएको घरको अन्य सदस्यलाई अरु प्रकारको सीप विकास तालिममा सहभागी नगराउने नीति लिएको छ । ‘हामीले एउटा घरबाट एक जना सदस्यलाई कुनै एउटा सीप सिकाउँछौं र अर्को प्रकारको तालिममा त्यसै घरबाट अरु सदस्यलाई सहभागी गराउँदैनौं, यसले सिकेको सीपको सदुपयोग गर्न र रोजगारी सिर्जना गर्नुका साथै उद्यम विकासमा पनि योगदान पुग्ने विश्वास लिएका छौं,’ वडाध्यक्ष कार्कीले भने ।जुस उत्पादन तालिम दिएर उद्यमशीलता विकासमा जोड दिएको गाउँपालिकाले यस वर्ष कच्चा पदार्थ खरिद गर्न केही रकम अनुदान दिएको छ भने यन्त्र उपकरण खरिदमा पूर्ण अनुदान दिएको छ । त्यसबाट उद्यमीहरुलाई उत्पादनमा लाग्न सहयोग पुगेको छ ।

गाउँपालिकाले यस वर्ष १४ जना महिलाहरुलाई ढाका बुन्नु तालिम दिएको थियो । तालिम दिएका सबै एउटा केन्द्रमा भेला भएर ढाका उत्पादन थालिसकेका छन् । ढाका उत्पादनलाई पनि व्यवसायिकरुपमा अगाडि बढाइरहेको वडाध्यक्ष कार्कीले जानकारी दिए । ‘घरघरमा स्वेच्छिक उत्पादन गर्न दिँदा व्यवसायिक लक्ष्य हासिल गर्न गाह्रो हुने र गुणस्तर नियन्त्रण गर्न नसकिने भएकोले एउटै केन्द्रमा काम गर्ने र उद्योगकै रुपमा विकास गर्ने गरी उत्पादन विधि बनाइएको छ,’ वडाध्यक्ष कार्कीले भने ।
पछिल्लो पटक गाउँपालिकाले बेकरी उत्पादन र सरफ उत्पादन गर्ने तालिम पनि सञ्चालन गरिरहेको छ ।

कपडा धुन प्रयोग हुने सरफको व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित चैत ८ गतेबाट १५ दिने तालिम जारी रहेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
वडा कार्यालयको आयोजनामा सुरु भएको तालिमको गाउँपालिका अध्यक्ष असिम राईले औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । अध्यक्ष राईले सीपले मानिसलाई परिपक्व र आत्मनिर्भर बनाउने बताए ।

बेकरी तालिममा २५ र सरफमा २२ जनाको सहभागिता छ ।

बुधबार, १४ चैत, २०८०, बिहानको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर