अर्जुन आचार्य
भारत–नेपाल सम्बन्धबारे जानकार चर्चित प्राध्यापक एसडि मुनीसँग विराटनगरका एलिटहरुले गत सोमबार एउटा प्रश्नोत्तर कार्यक्रम गरे । कार्यक्रमको नाम थियो, ‘नेपाल–भारत सम्बन्धका नयाँ आयाम’ । विराटनगरमा लामो इतिहास बोकेको संस्था एलिट क्लबले जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का प्राध्यापक मुनीसँग गरेको यो कार्यक्रम उच्च महत्वको थियो । किनकि दक्षिण एसियाका राजनीतिक विश्लेषकहरुमध्ये एक उत्कृष्ट प्राध्यापक हुन् मुनी । मुनीका कुरा सुन्न र उनलाई केही प्रश्न गर्न उपस्थित केही ‘एलिट’हरुले भने आफ्नो बौद्धिक दरिद्रता प्रस्तुत गरे र कार्यक्रमको ओज र गरिमालाई कमजोर बनाइदिए ।
अंग्रेजी शब्द ‘एलिट’को अर्थ ‘कुलीन’ हुन्छ । अर्थात् ‘समाजमा सबैभन्दा धनी, सबैभन्दा शक्तिशाली, उत्तम–शिक्षित वा उत्तम प्रशिक्षित समूहसँग सम्बन्धीत एउटा स्मार्ट शब्दको रुप नै ‘एलिट’ हो । नेपाली वृहत शब्दकोशमा कुलीन भन्नाले ‘उच्च वा असल कुलको, घरानियाँ, खानदानी’ भन्ने उल्लेख छ । सोही शब्दकोशमा बुद्धिजीवि भन्नाले ‘बौद्धिक काम गरेर जीविका चलाउने’ भन्ने उल्लेख छ । बौद्धिक भन्नाले ‘बुद्धिबाट ग्रहण गर्न योग्य । बुद्धिबाट हुने, बुद्धि सम्बन्धी, बुद्धिको’ भन्ने शब्दकोशमा उल्लेख छ ।
तर, आफूलाई एलिट र बुद्धिजीवि भन्न रुचाउने केही व्यक्तिहरुले गरेको प्रश्न र प्रस्तुत गरेको धारणा नेपाल र नेपालीका लागि लज्जाजनक थिए । उनीहरुले राखेका प्रश्नको बारेमा असन्तुष्टि जनाउँदै साहित्यकार सीमा अभासले त एउटा लामो स्टाटस नै लेखिन् । त्यहाँ मुनीलाई सोधिएका प्रश्न यस्ता थिए ः नेपालको विकासमा भारतले किन चासो नराखेको ?, भारतको एउटा प्रान्तको जति पनि जनसंख्या नेपालको छैन मोदिजीलाई भनिदिनुस् यहाँ रोटीको व्यवस्था गरिदिनुस् भनेर, भारतीयलाई नेपाली नागरिकता बाँडेर राष्ट्रियता कमजोर भयो तपाईँको धारणा के छ ? नेपालको विकासमा भारतले किन सहयोग नगरेको ? राजतन्त्रलाई किन सहयोग नगरेको ? लगायतका प्रश्न थिए ।
राखिएका प्रश्नको स्तर तपाईँ आफैं मापन गर्नुहोस् । के यो मुनीलाई सोध्नुपर्ने प्रश्न थिए ? नेपालको सार्वभौमिकता, स्वाभिमान र नेपालको शासन व्यवस्था, विकास र समृद्धि सबै भारतले गरिदिनुपर्छ भन्ने तपार्इँ ‘एलिट’को कस्तो बौद्धिक दरिद्रता हो ? जवाफमा मुनीले भनेका थिए, ‘तपार्इँको देशको विकास तपार्इँले गर्ने हो । तपार्इँको देशले बाँडेको नागरिकताको विषय तपार्इँकै देशसँग सोध्नुहोस्, तपार्इँलाई सहयोग गर्ने नगर्ने भन्ने विषय भारतको चासोको विषय हो ।’ मुनीका यस्ता उत्तर खेपेर पनि पटकपटक आफ्नै कुरा सुगारटाइ गर्ने ‘कथित बुद्धिजीवि’ पनि कार्यक्रममा देखियो, सुनियो । कार्यक्रममा असान्दर्भिक र अशोभनीय ढंगले प्रस्तुत भएका कतिपयको तर्क सुनेर प्राध्यापक कृष्ण पोखरेलले निधार खुम्च्याएको प्रष्टै देखिन्थ्यो । अन्य कतिपयले पनि आयोजकको कमजोरी पक्षलाई देखाए ।
कार्यक्रम अवधिभर बसेकी र प्रश्नोत्तर सुनेकी साहित्यकार आभासले लेखेको स्टाटसमा भनिएको छ, ‘हाम्रा तर्फबाट यस्ता अरू एकदुई प्रश्न सुनिसकेपछि मलाई औडाहा भयो । हामीले सोधेका यी प्रश्नले पोलिरहेको छ । त्यहाँ उपस्थित नेपाली प्राध्यापक जस्तै एस डि मुनी पनि एक प्राध्यापक हुन् । तर, हामीले उनलाई सोधेका प्रश्न र उनीप्रति हामीले दर्शाएको भावले भन्थ्यो हामी सार्वभौमिक देशका मानसिक गुलाम हौँ । उनी हाम्रा तमाम समस्या चुड्कीमा समाधान गर्न आएका हुन् ठान्दै थियौँ ।’
‘प्रबुद्धहरूको उपस्थिति रहेको सो कार्यक्रममा विराटनगरको राजनीतिक चेतना यति साह्रो खत्तम त लागेको थिएन,’ उनले थप भनेकी छन्, ‘राज्य पुनर्संरचनामा गएपछि मानवसंसाधन विकासमा राज्यले कति लगानी गरेको छ ? हाम्रा एकेडेमियाहरूमा हुनुपर्ने चेतना ध्वस्त भएको प्रमाण ‘शिक्षासेवी’का प्रस्तुतिले देखाउँथ्यो । राज्यले गाडी, बाटो, भवनमा मात्र हैन एकेडेमिया र मानव विकासमा विशेष लगानी गर्न जरूरी छ । हामीले पनि आफूलाई सुधार्न जरूरी छ । हामीले आफूमाथि पनि लगानी बढाउने बिषयमा छलफल चलाउनुपर्ने रहेछ ।’
कार्यक्रममा एक जना बुद्धिजीविले गरेको प्रश्न झनै झुठो र उदेक लाग्दो थियो । जनआन्दोलन २ पछि राज्यले घुम्ती शिविर मार्फत ४५ लाख भारतीयलाई अंगिकृत नागरिकता बाँडेको र यो विषयमा भारतले के भन्छ भन्ने उनको प्रश्न थियो । यो प्रश्नमा उल्लेखित ४५ लाख नागरिकता कति बाँडियो ? कसले बाँड्यो ? ४५ लाख भनेको कति हो ? जबकी ०६२–०६३ सालपछि घुम्ति शिविरमार्फत १ लाख ७० हजारलाई मात्रै अंगीकृत नागरिकता बाँडिएको थियो । उनलाई यो तथ्याङ्क कसले दियो ? उनले कहाँ पढे ? कि हावाको भरमा भने ? अनि भारतीय चेलीलाई अंगीकृत नागरिकता दिएकै भरमा राष्ट्रियता कमजोर हुने भन्ने उनको कस्तो बौद्धिकता ? यो बौद्धिकता होइन दरिद्र सोच हो ।
प्राध्यापक एसडी मुनीसँग विराटनगरका बौद्धिक भनिएका व्यक्तिबाट गरिएका कतिपय प्रश्न अनुचित, अमर्यादित र आलाकाँचा थिए । जुन प्रश्नले उनीहरुलाई बुद्धिजीवि र एलिट भन्न योग्य पात्रको रुपमा चित्रित गर्न सकेन । कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेलको प्रश्न सानदार थियो र त्यो पेचिलो पनि थियो । तर, एसडी मुनीले गम्भीर प्रश्नको उत्तर गम्भीर ढंगले नै दिए । अनुचित प्रश्नको जवाफ सोही अनुसार कडा दिए र प्रश्नकर्तातिरै प्रश्न तेस्र्याइदिए । कार्यक्रममा सहभागी व्यक्तित्व अनुसार कार्यक्रमले ओज र गरिमा सोही अनुसारको नभएको विराटनगरकै बुद्धिजीवि दिनेश श्रेष्ठलाई पनि लाग्यो । ‘प्रोफेसर एसडी मुनी आफ्नो उत्कृष्टमा थिए । कुटनीतिक, उत्तेजक, वर्चस्वपूर्ण, व्यङ्ग्यात्मक, कहिले सन्तुलित र कहिले विरोधाभासले भरिएको देखियो । विराटनगर र वरपरकाले आज आफूलाई बौद्धिक र सम्मानजनक रूपमा प्रस्तुत गर्न सकेनन् । प्रश्नहरू औसतभन्दा कम थिए । कार्यक्रम अझ स्मार्ट, प्रभावशाली र सोच्न उत्प्रेरक हुन सक्थ्यो,’ श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।