सम्पादकीय
सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटनामा बृद्धि हुने गरेको छ । कोशी प्रदेशमा फागुनको दोस्रो साता यता आगलागी सयौं घटना भएका छन् । आगलागीका कारण करिब २०० घर जलेका छन् भने सयौं मानिस घरबारविहीन बनेका छन् भने करोडौंको क्षति भएको छ । शनिबार र आइतबार दुई दिनमा मात्रै प्रदेशमा झण्डै ५० वटा आगलागीका घटना भए । भोजपुरको हतुवागढीमा भएको आगलागीमा ३ जना बालबालिकाको ज्यान गएको छ । फागुन ११ गतेयता आगलागीमा परी पाँच जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन् । शनिबार मात्रै सोलुखुम्बुमा ११ वटा, तेह्रथुममा ५, ओखलढुंगामा १, पाँचथरमा ३, इलाममा ३, खोटाङमा २, भोजपुरमा ३, उदयपुरमा ३, मोरङमा ३ वटा आगलागीका घटना भएका छन् । आइतबार पनि संखुवासभामा २, खोटाङमा ३, ओखलढुंगामा १, सुनसरीमा ४, तेह्रथुममा ३, मोरङमा १, उदयपुरमा २, धनकुटामा २ र सोलुखुम्बुमा १ वटा आगलागीका घटना भएका छन् । ती आगलागीमा १५ करोडभन्दा धेरैको क्षति भएको अनुमान छ ।
समयमै आगो नियन्त्रण गर्न नसक्दा आगलागीले गाउँवस्तीमात्र हैन, वनजंगलसमेत सखाप हुने गरेको छ । नेपालमा वन डढेलो डरलाग्दो समस्याका रूपमा देखा परेको छ । आगलागी र डढेलोजस्ता विपद्बाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेकै छ । आगलागी र डढेलो हरेक वर्ष दोहोरिइरहने विपद् भएकाले सरकारी संयन्त्र १२ महिना नै सक्रिय हुनुपर्ने हो । सुक्खायाममा त यी निकाय ‘अलर्ट’ अवस्थामै बस्नुपर्छ । तर, धेरै स्थानीय तहमा आगलागी नियन्त्रण गर्ने दमकल छैन । भएका दमकल पनि मर्मत अभाबमा सञ्चालन हुनसक्ने अवस्थामा छैनन् । अर्कोतिर सचेतनाको अभावमा आगलागी नियन्त्रणको अभियान प्रभावकारी हुन सकेको छैन । सहरी क्षेत्रमा ग्यास, विद्युतका कारण आगलागी हुने गरेको छ भने ग्रामीण क्षेत्रका घरमा लापरबाहीका कारण आगलागी हुने गरेको छ । बढ्दो भौतिक पूर्वाधार र सहरीकरणसँगै आगलागी नियन्त्रण पूर्वाधार र स्रोतसाधनको व्यवस्थापन नहुँदा सहरवासी पनि आगलागीको जोखिममा छन् ।
आधुनिकतासँगै आगोको स्वरूप र प्रकारमा आएको परिवर्तनको प्रतिकार्यमा जुध्न आवश्यक औजार–उपकरणमा समस्या देखिन्छ । नयाँ बन्ने भवनहरूमा अग्नि सुरक्षाको उचित प्रबन्ध गर्न लगाउने नीति तय नगरिँदा आगलागीपछि नियन्त्रणमा समस्या पर्ने जोखिम छ । सुक्खा याम सुरुसँगै तराई क्षेत्रमा त आगलागीको जोखिम झनै बढ्ने गरेको छ । फुसका बाक्ला घरहरुमा आगलागी सुरु हुँदा यस याममा चल्ने हावाहुरीले आगलागी विस्तार गर्न मद्दत गर्ने गरेको छ । एकै ठाउँमा गुजमुज्ज परेका कच्ची घरहरू आगोको लप्काले हरेक वर्ष लपेट्ने गरेको छ । मोरङ रंगेलीको सन्थान बस्तीमा शनिबार भएको आगलागी होस् कि सुनसरी बर्जुको मुस्लिम बस्तीमा आइतबार भएको आगलागी होस्, फुसका घरहरु नजिक–नजिकै रहेकोले वस्ती नै उजाड बनेको छ । मानवीय त्रुटिकै कारण सर्वसाधारणको घर जलेको छ । त्यसलाई कम गर्न सचेतना विस्तार गर्नुपर्छ । हावाहुरी लागेको समयमा खाना पकाउनुहुन्न भन्ने सचेतनासमेत दुर्गम बस्तीमा पुग्न सकेको छैन । यस्तै मच्छर धपाउन बालिने धुपको कारण पनि आगलागीका घटना हुने गरेका छन् । प्रिमनसुन सुरु हुन लाग्दा पनि वर्षा नहुनु, गर्मी बढ्नु र हावा चल्दा आगलागी बढिरहेको छ । मानवीय लापरबाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको अध्ययनले देखाएको छ ।
पछिल्लो समयमा ग्रामिण क्षेत्रमा भएका आगलागीमा अधिकांश न्युन आयस्रोत भएका र मजदुरी गरेर गुजारा चलाउनेहरु पीडित बनेका छन् । सानो अगोको झिल्कोले बस्ती नै खरानी बनाउँदा उनीको भएका सबै सम्पत्ती नष्ट भएको छ । खाने र लाउने केहि कुरा बनेको छैन, त्रिपालमुनी बास बस्न बाध्य हुनुपर्ने अवस्था बनेको छ । सरकारी निकायबाट उनीहरुलाई राहत र क्षतिपुर्ती पनि उपलब्ध हुन सकेको छैन । स्थानीय सरकारले उद्धार र तत्कालिन राहतमा केहि सहयोग गरेको भएपनि अधिकांश घटनामा प्रदेश सरकार र संघीय सरकार रमिते बन्ने गरेका छन् । आगलागीका घटना न्युनिकरण गर्न र पीडितलाई उद्धार र राहतको लागि तीनै तहका सरकार र सरोकारवालाहरुले एकताबद्ध भएर काम गर्नु आवश्यक छ ।